इन्धनको माग ह्वातै बढ्यो

इन्धनको माग ह्वातै बढ्यो

फाल्गुन २८, २०७३ । अगुल्टोले हाने कुकुर बिजुली चम्कदा तर्सन्छ भने झै फेरी इन्धनको अभाव हुने डरले इन्धनको माग ह्वातै बढेको छ । तराईमा भएको आन्दोलनको कारण उपत्यकामा इन्धनको माग ह्वात्तै बढेको हो । ०७२ असोज ३ मा घोषणा भएको नयाँ सविधानमा असन्तुष्टि जनाउँदै मधेस केन्द्रित दलको आमहडतालसँगै भारतको नाकाबन्दीले इन्धन नपाएर सास्ती भोगेका सर्वसाधारणहरू पुन स्बन्दको त्रासले सञ्चय गर्न थालेपछि माग बढेको हो ।

नेपाल आयल निगमका अनुसार अन्य दिनको तुलनामा ४ गुणा बढी माग बढेको छ । निगमका थानकोट डिपो प्रमुख नेत्र काफ्लेका अनुसार उपत्यकामा सामान्य अवस्थामा दैनिक ४ लाख लिटर पेट्रोल बिक्री हुन्छ । तर, शुक्रबार माग ह्वात्तै बढेर ११ लाख लिटर पुगेको छ । गत सोमबार थानकोटबाट ४ लाख लिटर मात्रै बिक्री भएकामा प्रहरीको गोली लागी सर्वसाधारणको मृत्यु भएलगतै मंगलबार माग बढेर ७ लाख लिटर पुगेको उनले बताए ।

‘बुधबार (सार्वजनिक बिदा भएकाले निगमले पनि वितरण गरेन­­) र बिहीबार तराई बन्दले सर्वसाधारणहरू थप त्रसित भए । केही राजनीतिक दलले शुक्रबार पुनस् बन्दको घोषणा गरे,’ थानकोट डिपो प्रमुख काफ्लेले भने, ‘बन्दको बाबजुत इन्धन वितरण गरेका छौं । तर, पनि पम्पमा भीड छ ।’ निगमका अनुसार बिहीबार ७ लाख ७६ हजार लिटर पेट्रोल वितरण गरिएको थियो । शुक्रबार ५ लाख लिटर वितरण भएको छ । निगमका प्रवक्ता एवं बिक्री वितरण विभाग निर्देशक सीताराम पोखरेलले शनिबार पनि इन्धन वितरण गरिने जनाए । फागुन २९ (आइतबार) सार्वजनिक बिदा भए पनि माग आए पेट्रोल बिक्री गरिने निगमले जनाएको छ । ‘हाल पम्पमा लाइन बढ्नुको मुख्य कारण सर्वसाधारण त्रसित भई इन्धन संकलन गर्नु हो,’ पोखरेलले भने, ‘भारतीय आयल निगम (आईओसी) ले मागअनुसार इन्धन लोड दिएकाको छ । इन्धनको अभाव हुने छैन ।’ वीरगन्ज क्षेत्रमा केही समस्या भएकाले उपत्यकामा सहज बनाउन नेपालगन्ज र भैरहवा नाकाबाट इन्धन आयात गरेको बताए ।

निगमका अनुसार ९ लाख लिटर पेट्रोल उपत्यका भित्रिने क्रममा छ । निगमले सार्वजनिक दिनमा पनि वितरण गर्ने बताए पनि पम्पमा लाइन बढ्दो छ । अधिकांश निजी पम्पहरूमा ‘पेट्रोल छैन’ भन्ने सूचना झुन्डाइएका छन् । सरकारी स्वामित्वका पम्पमा सर्वसाधारणको भीड व्यापक छ । निजी पम्प बन्द भएपछि सरकारी पम्पमा भीड बढेको हो । ‘पेट्रोलका लागि नेसनल टेड्रिङ, माली पेट्रोल पम्पलगायत ५र६ वटा पम्प चहारें । तर, सबैमा ‘पेट्रोल छैन’ भन्ने ट्याग थियो,’ सेनाको भद्रकाली पेट्रोल पम्पमा लाइन बसेकी आयुर्वेद विभागमा कार्यरत मिठु पाठकले भनिन्, ‘सेनाले वितरण गरेको खबर पाएलगत्तै कार्यालयको काम छाडेर लाइन बस्न आएँ ।’ सरकारको व्यवस्थापनको कमजोरीले इन्धनको लाइन बढेको उनले बताइन् । ‘इन्धन सधैं सहज हुँदा कालोबजारी गर्न गर्न पाइँदैन । सर्वसाधारणलाई लुट्न पाइँदैन,’ उनले भनिन्, ‘इन्धन ब्ल्याकमा बिक्री गर्न अभाव गराइएको छ ।’

इन्धनकै लागि भद्रकालीमा भेटिएका जीवन महर्जनले पनि सरकारीबाहेक अन्य पम्पमा इन्धन नपाएको बताए । ‘निजी पम्पले इन्धन दिएका छैनन्,’ उनले भने, ‘सरकारी पम्पमा पनि ३ देखि ४ घण्टा लाइन बस्नुपर्छ ।’ तेल भर्नकै लागि कीर्तिपुरबाट आएको उनले बताए । उपभोक्ता अधिकारकर्मीले पनि निगम व्यवस्थापनको कमजोरीले सर्वसाधारणले दुस्ख पाएको बताउँछन् । ‘बन्द र सार्वजनिक बिदा थाहा भए पनि त्यसको बेवास्ता गर्दै इन्धन वितरण भएन । संसदको उपभोक्ता समितिले पटक–पटक इन्धन भण्डारण गर्न निर्देशन दिए पनि हालसम्म भण्डारण बनाइएको छैन,’ उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिनाले भने, ‘निगम व्यवस्थापनकै कमजोरीले पम्पमा लाइन बढेको हो ।

इन्धन अभाव हुनुमा सरकारकै दोष हो ।’ पेट्रोलियम डिलर्स एसोसिएसनका अध्यक्ष लीलेन्द्र प्रधानले हडतालको असर देखिएको बताए । निगमले उपभोक्ताको मागअनुसार इन्धन वितरण नगर्दा बजारमा लाइन बढेको उनले बताए ।