फाल्गुन २८, काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद्ले शुक्रबारदेखि सुरु भएको मौसमी प्रक्रिया पूर्वीभागतिर सर्दै गएको बताएका छन् ।
महाशाखाका वरिष्ठ मौसमविद् उपसचिव राजुधर प्रधानाङ्गले मौसमी प्रक्रिया मध्य भाग हुँदै पूर्व्तिर सर्दै गएकाले काठमाडौंसहित मध्य भागमा पानी पर्ने संभावना टर्दै गएको बताए । ‘वर्षा हुने प्रक्रिया पूर्व्तिर गइसक्यो,’ प्रधानाङ्गले शनिबार कान्तिपुरसित भने, ‘पूर्वीभागको आकाश बादलले ढाकेको छ, पानी पनि परेको छ ।’ दिउँसोसम्ममा काठमाडौंको आकाश पुरै खुल्ने महाशाखाका मौसमविद्ले अनुमान गरेका छन् ।
सूदूरपश्चिम र पश्चिमी भागको आकाश खुला भइसकेको र काठमाडौंसहित मध्येभागको आकाश पनि खुल्नेक्रममा रहेको उनले उल्लेख गरे । ‘पानी पार्ने प्रणाली मध्ये भागबाट पूर्व्तिर गईसक्यो,’ प्रधानाङ्गले भने, ‘आकाश विस्तारै खुल्दै गएको छ ।’
पश्विम वायु, अरेबियाली सागरबाट आएको जलवाष्पयुक्त वायु र भारतको उत्तर प्रदेश तथा छत्तिसगढबाट एकै पटक उत्पन्न भएको मौसमी प्रक्रियाका कारण शुक्रवारदेखि देशैभर वर्षा भएको थियो । पूर्वी भागमा पनि भोली विहानदेखि मौसम खुला हुने महाशाखाले जनाएको छ ।































