चीनले यस्तो खतराका कारण हटायो एक बच्चा नीति

प्रकाशित मिति : २०७३ पुस ४

एजेन्सी । २९ अक्टोबरमा चीन सरकारले एक बच्चाको नीति अन्त्य गरेको सबैभन्दा तिव्र प्रतिक्रिया शेयर बजारमा देखिएको थियो ।

मीड जोनसन न्युट्रिसन जस्ता बच्चाका सामग्री उत्पादन गर्ने कम्पनीको शेयर बढ्यो भने लगानीकर्ताले चीनमा अधिक बच्चा जन्मिने आशाका कारण यस्ता कम्पनीमा लगानी गरे । यद्यपि उनीहरुको हातमा निराशा नै हात लाग्ने सम्भावना देखिएको छ ।

अब चीनमा विवाहित जोडीले २ बच्चा जन्माउन पाउनेछन्, तर अब धेरै जोडीले थप सन्तान जन्माउनेमा आशंका कायमै छ । सन् १९७० को दशकमा एक बच्चा नीति लागु हुनुभन्दा अघि चीनमा औसतमा चिनियाँले ५ बच्चा जन्माउथे ।

त्यसबेला चीनको जनसंख्या ३ प्रतिशतका दरले बढिरहेको थियो । चीनमा १० वर्षभन्दा कम समयमा नै अकालमा नै ४ करोड ५० लाखभन्दा बढीको मृत्यु भयो ।

त्यसैबेला चीनले जबरजस्त रुपमा जनसंख्या नियन्त्रणका लागि यस्तो नीति लागु गरेको हो । एक बच्चा नीति उल्लंघन गर्नेमाथि भारी जरिवाना हुने गर्दथ्यो । सरकारको अनुमतिमा लाखौंले गर्भपतन गराए ।

यता, जनसंख्या वृद्धिमाथिको नीतिको असर समेत सँगै देखिन थालेको थियो । चीन सरकारले सन् १९७९ मा नै सन् २००० का लागि १ अरब २० करोड जनसंख्याको लक्ष राखेको थियो । त्यसबवर्ष चीनको जनसंख्या १ अर्ब २६ करोड भएको थियो ।

अधिक युवा युवतीका निश्चित बच्चाहरु भए जसले गर्दा १९९० देखि २००० को बीचमा तिव्र आर्थिक विकासको दर हासिल गर्न सहयोग मिल्यो ।

यद्यपि चीनका सामु नयाँ चुनौति खडा भयो । केबल एक बच्चाको नीतिका कारण चीनमा छोरा मात्रै जन्माउने लहर चल्यो । बालिकालाई भ्रुणमा नै हत्या गरिन्थ्यो । करिब ३ करोड बालिकालाई जन्मन रोकिएको अनुमान छ ।

महिलाको अनुपात कम भएपछि लाखौं चिनियाँ पुरुषहरु विवाहबाट बन्चित हुने अवस्थाको सिर्जना भयो भने वृद्धहरुको जनसंख्या बढिरहेको छ । युवा चिनियाँको अवस्था ४–२–१ को अवस्थामा रहेको छ ।

यसको मतलव एक नातीले दुई आमा बुवा र चार हजुरबुबा हजुरआमाको जिम्मेवारी उठाउनु प¥यो । २०५० सम्म यही अवस्था रहने हो भने ३ चिनियामध्ये एक ६० वर्ष माथिको हुनेछन् । ४३ करोड मानिस वृद्धवृद्धा मात्रै हुनेछन् ।

अहिले जापानमा जुन समस्या देखा परिरहेको छ, भोलि चीनको पनि त्यस्तै वृद्ध धेरै हुने समस्या आइपर्नेछ । एक बच्चा नीति अन्त्य गर्नु भनेको यो होइन कि चिनियाँ आमाबाबु स्वयमले लगाएको प्रतिबन्ध हट्नेछ ।

सन् २०१३ मा नै सरकारले जुन जोडीका १ बच्चा छन् उनीहरुलाई दुई बच्चा जन्माउने अनुमति दिएको थियो । तर, करिब १ करोड १० लाखमध्ये केवल १५ लाखले मात्रै अवेदन दिएका थिए भने बाँकी १ करोडले यसप्रति रुची देखाएनन् ।

चीनको परिवार नियोजन संघले २००८ मा गरेको एक सर्वेक्षणमा चीनका केवल १९ प्रतिशत जनता मात्रै १ भन्दा बढी बच्चा जन्माउने पक्षमा देखिएका थिए । चीनको अवस्था जापान, दक्षिण कोरिया, इटाली या जर्मनी भन्दा फरक छैन ।

यी देशमा वृद्धको संख्यामा बढोत्तरी भइरहेको छ । प्रजननदर प्रति महिला २.१ जन्म भन्दा कम रहेको छ । महिला अधिक शिक्षित, सहरी र सम्पन्न भएका कारण कम बच्चा जन्माउन चाहन्छन् । संसारका कतिपय देशको जनसंख्यामा वृद्धको संख्या एक समस्याका रुपमा देखिन थालेको छ ।