‘घरघरमा अधिकार, खाडिमा रोजगार’ भन्ने मूल नाराका साथ नेपाल मण्डलका कार्यकारी प्रधानमन्त्री मिस्टर सुप्रिमोले निकै ठूलो तामझामका साथ नयाँ नेपालको ढोका खोल्दै पानसमा बत्ती बालेर उद्घाटन गरे । ललितपुर उपमहानगरलाई महानगरमा बदल्दै अव पुरानो नेपाल समाप्त भई नयाँ नेपाल उदाएको घोषणा गरे । उद्घाटन मात्र होइन, उनले नेपालकै इतिहासमा पहिलो पटक आफ्ना बाहुवलीबाट जनतालाई घरघरमा अधिकार दिएको धाकधक्कु पनि लगाए । अबदेखि साँच्चैको नयाँ नेपाल भएको छ ।
सुप्रिमोको जनवाद घरघरमा उदाएको छ । गाउँ पञ्चायत हुँदा सामन्तवाद थियो । गाविस भएर पूँजीवादको विकास भयो । अहिले उपमहानगर र महानगरको विकास भएपछि र देशैभर गाउँपालिका हुँदा समाजवादको दैलो उघारिएको छ । अब समाजवादको विकास गर्ने र सुप्रिमोको सिङ्गापुरे सपना पूरा गर्ने काम मात्र बाँकी छ । त्यो काम निरन्तर सरकारमा गएपछि पूरा हुन्छ ।
सबै नेता कार्यकर्तालाई केन्द्रीय सरकारमा स्थानाभाव रहने भएकाले प्रदेश र स्थानीय तहमा समेत सरकारको व्यवस्था गरेपछि त्यो समस्या पनि समाधान हुने भएको छ । त्यसैले घरघरमा सरकारको व्यवस्था संविधानमा राखिएको हो । अब कोही पनि सरकार बाहिर वस्नु पर्ने समस्या रहेन । जहाँसम्म रोजगारको कुरा छ त्यो त खाडि मुलुकले हाम्रा रैती मनुवाहरूका लागि सीट सुरक्षित गरि राखिदिएकै छन् । त्यसका लागि हामीले आफ्नो देशमा व्यवस्था गर्नु पर्ने टन्टा बोक्नु परेन ।
पञ्चप्रेतहरूले २०१७ साल पुस १ गते जारि गरेको संविधान उहिल्यै खारेज भए पनि त्यसले बनाएको राज्यको ढाँचाकाँचा अहिलेका दिनसम्म यथावतै कायम भइ आएको थियो । २०४७ सालमा बहुदलवादीहरूले नाम बदले पनि ढाँचा बदलेका थिएनन् । अबउप्रान्त त्यो सबै खारेज भएको छ । अबदेखि नेपाल मण्डलका रैती मनुवाहरू सरकार खोज्न काठमाण्डु धाउनु पर्ने छैन । अझ सिंहदरबार त झन् छिर्नै पर्ने छैन । कत्रो लडाइँ जितेको अनुभूति गर्नु पथ्र्यो रैती मनुवाहरूले सिंहदरबारको दक्षिण गेट पास गरेर भित्र पस्दा । गरुढपुराणमा बर्णित पापीहरूले यमराजको ढोका खोलेर स्वर्ग जान चौरासी हण्डर र ठक्कर खाएर नरककुण्डमा सङ्घर्ष गर्नु परे जत्तिकै सङ्घर्ष गर्नु पथ्र्यो सिँहदरबारको गेट पास गर्न । अब त्यो लडाइँ लड्नु पर्ने छैन ।
आफ्ना जिल्लाबाट ‘जितेर’ आएका मालिक मुखियाहरूको अनुकम्पा पाएर नेपाल मण्डलकै रैती मनुवा भएको प्रमाणित गराई सिँहदरबार छिरिहाले पनि मन्त्रालयका सरकारी यमराजहरूको हुर्मत व्यहोर्नु पर्ने छैन । अब उनीहरूको फुटवल बन्नु पर्ने छैन । उनीहरूले अन्ठसन्ठ उल्झन हालेर रैती मनुवाको कुनै पनि काम नगरेर रित्तै हात फर्कनु परेका दिनहुँका कहानी अब उनीदिनका कहानीमा बदलिने छन् । प्रत्येक रैतीहरूका घरघरमा सरकार आफैँ काम खोज्दै पुग्ने छ । यति ठूलो अधिकार भोग गर्न पाउँदा पनि जनवाद नआएको भन्ने मनुवाले नरककुण्डको हण्डर खाएर चौरासी जुनी विताइरहनु पर्ने छ ।
नयाँ नेपालको ढोका खोल्दै महामहिम मिस्टर सुप्रिमोले घोषणा गरे ‘अब सिँहदरबारको कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाको अधिकार रैती मनुवाहरूको घरघरमा पुगेको छ ।’ हो अब त्यो सबै रैतीहरूका घरघरमा आएको छ । यस्तो अधिकार पहिले कहाँ थियो र ? यो अधिकार आएपछि त अब जनवादका बाँकी कार्यभार पनि पूरा भएका छन् । अब त सिधै समाजवादतिर लम्किने कुरा छ । त्यसका लागि रैतीहरूले प्रसस्त धन कमाएर आर्थिक रूपले सबल बन्नु पर्छ । किनकि समाजवादमा जानका लागि आर्थिक समृद्धि अनिवार्य शर्त हो । त्यसका लागि सरकारले सहज रूपको बाटो पनि खोलिदिएको छ । अब धन कमाउन खाडितिर जान अनिवार्य छ । नयाँ नेपाल भएकाले यहाँ पुरानो तरिकाले खेतिपाती गर्ने र कृषिप्रधान देश भनेर नाक फुलाउने पञ्चप्रेतको काइदा पनि खारेज भएको छ । पाहाडतिरका खेतवारीमा बनमारा, सिस्नो र पाती उमारेर देशलाई हरियाली बनाउने र तराईका खेतबारीमा बगर हालेर प्लटिङ गरि घरघडेरीमा विक्री वितरण गर्नु पर्ने छ । ठाउँठाउँमा खोलिएका सिमेन्टी फ्याक्ट्रीबाट सिमेन्ट लगेर ठूलाठूला घर, बिल्डिङ र हाउजिङ कम्प्लेक्स बनाएर छिट्छिटो सहर बनाउनु पर्ने छ । त्यसैले पनि छिमेकका ठूलठूला बानियाँहरूलाई सिमेन्ट फ्याक्ट्री खोलेर महाभारत र चुरे पाहाडका ढुङ्गा निकाली सिमेन्टी बनाउन सरकारले अधिकार दिएको हो । नेपाल मण्डलमा काम नलाग्ने ढुङ्गा छिट्छिटो निकालेर पाहाड सम्याएर मैदान बनाएपछि नेपाल मण्डलमा मैदानी भूभाग प्रसस्त बन्ने छ । त्यसपछि देशैभर उपमहानगरपालिका र महानगरपलिका बन्नेछन् र समाजवाद घोषणा हुनेछ । त्यो समाजवादको घोषणा र उद्घाटन पनि मिस्टर सुप्रिमोकै करकमलबाट गर्ने मनसुवा उनको छ । त्यसैले विलम्ब गर्ने अवसर छैन । अब घरघरबाट १८ बर्स काटी ४० बर्स ननाघेका ठिटाठिटीहरू तुरुन्त खाडितिर कुद्नु जरुरी छ । घरघरमा सरकार आयो भनेर मख्ख पर्ने होइन । सरकार पो आएको हो त रोजगार त खाडीमै हो नि ।
५ चैत २०७३