झर्रोटर्रो : साविति बयान

झर्रोटर्रो : साविति बयान

हाम्ले आफ्नो तलब भत्ता बढाउने निर्णय के गर्याथ्यौँ, ओहोहोहो…..नि हुनसम्म भो यो दुनियाँलाई । कति साह्रो खेदेको होला नि हाम्लाई । खेद्नुको पनि त हद हुन्च । यी पत्रकार हुन् कि के जाति अलपत्रकार हुन् तिनले पनि हाम्लाई खेदेका छन् । लेखक बनेका ठेट्नाहरूले पनि हाम्लाई नै खेदेका छन् । कार्टूनिष्टहरूको त झन् के कुरा गर्नु । हाम्लाई बङ्गाएर टङ्गाएर कुरूप बनाएर राक्षसै बनाए त बा ।

हाम्रा भोटर मनुवाहरूलाई उचाल्नसम्म उचालेर हाम्रा विरुद्ध खनिन पो लगाउन थाले त गाँठे हो । यो फेसबुक, टुइटर केके जाति नामका सामाजिक सञ्जालहरूमा त झन् तीन त्रिलोक चौधै भुवनबाट हाम्रा विरुद्ध तथानाम लेखेर उखरमाउलो नै मच्चाएका पो छन् त हौ । यो गुगल र फेसबुक चलाउने मान्छे काँको जन्तु हो त्यसलाई पो ठिक पार्नु पर्च कि क्या हो । सबैलाई निशुल्क फेसबुक टुइटर खोल्न दिएर हाम्रा विरुद्ध मनुवाहरूलाई उचाल्न सजिलो पो बनाइदियो त गाँठे । भुसुक्कै डलर लाग्ने बनाइद्या भे त यतिसाह्रो खेद्ने बाटो त खुल्ने थे’न । 

पैलापैला त पत्रिका मात्रै हुन्थ्यो, त्यो पनि सरकारी मात्र हुने भेकाले हामी सरकारी मान्छेको जथाभावी लेख्न पाउन्नथ्यो । पत्रिका जसले पायो त्यसलाई खोल्न दिँदा यी पत्रकार नामका जन्तुहरू बर्खेच्याउ झैँ उम्रिएका छन् । तैतै पत्रिका पढ्ने मनुवा धेरै त हुन्नथे । रिरिबाजा र टिलिभिजनले हैरान त पारेकै थ्यो’ । हुँदा हुँदा अहिले यो अनलाइन खोल्न दिएर त तीन त्रिलोक चौधै भुवनमा जात्रा देखाउने पो भए त । कहीँबाट पनि टालटुल पारेर छेक्न नसकिने भयो । आर्कोचोटी चुनाउमा भोट क्यारी माग्ने होला । अप्ठ्यारै पो पार्नथाले त यी साइँदुवाहरूले । केही त गर्नु पर्यो हो साथी हो । आफ्नो हातमा डाडुपन्यु भएपछि कुन् मनुवा चोखो हुन्च आफ्नो भाग ठूलो नबनाउने ? चुनाउ लडेर ह्याँ आ’को त खान, मोज गर्न, विदेश भ्रमण गर्नलाई त हो । जे काम गर्न आ’को हो त्यो पनि गर्न नपाउनु ? कस्तो अचाक्ली हो ?

कत्रो खर्च गरेर चुनाउ लड्नु पर्च । कसैकसैले त घरबारी नै बेचेर आ’का छौँ । चुनाउमा यिनै खोइरो खनेर विरोध गर्ने मनुवाहरूलाई अनेक जाति ख्वाउनु पर्च । पैसा नदिएसम्म कार्यकर्ता पनि डेग चल्दैनन् । पत्रकार भनाउँदाहरूलाई विज्ञापन दिएर प्रचार गराएकै हुन्चौँ । एफएम रिरिबाजा, टिभि, पत्रपत्रिका सबैले पैसा घिचेकै त हुन्चन् । ऐले विरोध गर्नेले त्यतिबेला नघिच्नु नि । उता भोटर मनुवाहरूलाई जात र दर्जाअनुसार खसी, कुखुरा, राँगा ढालेकै हुन्चौँ । अलि भद्रभलाद्मी भनाउँदा र कर्मचारी अफिसरहरूलाई पनि ककटेलको व्यवस्था गर्नु परेकै छ । लोकल ठर्रादेखि ठूल्ठूला विदेशी रङ्गिन झोलसम्म घिचाउन पर्च ।

त्यो सबै खर्चपर्च हाम्ले के तिनका बाउको सम्पती बेचेर गरा’छम् र ? एउटाको पैसा खाएर आर्कालाई भोट हाल्ने पनि यिनै मनुवाहरू त हुन्चन् नि । हाम्ले पनि तिनको पोल साँच्चै खोल्दिम् त, के हुन्च यिनको हविगत । बड हाम्रो विरोध गर्ने भा’का भाते मनुवा । चुनाउका बेला खुबै बहिष्कारवादी बनेर बाकसलाई घनले हानेर हाम्लाई दलाल र सलाल भन्ने, केके जाति र’का एजेन्ट भन्ने तर भित्रभित्रै पैसा खानेहरूले त अब लोकतन्त्रको बिरोध गरेर बाँच्न सकिने रैनच भनेर हामीसितै मिल्न आए । आखिर पैसा त सबैलाई चाइने रैच नि त । जे होस् ढिलै भए पनि बुद्धि फिरेकोमा उनीहरूलाई पनि धन्यावाद छ । आर्को पाली दुईचार जानाले अलिअलि कलो त तिन्ले पनि भेटाउलान् ।

सत्ता भनेको सक्नेले भूँडी फुटुञ्जेल खाने, घिच्ने, लुट्ने, ठग्ने, ढाँट्ने, उधुमपत्ताल मच्चाउने साधन त हो । अझ लोकतन्त्रमा त झन् पालैपालो शक्ति हुनेले मिलिजुली खाने कुरा न हो । ठोकतन्त्रमा एउटै दलले, दल पनि नभनौँ क्यारे एउटै गुटले लुटिरहने व्यवस्था भएकाले हामी सबै मिलेर लोकतन्त्र ल्या’का हौँ । माउवादीले पनि अर्को प्रकारको के जाति सर्वहारा वर्गको ठोकतन्त्र ल्याउन खोज्या’थ्यो र त उसलाई पनि लोकतन्त्रमा झारेर हाम्रै कित्तामा सामेल गरा’छौँ । त्यै भ’र ऐले उसलाई पालो द्या छौँ । कि कसो साथी हो ? (सबैले हो हो भनेर टाउको हल्लाउँचन्) सके उनीहरूले पनि खाए हुन्च, कस्ले छेक्या छ र ?

कसैले बहिष्कार गरेर बाहिरै बस्ने । कसैले भोटर मनुवाहरूलाई पेटभरी ख्वाउन नसकेर हार्ने । क्वै रमिते बनेर बस्ने । अनि ऐले अर्काको डाहा गरेर विरोध गर्ने ? विरोधको पनि सीमा हुन्च नि । सिमै नाघेर नाङ्गै पार्दिने हाम्लाई । कस्ता असत्ती मनुवा हुन् । हाम्ले मात्रै सत्ताको ढुकुटी घिच्या त छैनौँ नि । रित्याएर डङ्ग्रङ्गै पार्या पनि त छैनौँ । हाम्ले खाने जति त विदेशी दाताहरूबाट भिख मागेर केही ऋण, केही अनुदान भनेर थुप्रै पैसा ल्याका पनि त छौँ । 

हाम्ले मात्रै बढि पैसा खा’का त छैनौँ नि । साउनदेखि पुलिस, सेना, मास्टरहरू र कर्मचारीहरू सबैलाई एकैचोटी २५ प्रतिशत बढाइद्या छौँ । तिनीहरूले पनि घिचेकै त छन् । यी पत्रकार भनिने जन्तुहरूलाई पनि न्युनतम पारिश्रमिक भनेर तोकिदिएकै छौँ । आफ्ना मालिकसँग झारेर खान सक्नु परो नि । ब्यापारी उद्योगीहरूलाई पनि महङ्गी बढाउन रोक्या छैनौँ । तिनले पनि सकेजति मालको मोल बढा’र घिचे हुन्च । घिचेकै त छन् । अझ बेलाबेलामा कैले नाकाबन्दी, कैले नोटबन्दी गरेर हाम्रा परम् पूज्य सत्तादाता, दानापानीदाता महामहिम गुज्जर भैयाले सहयोग गरेकै छन् । नाकाबन्दी र नोटबन्दीको मौका छोपेर उद्योगी ब्यापारीलाई महङ्गी बढाउन, गुप्त ब्यापार गर्न कति सहज भा’छ । त्यो गुन बिर्सने ? 

जहाँसम्म भोटर मनुवाहरूको कुरा छ उनीहरूलाई पनि आफ्ना छौँडाछौँडीलाई विदेश पठाऊ र रेमिट्यान्स घिचेर आरामसँग बस भनेकै त छौँ । तिनलाई यो उत्तरआधुनिक जमानामा पनि सतिपुर्खे तरिकाले खेतीपाती गर्न कल्ले भन्या छ ? उमेर मिलेका तन्नेरी जतिलाई विदेश पठाउने, अनि उमेर कटेका जति गुज्जर भैयाका देशतिर जाने । त्यता जान भिसाउसा बनाउन नि पर्दैन । उमेर र पढालेखाको कुनै साठीपिकेट देखाउन नि पर्दैन । उतैतिर जाने र कसैका भाँडा माझ्ने, चौकीदारी गर्ने, कोठीमा बसेर केटाटीको स्याहार सुसार गर्ने गरे हुन्च । क्यै गर्न नसक्ने पनि तिर्थाटनतिर गएर मन्दिरमा बस्ने भगवानको प्राथना गरेर काल ढुकेर बसे पनि त हुन्च । यता हाम्लाई कस्ले भोट हाल्देला भनेर चिन्ता किन लिनु परो र ? गुज्जर भैयाले अङ्गिकृतवाला पठाइहाल्चन् नि । त्यसको व्यवस्था हामी आफै मिलाइहाल्चम् । हाम्रो कुरा यै हो । अब उप्रान्त कसैले पनि हाम्रो खानपिनमा डाहा नगर्ला । सबैलाई बाँच्ने आधार हामीले यै बयानमा दिइसक्या छम् । आगे पशुपतिनाथले सबैको कल्याण गरुन् । ‘जय नेपाल’ ! ‘लालसलाम’ ! ‘अभिवादन’ ! ‘जय देश जय नरेश’ ! ‘जय मधेश’ ! ‘जय जनजाति’ ! लौ जा ।
भवदीय
माननीय ५९५
गफाडीभवन, न्यू बानेश्वर,काठामाडौं, नेपाल

kailubraha73@gmail.com