काठमाडौं । मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल (क्रान्तिकारी) ले एक विज्ञप्ती जारी गर्दै त्रिभुवन विश्वविद्यालयले उपत्यकाका सबै संकायका स्नाकोत्तर तहमा सेमेस्टर प्रणाली लागु गर्न गरिएको आकस्मिक निर्णयप्रति संगठनको गम्भीर ध्यानाकर्षण भएको जनाउदै क्रियाशिल विद्यार्थी संगठनलाई कुनै जानकारी नै नगराई त्रिवि केन्द्रमा असफलसिद्ध भैसकेको सेमेस्टर प्रणालीलाई उपत्यकाको सबै संकायका स्नाकोत्तर तहमा विना पूर्व तयारी लागु गर्न खोजिएकोले त्यसको तत्काल खारेज गर्न माग गरिएको छ । संगठनका अध्यक्ष सेवन्त राज भण्डारीले जारी गरेको विज्ञप्तीमा उक्त निर्णय तत्काल फिर्ता नलिए संगठनले जस्तोसुकै संघर्ष गर्न तयार रहेको चेतावानी दिएको छ । सेमेस्टर प्रणालीको संगठनले निम्न लिखित पाँच बुदामा विरोध गर्न परेको कारण खुलाएको छ ।
यसकारण खारेज गर्न पर्छ सेमेस्टर प्रणाली
१) त्रिवि केन्द्रीय क्याम्पसमा असफल भैसकेको सेमेस्टर प्रणालीको कुनै समिक्षा नै नगरी उपत्यका भर लागु गर्न खोजिएकोले ।
२) केन्द्रीय क्याम्पसकै अनुभवका आधारमा पनि शुल्क अत्याधिक वृद्धि गरिने भएकोेले ।
३) भौतिक पूर्वाधार तयार नगरीकन हचुवाको भरमा लागु गर्न खोजिएकोले ।
४) त्रिविकै तल्लो तह उत्तीर्ण गरेका बहुमत विद्यार्थीलाई सिमित सीट संख्याको बहानामा स्नातकोत्तर तह पढ्नबाट रोक्न खोजिएकोले ।
५) राज्यको अनुदानमा चलेको त्रिभुवन विश्वविद्यालयमा गरीब नेपाली जनताका छोराछोरीलाई औपचारिक शिक्षाबाट बञ्चित गराउन खोजिएकोले ।