निजामति सेवा ऐनको धज्जी उडाउँदै सरकारी कर्मचारी एमालेको जुलुसमा

निजामति सेवा ऐनको धज्जी उडाउँदै सरकारी कर्मचारी एमालेको जुलुसमा

काठमाडौं । निजामति सेवा ऐनको धज्जी उडाउँदै सरकारी कर्मचारी नै कार्यालयको काम छाडेर एमालेको शक्ति प्रदर्शनमा जुलुससहित पुगेका छन् ।

राष्ट्र सेवक कर्मचारी नै आन्दोलनमा पार्टीको झण्डा लिएर उत्रिएपछि शुक्रबार सरकारी कार्यालयको कामकाज प्रभावित भएको छ ।

संविधान संशोधन प्रस्तावविरुद्ध एमालेले शुक्रबार राजधानीमा आयोजना गरेको शक्ति प्रदर्शनमा निजामति कर्मचारी, प्राध्यापक, शिक्षकलगायत सहभागी भएका हुन् ।

एमालेको झण्डासहित पेशागत महासंघको ब्यानरमा उनीहरु जुलुसमा सहभागी भएका हुन् । निजामति कर्मचारीको आधिकारिक ट्रेड युनियनका अध्यक्ष पुण्य ढकाल र उपाध्यक्ष भोलानाथ पोखरेलले जुलुसको नेतृत्व गरेका थिए भने उनीहरुसँगै अन्य सरकारी कर्मचारीहरु समेत लामबद्ध भएर जुलुसमा सहभागी भएका थिए ।

निजामति सेवा ऐनको आचरणसम्बन्धी महलमा कर्मचारीहरु राजनीतिक दलको सदस्य हुन नपाउने र दलका झण्डामा कुनै क्रियाकलाप गर्न समेत नपाउने उल्लेख छ ।

त्यस्तो गतिविधिमा संलग्न भएमा उनीहरुलाई स्पष्टीकरण सोध्ने, सचेत गराउने र भविश्यमा सरकारी सेवाका लागि अयोग्य हुने गरी सेवाबाट बर्खास्त गर्ने सम्मको व्यवस्था रहेको छ ।

मुख्यसचिव सोमलाल सुवेदीले राष्ट्रसेवक कर्मचारीहरु दलको झण्डा बोकेर पार्टीको कार्यक्रममा सहभागी भएकोमा कारवाही गर्ने चेतावनी दिएका छन् । सामान्य प्रशासन मन्त्रालयसँग समन्वय गरेर जुलुसमा सहभागी भएको प्रमाणित भएमा कर्मचारीमाथि कारबाही गर्ने उनको भनाई छ ।