अमेरिकाले रक्षा बजेट बढाएसँगै चीनले पनि गर्‍यो रक्षा बजेट वृद्धिको घोषणा

अमेरिकाले रक्षा बजेट बढाएसँगै चीनले पनि गर्‍यो रक्षा बजेट वृद्धिको घोषणा

एजेन्सी । चीनले आगामी वर्षको रक्षा बजेटमा ७ प्रतिशत वृद्धि गर्ने तयारी गरेको छ ।

चिनियाँ नेशनल पिपुल्स कंग्रेस (एलपीसी) का प्रवक्ता फु यिंगले रक्षा बजेट बढाउने तयारी भइरहेको जानकारी गराएका हुन् । चीनले पछिल्ला केही वर्षमा रक्षा क्षेत्रमा ठूलो बजेट लगानी गर्दै आएको छ ।

अमेरिकाले रक्षा बजेट बढाउने तयारी गरेको समाचार बाहिरिएको केही दिनमा नै चीनले पनि रक्षा बजेटमा वृद्धि गर्ने घोषणा गरेको हो । चिनियाँ रक्षा मामलाका जानकारहरुले भने घोषणा गरिएको भन्दा बढी रक्षा बजेट वृद्धि हुनसक्ने जनाएका छन् ।

चीनले लगातार दोस्रो वर्ष रक्षा बजेटमा वृद्धि गरेको हो । गत वर्ष चीनले रक्षा बजेटमा ७.६ प्रतिशत रक्षा बजेटमा वृद्धि गरेको थियो । चीनले वृद्धि गरेको यो रक्षा बजेट चीनको कुन जीडीपीको १.३ प्रतिशत हो ।

आइतबार चिनियाँ प्रधानमन्त्री लि केकियाङले कंग्रेसलाई सम्बोधन गर्ने क्रममा यसको औपचारिक घोषणा गर्नेछन् । यसै साताको सुरुमा नै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रक्षा बजेटमा १० प्रतिशतले वृद्धि गर्ने घोषणा गरेका थिए ।

चीन आफ्नो भूगोलसँगै अन्य क्षेत्रमा देखिएको सुरक्षा चुनौतीलाई सामना गर्नसक्ने सैन्य शक्ति सुदृढ गर्ने योजनामा छ । चीनले दक्षिण चीन सागरमा अन्य देशले समेत दाबी गरिरहेका क्षेत्रमा कृतिम द्वीप निर्माण गरिरहेको छ ।

चीनले गत वर्षको अन्त्यमा पनि दक्षिण चीन सागरमा सैनिक तैनाथ गर्ने लक्ष्य नरहेपनि आफ्नो भूमिमा हस्तक्षेप भए त्यसको प्रतिरक्षामा उत्रिने बताएको थियो । दक्षिण चीन सागरमा अमेरिका र चिनियाँ पानीजहाजको विषयमा विभिन्न घटनाहरु हुने गरेका छन् ।

गत डिसेम्बरमा मात्रै चीनले अमेरिकाको एउटा ड्रोनसहितको पानी जहाज नियन्त्रणमा लिएपछि विवाद चर्किएको थियो । पछि चीनले त्यसलाई फिर्ता गरेको थियो । अब चीनले वृद्धि गर्ने रक्षा बजेटको ठूलो हिस्सा नौसेनाको क्षमता अभिवृद्धिमा खर्च गर्ने अनुमान गरिएको छ ।