नेवाः जातिको विशेषतामा आएको परिवर्तन

नेवाः जातिको विशेषतामा आएको परिवर्तन

नेवाः राष्ट्रिय मुक्ति मोर्चा, नेपालको फागुण ६ र ७ गते तेस्रो राष्ट्रिय भेला हुन गइरहेको सन्दर्भमा हिजो नेवाः जातिले नेपालको राजनैतिक परिवर्तनमा खेल्दै आएको भूमिका र आगामी दिनमा यसले खेल्नु पर्ने र खेल्न सक्ने भूमिकाको बारे छलफल र बहसका लागि नेवाः जातिका विशेषता र विगत केही दशकमा यस जातिमा आएको परिवर्तन बारे छलफल गरी सही निचोडमा पुग्न आवश्यक छ र यस बारेमा आम रुपमा पनि छलफलको आवश्यकता छ । यस उद्देश्यका लागि यो संक्षिप्त लेख तयार पारिएको छ ।

नेवाः जाति काठमाडौं उपत्यकाको भूराजनैतिक परिस्थितिमा विकसित जाति भएको हुनाले नेवाः सभ्यता, संस्कृति र अर्थतन्त्र अनुरुपसामुहिक रुपमा समाजमा रहने, व्यवसाय संचालन गर्ने, चाडपर्व मनाइ मनोरञ्जन गर्ने, आफ्नो परिवार र आफन्तसंग रमाइ सन्तुष्ट हुनेयस जातिको चारित्रिक विशेषता रही आएको छ । पृथ्वीनारायण शाहको गोर्खा राज्य विस्तारपछि नेवाःजाति राज्य संचालनबाट बहिष्कृत गरिएको अवस्थाले गर्दायस जातिको राजनीतिमा चासो भएता पनि सहभागिता र सक्रियता खासै नरहने अर्को विशेषता देखिन्छ। तर सत्तासीन वर्ग र जाति नेवाः विरोधी रहेकोले नेवाःहरु पनि सत्ताको सदावहार विरोधी रहने अर्काे विशेषता रहेको छ । यस जातिको सभ्यता, संस्कृति र अर्थतन्त्रका कारणले नेवाः जातिको चेत विद्रोहत्मक रहेको र उनीहरुको आन्दोलनमा सहभागीता विद्रोहात्मक र निर्णायक जस्तो रही आएको छतरलामो तयारीका साथ संघर्ष गर्ने दिर्घकालीन संघर्षको चेत भने नभएको अर्को महत्वपूर्ण विशेषता रहेको देखिन्छ । ००७ सालको आन्दोलन, ०३६ सालको विद्यार्थी आन्दोलन र ०४६ सालको जनआन्दोलनमा भएका राजनैतिक परिवर्तनमा काठमाडौं उपत्यकामा नेवाः जातिले निर्णायक भूमिका खेल्यो । यसको कारण उपत्यकामा तात्कालिन अवस्थामा आधाभन्दा बढी जनसंख्या नेवाःको हुनु, नेवाः जातिभित्र निम्न वर्ग र बहुसंख्यक उत्पीडित किसानहरु रहनु, नेवाःको सामाजिक र आर्थिक अवस्था परम्परागत रुपले सुढृत रहनु, नेवाःहरुको बसोबास सामुहिक तथा केन्द्रीत रहनुर यस जातिको गैर जातीय शासक विरोधी मनोविज्ञान रहनु रहेको छ । तर विगत २५ वर्षमा नेवाः जातिमा ठुलो परिवर्तन आएको देखिन्छ । यसको कारणको रुपमा यस जातिकोे विघटन प्रक्रियालाई उल्लेख्य रुपमा लिन सकिन्छ ।यसले गर्दा नेवाः जातिको विशेषतामा पनि परिवर्तन हुँदै गएको दखिन्छ ।

१० वर्षको महान् जनयुद्धमा नेवाः जातिको पनिसहभागिता, वलिदान र नेतृत्वको सापेक्षित रुपमा विकास देखिन्छ । नेवाः जातिको विशेषताको विपरित दिर्घकालीन युद्धमा तुलनात्मक रुपमा संख्यामा कममात्र सहभागिता भएता पनि बलिदान एक प्रकारले अचम्मित पार्ने खालका छन्। उपत्यकामा जनयुद्धको स्थिति मूल रुपमा रक्षात्मक रह्यो । यहाँ एकातिर नेवाः जातिको विषेशतामा परिवर्तन आउँदै गरेको अवस्था र अर्कोतिर जनयुद्ध एउटा गतिमा पुगेर नेवाःहरुलाई पनि विद्रोहात्मक रुपमा सहभागिता हुने अवस्थासम्मको विकास गर्न सकेन । माओवादी पार्टी शान्ति वार्ताको नाममा जनयुद्ध स्थगन गरेर वार्तामा आयो । यसै क्रममा माओवादी पार्टीको नेतृत्वमा आएको विचलन, राष्ट्रिय र वर्गीय आत्मसमर्पणले जनयुद्धको अवशान गर्ने काम भयो । त्यसैले जनयुद्धमा नेवाःहरुको सहभागीता इतिहासमा कम मात्र भएको दर्ज हुनु पनि स्वभाविक छ । तर यसको मापन भने ०६२÷०६३ सालको जनआन्दोलनमा नेवाःहरुको सहभागिताको मुल्याङ्कन एकहदसम्म गर्न सकिन्छ । जनआन्दोलनमा नेवाःहरुको सहभागीता उल्लेखनीय नै रह्यो । तर नेवाः जातिको विशेषतामा आएको परिवर्तनले गर्दा यस अगाडिका जनआन्दोलनमा जस्तै नेवाःहरुको विद्रोहात्मक सहभागिता र आन्दोलनलाई उत्कर्षसम्म पु¥याउने खालको भएन ।यसलाई हामीले गंभीरतापूर्वक लिनु पर्ने आवश्यकता छ । यद्यपि शासकदेखि तात्कालिन रुपमा सबैको बुझाइ नेवाः जाति सडकमा ओर्लेपछि आन्दोलन निर्णायक विन्दुमा पुग्छ भन्ने थियो र नेवाः जातिको आन्दोलनमा सहभागी नहोस् भनेर प्रतिक्रियावादी सत्ताले रिङ्गरोडभित्र कफ्र्यू लगाउने काम भयो । अब हुने आन्दोलनमा नेवाःहरुको सहभागिता र नेवाः आन्दोलनमायसको विशेषतामा आएको परिवर्तनले गंभीर प्रकारको प्रभाव पार्ने स्पष्ट छ ।

नेवाः जातिको विशेषतामा किन यस्तो परिवर्तन आयो त ? नेपालको जनगणना ०७० अनुसारनेवाः जातिको जनसंख्या नेपालको जनसंख्याको करिब ५.६ प्रतिशत छ । नेवाः जातिको आदिथलो काठमाडौं उपत्यका भएर पनि यो देशैभरी फैलिएको छ र लगभग आधा नेवाःहरु उपत्यकाभन्दा बाहिर छन् । यसरी हेर्दा उपत्यकामा७÷८ लाखमात्र नेवाःहरु छन् । तर उपत्यकामा झण्डै ६० लाख जति मानिसहरु रहको अनुमान छ र स्थायी बसोवास गर्नेमात्र ३० लाख जति छन् । यो नेवाःहरुको जनसंख्याभन्दा दोब्बरभन्दा बढि छ र अस्थायी बसोवास गर्ने मानिसहरुको जनसंख्या पनि लिने हो भने नेवाःहरु १५ प्रतिशतभन्दा कममात्रै हुन्छ । नेवाःहरुको बासस्थान व्यापारिक र व्यवसायिक केन्द्रमा परिणत भएका छन् र यस केन्द्रका मालिकहरु पनि मूलतः गैर नेवाःहरु छन् । नेवाःहरुको व्यवस्थित, सामुहिक र केन्द्रीत बसोवास भताभुङ्ग भएर गएका छन् र नेवाःहरु उपत्यकामा र बाहिर छरिएर गएको अवस्था छ ।  गएको दुई दशकमा देशैभरीबाट काठमाडौं उपत्यकामा आप्रावशनको रुपमा बसाइँ सराइ गरी आउनेको संख्या रैथानेहरुको संख्याभन्दा दोब्बरभन्दा बढी रहेको छ । यो बसाइँ सराइ स्वभाविक जस्तो देखिए तापनि यसमा शासक जातिको निहित उद्देश्य र षडयन्त्र प्रमुख कारण रहेको छ । उपत्यकाकाकृषियोग्य भूमि घरैघरले भरिएका छन् ।जग्गाको मूल्यमा भएको वृद्धिले सानो टुक्रा जमीन हुनेहरु निम्न वर्गबाट मध्यम वर्गमा उठेको स्थिति छ भने जसको जमीन छैन, उनीहरु सुकुम्बासी र सर्वहारा बन्दै गएको स्थिति छ ।नेवाः जातिभित्र सामुहिकता, श्रमबाट क्रमशः टाढिदै गएको अवस्था छ । अव्यवस्थित वसोवास, फोहर, पानी र इन्धनको अभाव, वेरोजगारी र अव्यवस्था नेवाःहरुको नियति बनाइएको छ । आज नेवाः जातिको मूल व्यवसाय व्यापार र कृपिबाट विस्थापन, आदिथलोबाट क्रमशः विस्थापन र नेवाः भाषा र संस्कृतिको विस्थापन हाम्रै आँखा अगाडि भइरहेको छ ।

विगतका आन्दोलन र त्यसको परिणामलाई हेर्दा, यसमा पनि मुख्यतः विगत एक दशकभित्र भएका राजनैतिक गतिविधिलाई हेर्दा यसले नेवाः लगायत सबै उत्पीडित जनतामा गंभीर प्रकारको नकरात्मक प्रभाव परेको स्थिति छ । महान् जनयुद्ध व ऐतिहासिक जनआन्दोलनको म्याण्डेट विपरित कालो संविधान घोषणा गरिएको छ । उत्पीडनको पहिचान, सोही आधारमा संघीयता, स्वायत्तता र स्वशासन, विशेषाधिकार, पूर्ण समानुपातिक र समावेशी प्रतिनिधित्व आदि सबै खारेज गरिएका छन् र महान् जनयुद्ध तथा जनआन्दोलनको विसर्जन र पटाक्षेप गरिएको छ । देशको नवऔपनिवेशिक अवस्थालाई संस्थागत गरिएको छ तथा देशको राष्ट्रियता गंभीर संकटमा पारिएको स्थिति छ ।  आज सत्तामा उही पुरानो र केही नयाँ प्रतिक्रियावादी दलाल शक्तिको हालीमुहाली छ ।उत्पीडित जनता निराश छन् । नेवाःहरु पनि निराश छन् ।

नेवाःजातिको विशेषता जस्तोसुकै भए पनि नेवाः जाति आजको अवस्थामा सबैभन्दा बढी प्रत्यक्ष रुपमा उत्पीडित जाति हो ।यस जातिको विशेषतामा आएको परिवर्तनले हिजोको जस्तो शसक्त र निर्णायक रुपमा राजनैतिक आन्दोलनमा प्रभाव पार्न सक्ने संभावना कम भएको छ । यो नेवाः आन्दोलन र नेवाः जातिका लागि नकरात्मक स्थिति हो । यसप्रति सच्चा नेवाः अगुवाहरुले गंभीरतापुर्वक सोच्न आवश्यक छ । यदि नेवाः जातिले उत्पीडनबाट मुक्ति चाहने हो भने सबै उत्पीडित वर्ग, समुदाय, लिङ्ग, क्षेत्रसंग एक भएर अगाडि बढ्नु पर्ने हिजोकोभन्दा बढि आवश्यक पर्न गएको अवस्था छ र यसको विकल्प छैन । यसका लागि सर्वहारा वर्गको प्रतिनिधी सच्चा क्रान्तिकारी कम्युनिष्ट पार्टीको नेतृत्वमा गरिने नयाँ जनवादी क्रान्तिबाट मात्र संभव छ र त्यसपछि बन्ने संघीय जनगणतान्त्रिक व्यवस्थाले मात्र नेवाः लगायत सबै उत्पीडितहरुको अधिकार संस्थागत हुनेछ । नेवाः जातिलागि नेवाः राज्य, पहिचानसहितको संघीयता, स्वायत्तता र आत्मनिर्णयको अधिकारको सैद्धान्तिक स्वीकृतीसहित स्वशासन तथा अग्राधिकार, पूर्ण समानुपातिक र समावेशी प्रतिनिधित्वको सुनिश्चित हुनेछ । यसले देशको आन्तरिक राष्ट्रियता मजबुट बनाउनुका साथै राष्ट्रिय स्वाधीनता, स्वतन्त्रता र अखण्डता सुनिश्चित गरी मुलुकलाई प्रगतितिर दो¥याउने छ । त्यसैले सबै उत्पीडित, न्यायप्रेमी र सच्चा देशभक्तहरुले आज गंभीर भएर सोच्नु पर्ने वेला आएको छ । नेवाः राष्ट्रिय मुक्ति मोर्चा, नेपालको तेस्रो राष्ट्रिय भेलाले पनि नेवाः जातिको विशेषतामा आएको परिवर्तनबारे गंभीरतापूर्वक छलफल गरेर अगाडि बढ्नु पर्दछ ।