
काठमाडौं । दिपकराज गिरी र दीपाश्री निरौलाले निर्माण गरेको चलचित्र छक्का पञ्जाको पाइरेसीको आरोप लागेका एक युवकले आत्महत्या गरेका छन् ।
पाइरेसीको आरोप लाग्दै आएका २५ वर्षीय कृष्ण सुवेदीले बिहीबार साँझ भीमसेनगोलास्थित विजयचोकमा डेराको सिलिङमा गलबन्दीले झुण्डिएर आत्महत्या गरेका हुन् ।
आत्महत्या गरिएको ठाउँमा सुवेदीले लेखेको सुसाइड नोटमा आफ्नो आत्महत्यामा कसैलाई दोष नदिनू र बैंकमा रहेको एक लाख रुपैयाँ बहिनीलाई दिनू भनेर लेखिएको छ । सुसाइड नोटमा छक्का पन्जा पाइरेसीबारे भने केही खुलाइएको छैन ।
चलचित्र पाइरेसी गरेको उजुरी परेपछि महानगरीय प्रहरी अपराध महाशाखाले अनुसन्धानका क्रममा सुवेदीसहित चार जनासँग सामान्य सोधपुछ गरेको थियो । महाशाखा प्रमुख एसएसपी सर्वेन्द्र खनालले पाइरेसी गर्ने व्यक्ति अर्कै भएको र उनीहरुको संलग्नता नदेखिएकाले सचेत गराएर छाडेको बताएका छन् ।