काठमाडौं । राष्ट्रियता, जनतन्त्र र जनजीविकाका सवालमा आफूलाई खरो रुपमा उतार्न सफल नेकपा (क्रान्तिकारी माओवादी) मा देशैभरबाट ध्रुवीकरण हुनेको लहर नै चलेको छ ।
शान्ति प्रक्रियासँग माओवादी पार्टीभित्र देखा परेको अवसरवादी तप्कालाई पराजित गर्दै क्रान्तिकारी माओवादीले आफूलाई सच्चा क्रान्तिकारी कम्युनिष्ट पार्टीमा उभ्याउन सफल भएको भन्दै देशैभरबाट पार्टी प्रवेशको लहर चलेको छ ।
यसअघि विभिन्न राजनीतिक वैचारिक भ्रममा परेर अन्य माओवादीमा रहेका र फरक राजनीतिक धारमा रहेका समेत अहिले धमाधम क्रान्तिकारी माओवादीमा प्रवेश गर्न थालेका हुन् ।
सोही क्रममा नेकपा (माओवादी) मातृका समूहका बैतडी जिल्ला अध्यक्ष भुवन भट्ट र जनमुक्ति पार्टीका जिल्ला अध्यक्ष भुवन आउजी नेकपा क्रान्तिकारी माओवादीमा प्रवेश गरेका छन् ।
उता बझाङमा राष्ट्रिय सेवा दलका जिल्ला अध्यक्ष जनकराज भट्ट पनि नेकपा क्रान्तिकारी माओवादीमा प्रवेश गरेका छन् । उनीहरुले राष्ट्रियता, जनतन्त्र र जनजीवीकाका लागि संघर्षरत एकमात्र पार्टी क्रान्तिकारी माओवादी मात्रै भएको भन्दै सबैलाई क्रान्तिकारी माओवादीमा समाहित भएर क्रान्तिकारी ध्रविकृत हुन आग्रह गरेका छन् ।
यस्तै डोटीमा नेकपा एमालेका दिपायल नगर कमिटिका सदस्य दिलीप नेपाली र कृष्ण श्रेष्ठ पनि क्रान्तिकारी माओवादीमा प्रवेश गरेका छन् । क्रान्तिकारी माओवादीमा ध्रुविकरणको प्रक्रियामा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको माओवादीका नेताहरु पनि सामेल भएका छन् ।
अछाममा नेकपा (माओवादी) विप्लव समूहका जिल्ला सहसचिव गणेश शाही ‘मोहन’ जिल्ला सदस्य जुनेलीसहित चार जना जिल्ला स्तरीय नेता तथा अन्य दर्जनौंको संख्याका कार्यकर्ताहरु क्रान्तिकारी माओवादीमा समाहित भएका छन् ।
माओवादी पार्टी शान्ति प्रक्रियामा सामेल भएसँगै पार्टीको ठूलो हिस्सा क्रान्तिका बाँकी कार्यभार चटक्कै छाडेर सत्तालिप्सा र व्यक्तिगत स्वार्थ तथा महत्वाकांक्षामा केन्द्रित हुँदा पटक पटक विभाजन बेहोर्दै आएको माओवादी आन्दोलनमा पुनः क्रान्तिकारी ध्रुविकरण सुरु भएको हो ।
नेकपा (क्रान्तिकारी माओवादी) पार्टीका कार्यदिशा, योजना र कार्यक्रममा सहमत हुनसक्नेलाई क्रान्तिकारी धु्रविकरणमा सामेल गर्ने निर्णय गरेसँगै अहिले देशव्यापी रुपमा धु्रविकरणको लहर चलेको हो ।
राजधानीसहित देशका विभिन्न जिल्लामा अझै नेकपा (माओवादी केन्द्र) विप्लव माओवादी, बाबुराम भट्टराईको नयाँ शक्तिबाट समेत त्यहाँ रहेका क्रान्तिकारीहरुले ध्रुविकरणका लागि बहस सुरु गरेका छन् ।
अहिलेको समयमा मोहन वैद्य ‘किरण’ को नेतृत्वमा रहेको क्रान्तिकारी माओवादीले लिएको कार्यदिशाबाटमात्रै नेपाली क्रान्तिलाई बचाउँदै बाँकी कार्यभार पूरा गर्न सकिने निश्कर्षसहित धु्रविकरणको प्रक्रियामा सामेल हुने क्रम बढेको हो ।