काठमाडौं । ट्रकको ब्रेक फेल हुँदा थानकोट–कलंकी सडकखण्डको गुर्जुधारामा ठूलो दुर्घटना भएको छ । प्रहरीका अनुसार कलंकीतर्फ आउँदै गरेको ट्रकले ट्याक्सी, मोटरसाइकलसहितका सवारीलाई ठक्कर दिएको छ ।
थानकोट प्रहरी वृत्तको स्रोतका अनुसार काठ बोकेर आएको ना ३ ख ९७७३ नम्बरको ट्रकले सडकमा रहेका स्कुटर, मोटरसाइकल, वान टन ट्रक र ट्याक्सीलाई एकसाथ हानेको छ । दुर्घटनामा परी आठ जना घाइते भएको बताइएको छ ।
ब्रेक फेल भएर अनियन्त्रित भएको ट्रकले सुरुमा विजुलीको पोलमा हानेको र त्यसपछि सँगै रहेको स्कुटर, बा १ ज ७९६७ नम्बरको ट्याक्सीलाई ठक्कर दिएको हो । ट्रककै ठक्करबाट ट्याक्सी पछाडि रहेको मोटरसाइकलमा पनि क्षति पुगेको प्रहरी स्रोतले जनाएको छ ।
ट्रकको ठक्करबाट वान टन ट्रकका चालक, ट्याक्सी चालक र ट्याक्सीमा रहेका यात्रुसहित आठ जना घाइते भएका छन् । ट्याक्सी चालकको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
उनीहरुको वयोधा र ओम समाज अस्पतालमा उपचार भइरहेको छ । ट्रकका चालक फरार छन् भने केहीबेर अवरुद्ध भएको सवारी आवागमन सुचारु भइसकेको छ ।