एजेन्सी । विश्वकै महंगो मानिने गुलाबी रंगको हीरा हङकङ्गमा ७ दशमलव १ करोड अमेरिकी डलरमा बिक्री भएको छ । यो विश्वकै सबैभन्दा महंगोमा विक्री भएको हीरा हो ।
मानव इतिहासमै सबैभन्दा ठूलो मानिने अण्डाकारको यो हीरा ५९ दशमलव ६ क्यारेटको छ ।
सन् २०१३ मा जेनेभामा गरिएको यस्तै लिलामीमा यो हीराका लागि एक ब्यापारीले ८ दशमलव ३ करोड अमेरिकी डलर तिर्ने बोलकबोल गरे पनि रकम चुक्ता गर्न सकेका थिएनन् । हीरा हङकङ्गस्थित चो ताइ फुक गहना पसलले किनेको हो ।
संसारका ६ सबैभन्दा महंगा हीरा
ओपनहाइमर ब्लू– सन् २०१६ को मे मा ओपनहाइमर ब्लू हीरा ५.०६ करोड डलरमा बिक्री भएको थियो । १४.६२ क्यारेटको यो हीरालाई जेनेभाको क्रिस्टी अक्शन हाउसले फोनका माध्यमबाट लिलामीमा बिक्री गरेको थियो । यो हीरा कसले किन्यो भन्ने कुरा भने गोप्य राखिएको थियो ।
ब्लु मुन– नोभेम्बर, सन् २०१५ मा एक औठीमा लगाइएको १२.०३ क्यारेटको ब्लु मुन हीराको लिलामी भएको थियो । हङकङका व्यवसायी जोसेफ लुले यसका लागि ४.८४ करोड डलर तिरेका थिए । उनले आफ्नी ७ वर्षकी छोरीका लागि यो खरिद गरेका थिए । उनले आफ्नी छोरीको नाम पनि ब्लु मुन अफ जोसेफाइन राखेका छन् ।
सनराइज रुबी– गाढा रातो रंगको यो २५.५९ क्यारेटको सनराइज जवाहरातलाई एक व्यक्तिले ३ करोड डलरमा खरिद गरेका थिए । सन् २०१५ मा यति उच्च दाममा बिकेको यो सबैभन्दा मूल्यवान पत्थर थियो ।
ओरेन्ज हीरा– नोभेम्बर सन् २०१३ मा क्रिस्टी अक्शन हाउसले संसारकै सबैभन्दा ठूलो ओरेन्ज हीरा लिलामी गरेको थियो । त्यसबेला यो हीरा प्रतिक्यारेट सबैभन्दा धेरै दाममा बिकेको थियो । यो हीरा १५.६ करोड रुपैया प्रतिक्यारेटमा बिकेको थियो ।
ग्राफ पिंक– २७.७८ क्यारेटको चमकदार गुलाबी रंगको यो हीरा अहिलेसम्म पाइएको सबैभन्दा ठूलो हीरा हो । यसको लिलामी ४.६२ करोड डलरमा भएको थियो । सन् २०१० नोभेम्बरमा लिलामी भएको यो हीराको मूल्य त्यसबेला सबैभन्दा बढी मानिएको थियो । यसलाई चर्चित बेलायती डिलर लरेन्स ग्राफले किनेको थियो ।