काठमाडौं । फागुन १४ गते सुरु भएको सहिद सप्ताहको अन्तिम दिन आज सुखानीका सहिदको सम्झनामा विभिन्न कार्यक्रम आयोजना गरिँदै छ ।

तत्कालीन नेकपा (माओवादी) ले जनयुद्ध सुरु गरेको १४ औं दिनमा नै गोरखाका बालक दिलबहादुर रम्तेलको हत्या भएको दिनदेखि सहिद सप्ताह मनाउन सुरु गरिन्छ ।

सहिद सप्ताहका क्रममा नेपालको वाम आन्दोलन र खासगरी १० वर्षे जनयुद्धका क्रममा सहादत प्राप्त गरेका सहिदहरुको सम्झनामा देशैभर विभिन्न कार्यक्रमसहित सहिद सप्ताह मनाइएको छ ।

सहिद सप्ताहको अन्तिम दिन आज सुखानीका सहिदको सम्झनामा विभिन्न कार्यक्रम गरिँदैछ । पञ्चायतकालमा भएको चर्चित सुखानी हत्याकाण्ड कम्युनिष्ट आन्दोलनका अगुवाहरुलाई सामूहिक हत्या गरिएको घटना हो ।

झापा जिल्लाको शनिश्चरेस्थित सुखानीको जंगलमा २०२९ साल फागुन २१ गते झापा विद्रोहका नेताहरु रामनाथ दाहाल, नेत्र घिमिरे, कृष्ण कुइँकेल, बिरेन राजवंशी र नारायण श्रेष्ठको प्रहरीले हत्या गरेको थियो ।

२९ साल कात्तिकमा प्रहरीद्वारा पक्राउ परेका उनीहरू झापा जेलमा राखिएका थिए । उनीहरूलाई पक्रिएपछि आन्दोलन मत्थर होला भन्ने सोचेको प्रशासनको सोचाइ बिपरीत कम्युनिष्ट आन्दोलन झनै चर्किएपछि इलाम जेल सार्ने बहानामा फागुन २१ गते सुखानीको जंगलमा पाँचै जनालाई गोली हानेर हत्या गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर