२८ फागुन, काठमाडौं । भारतको मुजफ्फरपुरमा चट्याङ पर्दा नेपाल आउने झण्डै १ सय ४५ मेगावाट बिजुलीको प्रशारण अवरुद्ध भएको छ । नेपाल विद्युत प्राधिकरणकाअनुसार चट्याङले मुजफ्फरपुरतर्फको लाइटनिङ एरेस्टर बिगारेको छ । त्यसैकारण नेपाल आउने विजुली अवरुद्ध भएको प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले बताए ।
उनले मुफ्फुरपुर(ढल्केबर अन्तरदेशीय प्रशारणलाइनबाट आउने १४५ मेगावाट विजुली अवरुद्ध रहेको र प्रशारणका लागि प्रयास भइरहेको जानकारी दिए ।
कसरी मिलाइँदैछ आपूर्ति ?
भारतबाट बिजुली आउन रोकिएपनि नेपालमा भएको बर्षाले खोलाहरुमा पानीको सतह बढेको छ । त्यसैका आधारमा जलविद्युत उत्पादन पनि बढेकाले मागअनुसार आपूर्ति धान्न अप्ठेरो नपरेको अधिकारीले बताए ।
प्रवक्ता अधिकारीले भारतबाट विजुली नआएपनि एक्कासी भएको बर्षाले लोडसेडिङ बढाउनुपर्ने बाध्यता नरहेको प्रष्ट्याए ।
तर, हावाहुरी, बर्षा र चट्याङका कारण कतिपय क्षेत्रमा बिजुली अवरुद्ध भने भएको उनले बताए । प्राधिकरणले विजुली अवरुद्ध भएको स्थानीय क्षेत्रमा टोली खटाएर मर्मतको काम सुरु गरिसकेको छ ।
लामो समयको सुख्खायामपछि बर्षा हुँदा प्रसारण र वितरण प्रणालीमा प्रयोग भएका इन्सुलेटरहरुमा समेत क्र्याक लगायतका समस्याले प्रणालीमा समस्या आउने गर्छ ।
अव्यवस्थित शहरीकरण, फैलँदो बस्ति र बढ्दो जनसंख्याको बढ्दो चापलाइ थेग्न वितरण प्रणालिको ब्यापक सुधार आवश्यक देखिएको प्रवक्ता अधिकारीले बताए ।
त्यसैले अब प्राधिकरणले स्मार्ट ग्रीड र स्मार्ट मिटर प्रणालीतर्फ नै पाइला अघि बढाउने उनको भनाइ छ ।