नयाँ जनवादी क्रान्तिमा साहित्य र कलाको भूमिका

नयाँ जनवादी क्रान्तिमा साहित्य र कलाको भूमिका

१. विषयको थालनी
नेपाल र नेपाली जनताको अर्धसामन्ती एवम् अर्ध/नवऔपनिवेशिक शोषण–उत्पीडनबाट मुक्तिका लागि सर्वहारावर्गको नेतृत्वमा सामन्तवाद, साम्राज्यवाद र विस्तारवादका विरुद्ध नयाँ जनवादी गणतान्त्रिक व्यवस्थाको स्थापना आजको ऐतिहासिक आवश्यकता हो । के कुरा निश्चित हो भने नेपालमा नयाँ जनवादी क्रान्ति सम्पन्न गर्नका लागि गाउँले शहर घेर्ने रणनीतिमा आधारित दीर्घकालीन जनयुद्ध आवश्यक पर्दछ । यसका निम्ति बन्दूकधारी सेनाको भूमिका प्रमुख देखिन आउँछ । परन्तु के पनि त्यतिकै निश्चित हो भने मान्छेको दिल र दिमाखबिना हातले मात्र बन्दूक चल्न सक्दैन । बन्दूक समाउने हातहरु क्रियाशील एवम् जुझारु बनाउन आवश्यक हुन्छ । ठीक यसैकारण क्रान्तिका लागि बन्दूकधारी सेनाका साथै संस्कृतिधारी सेनाको पनि आवश्यकता पर्दछ र क्रान्तिमा कलासाहित्यले यसै संस्कृतिधारी सेनाको भूमिका खेल्दछन् ।

साहित्य र कला समाजको आर्थिक जगमा खडा उपरिसंरचनाका विशिष्ट रुप हुन् । राजनीति, दर्शन, कानून, साहित्य–कला आदिको विकास आर्थिक विकासमा आधारित हुन्छ । परन्तु ती सबैले एकअर्कोलाई प्रभावित पनि पार्दछन् । सामाजिक चेतनाको निर्माण सामाजिक सत्ताबाट हुन्छ र सामाजिक सत्ताको रुपान्तरणका लागि सामाजिक चेतनाले पनि महत्वपूर्ण भूमिका खेल्दछ । वस्तुको चेतना र चेतनाको वस्तुमा रुपान्तरण हुन्छ । 

माओ भन्नुहुन्छ– “आजको दुनियाँमा सम्पूर्ण संस्कृति र कलासाहित्य निश्चित वर्गहरुका नै हुन्छन् । तिनलाई निश्चित राजनीतिक कार्यदिशा अनुरुप ढाल्ने गरिन्छ । वास्तवमा ‘कलाका लागि कला’को सिद्धान्त मान्ने कला, वर्गहरुभन्दा माथि रहने कला र राजनीतिबाट अलग रहने अथवा स्वतन्त्र रहने कला नामको कुनै चीज हुँदैन । सर्वहारावर्गको कलासाहित्य सम्पूर्ण क्रान्तिकारी कार्यको एक अंग हो, लेनिनका शब्दमा त्यो सम्पूर्ण क्रान्तिकारी मेसिनका दाँती र पेचकै समान छ ।”

हामीले नेपाली नयाँ जनवादी क्रान्तिमा साहित्यकलाको भूमिकाबारे उल्लेख गर्दा उपर्युक्त माक्र्सवादी–लेनिनवादी–माओवादी मान्यतालाई दह्रोसँग पकड्न जरुरी छ । आज नेपाली साहित्यकला आन्दोलनका सामु अनगिन्ती समस्या खडा छन् । ती सबैको यहाँ उल्लेख गर्न सम्भव छैन । परन्तु सर्वाधिक महत्वका समस्याहरुबारे आवश्यक छलफल र अन्तक्र्रियासहित सहि निष्कर्षमा पुगेपछि नै जनवादी क्रान्तिमा यसको भूमिकाको पक्ष राम्ररी स्पष्टिनेछ ।

२. साहित्यकलाको विकासको दिशालाई बझ्ने समस्या :
नेपालमा लामो समयदेखि साहित्यकलाको फाँटमा प्रतिगामी, प्रगतिवादी र संशोधनवादी धाराहरुबीच सङ्घर्ष चल्दै आएको छ । यस सङ्घर्षमा प्रतिगामी तथा प्रगतिवादी धाराबीच प्रमुख अन्तरविरोध रहेको छ र यसले नै साहित्यकला आन्दोलनको गति र दिशालाई प्रभावित पार्ने निर्धारक कारकको काम गरेको छ ।

सामन्ती आभिजात्यवाद र बुर्जुवा आधुनिकतावादको मिलनबाट प्रतिगामी धाराको निर्माण भएको छ । स्तुतिवाद, धार्मिक मतवाद, वर्गसमन्वयवाद, यौनवाद, शून्यवाद, निराशावाद, पलायनवाद, विसङ्गतीवाद, व्यवसायवाद यस धाराका स्वर र प्रवृत्तिगत मूल विशेषता हुन् । प्रयोगवाद र रुपवाद यसका शिल्पगत मान्यता हुन् । यस धाराले आफुमा सड्दैगल्दै आएका सामन्ती हिन्दू धार्मिक मतवाद तथा श्रृङ्गारवाद, साम्राज्यवादी–फासीवादी भ्रष्टता, यौनवाद, अराजकता र भारतीय विस्तारवादी र रहस्यवाद तथा अंश्लीलताका साथै संशोधनवादका सामाजिक साम्राज्यवादी–फासीवादी अधःपतनका समग्र विकृत एवम् मरणाशील तत्वहरुलाई सारसङ्ग्रहवादी ढङ्गले समाहित गरेको छ । यसले गतिशील यथार्थ होइन, भ्रमको, जनहितको होइन निजी हितको, सौन्दर्य होइन कुरुपताको चित्रण गर्दछ । सामन्त, नोकरशाह एवम् दलाल पूँजीपति वर्ग, त्यसको सत्ता र वर्तमान राजतन्त्रतात्मक संसदीय व्यवस्थाको सेवा तथा जनता र क्रान्तिको विरोध गर्नु त्यसको मूल उद्देश्य हो । यद्यपि नेपालको कला साहित्यमा यो धारा अवश्यै प्रभावी रहेको छ, परन्तु यो स्वयं सङ्कटग्रस्त छ । यो अन्तर्वस्तु र रुप, आत्मगत र वस्तुगम, पक्ष, स्वतन्त्रता र आवश्यकतावीचका अनेकौँ अन्तर्विरोधहरुमा उम्कनै नसक्ने गरी फँस्तै गएको छ । 

प्रतिगामी धारा विपरीत नेपाली जनताको वर्गसङ्घर्षको विकासको गतिसँगै लोककला र जनवादी परम्पराका ऐतिहासिक सामग्रीलाई परिमार्जित गर्दै तथा सर्वहारा समाजवादी यथार्थवादी धारासँग आबद्ध हुँदै नेपालमा लामो समयदेखि प्रगतिवादी तथा नयाँ जनवादी कला र साहित्यको धाराले आफ्नो क्रान्तिकारी झण्डा उठाउँदै आएको छ । सङ्घर्षका क्रममा यसले आफुलाई राम्रोसँग स्थापित गरिसकेको छ । रुप र सङ्ख्याका दृष्टि तुलानात्मक रुपमा कमजोर रहे पनि सार र गुणका दृष्टिले यो मजबुद बन्दै गएको छ । नेपाली समाजको विकास सिङ्गो भावधारा र भविष्यलाई कलात्मक अभिव्यक्ति यसै धारामा छ । यहि जिम्मेवारी र दिशाबोधका साथ यो प्रभावी ढङ्गले अघि बढिरहेको छ । 

संशोधनवादी र प्रगतिवादी धाराबीचको अन्तविरोध नेपाली कलासाहित्य फाँटको आजको अर्को अन्तरविरोध हो । संशोधनवाद सारतः प्रतिगामी चिन्तनकै एउटा रुप भएकोले यसको आफ्नै स्वतन्त्र मौलिक विशेषता हुन्न । यसले रुपमा प्रगतिवादी र सारमा प्रतिगामी धाराबाट सामग्री जुटाउने गर्दछ । त्यसैले यो स्वभावतः सारसङ्ग्रहवादी हुन्छ । वर्गसङ्घर्षका विरुद्धमा वर्गसमन्वयमा जोड दिनु, क्रान्तिकारी विचारधारा, राजनीति र सौन्दर्यचिन्तनको अर्थात् माक्र्सवादी–लेनिनवादी–माओवादी सौन्दर्यदृष्टिको विरोध तथा विकृतीकरण गर्नु, प्रगतिवादी र प्रतिगामी मान्यताबीच निकै अमूर्त बनेर प्रस्तुत हुनु, निष्क्रियता, तटस्थता, उदासिनता र उदारतामा जोड दिनु, यौनवाद, बुर्जुवा मानवतावाद र रुपवादको पक्षपोषण गर्नु र क्रान्तिकारी कलासाहित्यलाई जड्सूत्रवादी तथा यान्त्रिकतावादी बताउँदै भँडुवा विकासवादी सिर्जनशीलतामा जोड दिनु यस धाराका मूल विशेषता हुन् । आज नेपालमा संशोधनवादको अर्थात् पक्षधर लेखक–कलाकारहरुको एउटा ठुलो हिस्साले प्रतिगामी धाराका सामु आत्मसमर्पण गरी आफुलाई उल्टो दिशामा रुपान्तरण गरि सकेको छ । आज यसरी साहित्य र कलाको फाँटमा विद्यमान संशोधनवादले एकातिर सङ्कटग्रस्त प्रतिगामी फाँटमा आवश्यक मलजल हालेर त्यसलाई पुनर्जीवित गर्ने र अर्कोतिर जीवनशील प्रगतिवादी फाँटमा विभिन्न ढङ्गका भ्रमहरु सिर्जना गर्दै त्यसलाई दिशा बिहिन तुल्याउने द्वैध प्रकारका भुमिका–निर्वाह गरिरहेको छ ।

यो स्थितिमा विचारधारा र कलासिर्जना दुवै क्षेत्रमा प्रतिगामी एवम् संशोधनवादी धाराद्धारा खडा गरिएको थप समस्या र चुनौतीहरुको सामना गर्ने कुरामा ध्यान दिँदै क्रान्ति र जनताप्रतिको जिम्मेवारीबोधलाई गम्भीरताका साथ हृदयङ्गम गरी अघि बढ्ने काममा प्रगतिवादी धाराका लेखक–कलाकारहरु अत्याधिक सचेत, क्रियाशील र दृढ रहन जरुरी छ ।

३. साहित्यकलाको भूमिकालाई ठीकसित बुझ्ने समस्या :
क्रान्तिका लागि साहित्यकलाले के कस्तो भूमिका खेल्न सक्तछ ? यो समस्यालाइ माथिका विषय र सन्दर्भहरुसँगै गाँसेर हेर्नुपर्छ । प्रतिक्रियावाद, संशोधनवाद र सम्पूर्ण खाले जीवनविरोधी प्रवृतीहरुसँग सङ्घर्ष नचलाई र वैचारिक तथा भावनात्मक रुपान्तरणको दिशामा समाहित नभई साहित्यकलाले नयाँ जनवादी क्रान्तिमा आफ्नो महत्वपूर्ण भूमिका निर्वाह गर्न नसक्ने नै हुन्छ । त्यसैले यी दुवै आधारभूत समस्याहरुको सहि ढंगले बोध गर्दै तथा तिनको समाधान गर्दै साहित्यकलाको जसरी र जुन क्षेत्रमा आफ्नो भूमिका निर्वाह गर्न सक्तछ, त्यस पक्षलाई यहाँ निम्नानसार बुँदामा उल्लेख गर्न सकिन्छ :
१. शोषण, उत्पीडन, अशिक्षा र गरिबीले ग्रस्त जनतामा सरल र प्रभावकारी रुपमा जीवनको मूल्यबोध गराउनु ।
२. जनताका दुश्मनप्रति घृणा र मित्रहरुप्रति प्रेमभाव जगाउँदै वर्गचेतना जागृत गर्नु ।
३. जनताको रुचि, भावना तथा संस्कारसंग संबन्धित सकारात्मक पक्षलाई विकसित गर्ने, कमजोर पक्षलाई हटाउने र उनीहरुको वैचारिक तथा भावात्मक रुपान्तरण गर्ने काममा मद्दत पु¥याउनु ।
४. जनतामा धनीभूत ढंगले सामूहिक भावधाराको सृष्टि गर्नु तथा सौन्दर्यचेतना जगाउनु ।
५. जीवन र क्रान्तिको भविष्यबारे आशावादी दृष्टि अवलम्वन गर्न प्रेरित गर्नु ।
६. क्रान्तिको आवश्यकताबोध र समाज–रुपान्तरणका लागि जनतालाई सचेत एवम् क्रियाशिल बनाउनु ।
सामाजिक चेतनाका अन्य रुपहरु भन्दा भिन्न साहित्यकलाद्धारा यो भूमिका दुई रुपमा सम्पन्न हुन्छ–पहिलो, विशिष्ट अर्थबोध, भाषा, शब्द, ध्वनि तथा रंगरेखाको अभिव्यक्तिका बीचबाट र दोस्रो, सौन्दर्यबोधीय नियमका माध्यमबाट । यस अर्थमा साहित्यकलाको आफ्नै विशिष्ट स्वत्व हुन्छ । परन्तु त्यो निरपेक्ष र विशुद्ध हुन सक्तैन । संज्ञानात्मक, विचारधारात्मक, सांस्कृतिक एवम् सौन्दर्यपरक ढंगले जीवनको मूल्यबोध गराउनु र प्रशिक्षित गर्नु साहित्यकलाको विशिष्ट कार्य हो । आजको जमानामा साहित्य र कलाको क्षेत्रमा यसप्रकारको भूमिका निर्वाह गर्न काम जीवनबाट पृथक यान्त्रिक भौतिकवादी आदर्शवादी एवं. सौन्दर्यवादी लेखक–कलाकारद्वारा होइन, सामाजिक जीवन र वर्गसंघर्षको भावधारालाई कलात्मक ढंगले प्रतिबिम्बित गर्न समर्थ द्वन्द्वात्मक एवं, ऐतिहासिक भौतिकवादी विश्व दृष्टिकोणले समृद्ध लेखक–कलाकारद्वारा नै सम्पन्न हुनसक्छ । क्रान्ति र सौन्दर्यबोधबीच घनिष्ट सम्बन्ध हुन्छ । साहित्य र कला वर्ग संघर्षमा संलग्न जनता र जनयोद्धाहरुका सामूहिक मनोभावनाका प्रतिबिम्ब नै हुन्, जसले मूल कार्य वर्गीय सम्बेदनालाई प्रखर, प्रभावी र घनीभूत ढंगले अभिव्यक्ति दिनु हुन्छ । यसको उद्देश्य जनता र क्रान्तिको सेवा गर्नु हुन्छ । नेपाली प्रगतिवादी कला साहित्यले यही भूमिका खेल्दै आएको छ र आजको नेपाली समाजको वर्ग संघर्षको भावधारालाई यसले अझै सशक्त रुपमा अगाडि बढाउनुपर्ने आवश्यकता छ ।
४. वैचारिक तथा भावनात्मक रुपान्तरणको समस्या
वैचारिक तथा भावनात्मक रुपान्तरण एक वर्गको अर्को वर्गमा रुपान्तरण हो । यो उल्टो र सुल्टो दुवै दिशामा सम्पन्न हुन सक्छ । क्रान्तिको जटिल स्थितिमा कैयौं गैरसर्वहारा वर्गीय लेखक कलाकारहरु सर्वहारा र कैयौं प्रगतिवादी लेखक–कलाकारहरु गैरसर्वहारा पङ्क्तिमा सामेल हुन पुग्छन् । नेपालमा पनि यस्तो हुँदै आएको छ । वर्गसङ्घर्षका आरोह अवरोहका क्रममा यस्तै भइरहन्छ । परन्तु माक्र्सवादी–लेनिनवादी–माओवादी दृष्टिकोणको मूलभूत मान्यता के हो भने पुँजीवादले समाजवाद र समाजवादले साम्यवादमा फड्का् हान्छन् । यसरी हेर्दा भावनात्मक रुपान्तरणको सिद्धान्तलाई उल्टो होइन सुल्टो अर्थमा ग्रहण गर्नुपर्दछ ।

वैचारिक तथा भावनात्मक रुपान्तरणको समस्या सौन्दर्यचिन्तनको केन्द्रीय समस्या हो । यो व्यक्तिको समूहमा, व्यक्तिगत भावको सामूहिक भावमा, व्यक्तिवादको समाजवादमा, गैरसर्वहारा वर्गको सर्वहारा वर्गमा र अन्ततः वर्गीयताको वर्गविहीनतामा रुपान्तरण र पुनःसंस्कारसँग सम्बन्धित समस्या हो । 

क्रान्तिकारी साहित्य–कलामा अभिव्यक्त भावधारा कुनैपनि व्यक्तिपरक भावधारा नभई सामुहिक भावधारा हुन्छ । भावको साधारणीकरण वा प्रारुपीकरणबाट जनताको मनोभावको एउटै भावधारामा सामान्यिकरण हुन पुग्छ । त्यो बेला हजारौं, करोडौं दिल दिमागहरुले दुश्मनप्रति घृणा र मित्रहरुप्रति प्रेम गर्न थाल्दछन् । जनतामा भित्री हृदयदेखि नै वर्ग चेतना जागृत भएर आउँछ । यो स्थितिमा जनताले आफ्नो जीवनको मूल्यबोध गर्दछ । ऊ केवल तटस्थ प्रेक्षक वा द्रष्टा भएर बस्दैन, समाजकै रुपान्तरण र उदात्त आदर्शका लागि सचेत एवं क्रियाशील बनेर वर्गदुश्मनका विरुद्ध सङ्घर्षमा भिड्दछ । मुक्ति सङ्घर्षको योद्धा बन्नुलाई उसले गौरवको विषय ठान्दछ र त्यसैमा आनन्दानुभूति प्राप्छ गर्छ । यसरी जनताको रुचि, संस्कार र भावनामा रुपान्तरण हुँदै जान्छ । क्रान्तिमा साहित्य र कलाले ठीक यसै भूमिका निर्वाह गर्दछन् ।

जनताको वैचारिक तथा भावनात्मक रुपान्तरणका लागि स्वयं लेखक कलाकारहरुको भावनात्मक रुपान्तरण एक अनिवार्य आवश्यकता हो । यस प्रकारको रुपान्तरण चरणवद्ध रुपमा हुँदै जाने प्रक्रिया हो । यस निम्ति विविध सङ्घर्ष र आन्दोलनका आवश्यकता पर्दछ । वैचारिक तथा भावनात्मक रुपान्तरणका क्रममा निम्न कुरामाथि ध्यान दिन जरुरी छ । 

१) माक्र्सवाद–लेनिनवाद–माओवाद र त्यसप्रकारमा सिद्धान्तमा आधारित सौन्दयचिन्तनलाई आत्मसात गर्नु ।
२) नेपाली नयाँ जनवादी क्रान्तिको तथा दीर्घकालीन जनयुद्धको राजनीतिक तथा फौजी कार्यदिशाको महत्वलाई बुझ्दै त्यसै दिशामा ढालेर कलाकृतिको सृष्टि गर्नु ।
३) सांगठनिक हुनु र एकता, सङ्घर्ष रुपान्तरणको प्रक्रियालाई राम्रोसँग अवलम्बन गर्नु ।
४) वर्गसङ्घर्षको बीचमा जानु, जनताको बीचमा जानु, सिक्नु र सिकाउनु ।
५) नयाँनयाँ कृतिको सृष्टि गर्दै एकपछि अर्को छलाङ हान्दै अघि बढ्नु ।
६) संशोधनवाद, नवसंशोधनवादका विरुद्ध जुध्दै जानु ।

यस अतिरिक्त आज हामीले विश्वमा भइरहेका समाजवादी तथा नयाँ जनवादी आन्दोलन, पेरु, फिलिपिन्स, भारत लगायतका विभिन्न देशहरुको जनयुद्धका संस्कृति अनुभवहरुबाट पनि आफूलाई समृद्ध पार्दै जाने काममा विशेष ध्यान दिनु जरुरी छ । विश्व सर्वहारा वर्गका आजका सजिव, सांस्कृतिक अनुभवहरुले हामीलाई रुपान्तरित बनाउनका लागि राम्रो मद्दत पुर्याउँछन् । 
क्रान्तिको उज्ज्वल भविष्यप्रति वैज्ञानिक आशावादी दृष्टि नै एक यस्तो कुँजी हो, जसले हरेक लेख, कलाकारहरुलाई रुपान्तरिक हुन भित्री हृदयदेखि नै प्रेरित गर्दछ । आज हामीलाई यसै दृष्टिको आवश्यकता छ ।

५.संयुक्त मोर्चाको समस्या :
नयाँ जनसांस्कृतिक आन्दोलनमा मूलतः वैचारिक तथा भावनात्मक रुपान्तरणकै समस्यालाई प्राथमिकता दिनुपर्दछ । तर साथै क्रान्तिका लागि साहित्यकलाको फाँटमा संयुक्त मोर्चा पनि एक जरुरी सवाल र आवश्यकता हो भन्ने कुरालाई बिर्सन हुँदैन । हाम्रो विचार वा मान्यतासँग पूरै वा अंशतः सहमत हुन नसक्ने परन्तु विभिन्न ढंगले क्रान्तिमा सघाउ पु¥याउने र अन्य कैयौं देशभक्त जनवादी वा वामपन्थी लेखक, कलाकारहरुप्रति प्रशस्तै छन् । हामीले ती सबैसँग मिलेर काम गर्ने कुरामा विशेष ध्यान दिन जरुरी छ । यस निम्ति एक भरपर्दो संयुक्त मोर्चा आवश्यक बन्न गएको छ । क्रान्तिको आवश्यकताअनुरुप विभिन्न समयमा विभिन्न ढंगका संयुक्त मोर्चा बन्न सक्दछन् र तिनका मागहरु पनि फरकफरक हुने गर्दछ । परन्तु पहिले नेपाली नयाँ जनवादी क्रान्तिले जुन संयुक्त मोर्चाको अपेक्षा गरेको छ, त्यस निम्ति निम्न बुँदामा समान सहमतिको आधार खोज्न सकिन्छ ।
१) देशीय सामन्तवाद विरुद्ध जनवादी क्रान्तिका लागि सहमति ।
२) साम्राज्यवाद र भारतीय विस्तारवादका विरुद्ध राष्ट्रिय मुक्ति संघर्षका लागि सहमति ।
३) सामन्ती, धार्मिक रुढिवादी, भ्रष्ट पुँजीवादी एवं सबैखाले अवैज्ञानिक तथा हैकमवादी चिन्तन र मूल्य मान्यताका विरुद्ध वैज्ञानिक चिन्तन र मूल्य मान्यताको स्थापनाका लागि सहमति ।
४) वर्ग समन्वयवाद तथा शान्तिपूर्ण संक्रमणको सिद्धान्त मान्ने संशोधनवादी चिन्तनको विरुद्ध नेपाली नयाँ जनवादी क्रान्तिका लाथि जनयुद्धको भूमिकाप्रति सहमति ।
यस निम्ति हरेकले हरेकको स्वतन्त्रताको कदर गर्र्दै तथा परस्पर मैत्रीपूर्ण आलोचना चलाउँदै जानुपर्छ । यसबारे अन्तरक्रियाको थालनी गर्नु आवश्यक छ ।
प्रतिगामी साहित्यकलाको धाराले उपर्युक्त विषयलाई ठीक विपरीत दिशामा प्रवाहित गर्ने काम गर्दै आएको छ । यसको मूल उद्देश्य जनताको रुचि, भावना र संस्कारलाई सामन्तवादी, साम्राज्यवादी तथा विस्तारवादी स्वार्थअनुरुप सामन्त, दलाल तथा नोकरशाही पुँजीपति वर्गको हितअनुरुप ढाल्दै लग्नु र जनतालाई क्रान्तिप्रति विमुख तुल्याउनु हो ।
नेपालमा लामो समयदेखि साहित्यकलाका फाँटमा संशोधनवादको अस्तित्व पनि कायम रही आएको छ र आज यसले प्रतिक्रियावादको सेवा गरिरहेको छ । प्रतिगामी धाराका साथै संशोधनवादी धाराको पनि मूल उद्देश्य जनतालाई दिग्भ्रमित पार्दै प्रतिगामी वर्गको सेवा र क्रान्तिको विरोध गर्नु हो ।
आज नेपालको कला साहित्य फाँटमा प्रतिगामी र प्रगतिवादी धाराबीचको अन्तरविरोध नै प्रधान अन्तरविरोध हो । यी दुई भिन्न धाराका कला साहित्यले पनि ठीक यसरी गुणात्मक ढंगले भिन्न भूमिका खेलिरहेका छन् । संशोधनवादी धारा यी दुई बीचमा खेल्ने गर्छ । परन्तु यस धाराका कैयौं लेखक कलाकारहरु प्रतिगामी कित्तामा गिर्दै आएका छन् र आज यो क्रम निकै तीव्र भएको छ । यो स्थितिमा प्रगतिवादी धाराका सामु आज क्रान्तिका लागि निकै ठूलो ऐतिहासिक जिम्मेवारी खडा छ । तसर्थ यस धाराका लेखक कलाकारहरुले आफ्नो सही भूमिका निर्वाह गर्नका लागि प्रतिगामी तथा संशोधनवादी धाराका विरुद्ध संघर्ष चलाउनुका साथै जीवन र कला, अन्तरवस्तु र रुप, सरल र स्तरीयता, स्वतन्त्र र प्रतिबद्धताबीच द्वन्दात्मक सम्बन्ध कायम गर्दै रचनाको निर्माण र प्रसारण गर्ने काम अत्यधिक सचेत र क्रियाशील हुन जरुरी देखिन्छ ।
आज आवश्यकता विविध विधाहरुको सृष्टि र विकास गर्नुका साथै गीत, संगीत, नाटक र नृत्य फाँटमा विशेष ध्यान दिनुमा छ । किनभने जनता जगाउने कार्यमा यिनकै भूमिका प्रभावी हुँदै आएको छ । त्यसका साथै मगर, गुरुङ, लिम्बु, तामाङ, थारु, मैथिली, नेवारी, नेपाली आदि सबै भाषामा रचना सृष्टि गरी विविध जातिका जनतालाई ब्युँझाउनेतर्फ पनि विशेष ध्यान दिनुपर्ने आवश्यकता छ । लोक कला र लोक शैलीको आज प्रतिगामी कित्ताबाट धेरै नै उपेक्षा हुँदै आएको छ । यसको संरक्षण, परिमार्जन र विकासबारे पनि त्यत्तिकै ध्यान दिनुपर्ने आवश्यकता छ । किनकि क्रान्तिका लागि लोक कला र लोक शैलीको भूमिका विशिष्ट हुन्छ ।
मूलतः उपयुक्त प्रकारको संघर्ष र सिर्जनात्मक कार्यको सम्पादनबाटै नयाँ जनवादी क्रान्तिमा कला साहित्यको सांस्कृतिक सेनाको भूमिका सम्पन्न हुनसक्दछ ।

६. उपसंहार
नयाँ जनवादी क्रान्तिमा साहित्य कलाको भूमिकाबारे यसरी जुन कुरा उल्लेख गरियो । त्यसमा कैयौं महत्वपूर्ण कुरा छुट्न गएका छन् । आवश्यता, बहस र अन्तरक्रियाका बीचबाट नै चिजलाई बढी परिस्कृत तुल्याउन र समस्याहरुको समाधान गर्दै जान सकिनेछ । आज नेपाली क्रान्तिको प्रगतिवादी लेखक, कलाकारहरुसँग आआफ्ना कलम, कुची र मादल बोकेर पट्यारलाग्दो निरन्तरता तोड्दै वर्गसङ््घर्षका बीचबाट गुणात्मक ढङ्गले नया नयाँ कृतिहरुको सृष्टि गरी जनता ब्युँझाउनका लागि जोडदारा आह्वान गरिरहेको छ । त्यसलाई सबैले अत्यधिक गहिराइका साथ हृदयंगम गर्नु नै अहिलेको हाम्रो प्रमुख काम हो ।
(भाद्र, २०५२ मा लेखिएको यो लेख ‘माक्र्सवादी कलादृष्टि र समीक्षा’बाट लिइएको हो ।)