काठमाडौं । नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य ‘किरण’ ले शान्ति सम्झौताका १० वर्षमा नेपाली जनतालाई अपमानित गर्दै जनयुद्धका उपलब्धिको हत्या गरिएकाले अब नयाँ जनवादी क्रान्तिको तयारी गर्नुको विकल्प नदेखिएको बताएका छन् ।
उनले गणतन्त्र, संघीयता, धर्मनिरपेक्षताजस्ता केही विषय संविधानमा समेटिएको भएपनि यसले जनताको समस्याको हल गर्ने अवस्था नरहेको उल्लेख गर्दै अहिलेको संविधानलाई संशोधन गरेर कुनै हल निस्कन नसक्ने ठोकुवा गरे ।
तत्कालीन नेकपा (माओवादी) र सरकारबीच वृहत शान्ति सम्झौता भएको १० वर्ष पुरा भएको अवसरमा राजधानीमा आइतबार आयोजित एक अन्र्तक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष किरणले संविधानमा जुनसुकै कुरा लेखिएको भएपनि त्यसको कार्यान्वयनमा भने कुन वर्गको हातमा राज्यसत्ता छ भन्ने कुराले निर्भर गर्ने बताए ।
उनले भने, ‘अहिले संविधानमा गणतन्त्र, संघीयता, धर्मनिरपेक्षताजस्ता कुरा आएका छन् भनेर भनिएको छ तर, के त्यसले जनताको अग्राधिकारलाई स्थापित गर्छ ? देशव्यापी रुपमा संघर्षमा रहेका मधेसी, आदिवासी जनजाति, दलित, थारु, कर्णालीका जनताको समस्यालाई हल गर्न सक्छ भन्ने प्रश्न मुख्य हो ।’
अध्यक्ष किरणले अहिलेको संविधानलाई नेपाली जनता आफैले बनाएको भनेर भ्रम छरिएको उल्लेख गरे । उनले भने, ‘साथीहरुले संविधान हामी आफैले बनायौं भनेर खुब भन्ने गर्नुभएको छ, तर त्यसका लागि कहाँबाट अर्तिबुद्धी र मन्त्र आयो भन्ने कुरा हामीलाई राम्ररी थाहा छ ।’
अध्यक्ष किरणले माओवादी शान्ति प्रक्रियामा आउनै हुन्न भन्ने नभए पनि लम्पसार पर्नु हुन्न भन्ने आफूहरुको भनाई रहेको स्पष्ट पारे । नेकपा (माओवादी केन्द्र) का नेता नारायणकाजी श्रेष्ठले माओवादीमा शान्ति सम्झौतामा आउनै हुन्न भन्ने, शान्ति सम्झौतामा ल्याउनै हुन्न भन्ने दुई अतिवाद रहेको र आफूहरुले यसलाई अर्को चरणको क्रान्तिका लागि शक्ति सञ्चय गर्ने अवसरका रुपमा बुझेको भन्ने भनाईको खण्डन गर्दै किरणले शान्ति सम्झौतामा आएर सबैथोक सुम्पिएर साम्राज्यवादसँग त्वमशरणम् गरेको विषयको विरोध गरेको बताए ।
उनले भने, ‘यहाँ शान्ति सम्झौताका बारेमा तीन विषय रहेको उल्लेख गरियो, तीन वटा विषय छन्, तर जे भनियो त्यो होइन, शान्ति सम्झौतामा आउनै हुन्न भन्ने विषय हामीले उठाएका छैनौं, तर सम्झौताका नाममा लम्पसार पर्नु हुन्न भन्ने हो ।’ पहिल एउटा राजा भएपनि अहिले काँग्रेस, एमाले र माओवादी केन्द्र तीनवटा बडेराजा भएको टिप्पणी गर्दै उनले आफूहरुले भनेको सबै ठीक छ भन्ने तीन दलको सोचाई तानासाही भएको उल्लेख गरे ।
‘हामीले भनेको जे हो त्यही नै ठीक छ भन्ने कुरा तानासाही होइन,’ उनले भने, ‘सबैलाई समेटेर जाने हिम्मत तीन दलले गर्नुपर्छ । विस्तृत शान्ति सम्झौतामा अहिले सबै पक्षलाई समाबेस गरिएको छ तर, यसमा माओवादी मुख्य हिस्सेदार हो, हामीलाई बाहिरै राखेर गरिएका कुनै सम्झौता मान्ने पक्षमा हामी छैनौं ।’
उनले वृहत शान्ति सम्झौता गर्दा पार्टीको केन्द्रीय समितिमा समेत छलफल नभएको उल्लेख गर्दै अहिले आएर सँगै रहेका माओवादीकै नेताहरुले आफ्नो रंग परिवर्तन गरेको र जात थर बदलेर नवसंशोधनवादी कित्तामा उभिएको बताए ।
‘कुनै बेला नवउदारवादको खुबै हुरी चल्यो, त्यसको विकल्प नै छैन भन्थे, तर संसारमा कुनै चिज पनि स्थायी हुन सक्दैन, वैज्ञानिक समाजवाद बाहेक अर्को विकल्प नै छैन, अर्को संघर्षको तयारी गर्नुपर्छ, सच्चा कम्युनिष्ट एक भएर नयाँ जनवादी क्रान्तिको दिशामा अघि बढ्नुपर्छ ।’
कार्यक्रममा नेकपा (माओवादी) का महासचिव नेत्र विक्रम चन्द विप्लवले शान्ति सम्झौताका नाममा नेपाली जनतालाई उत्पीडनमा राख्न खोजेको र माओवादीलाई सिध्याउने प्रयत्न भएको उल्लेख गरे । उनले माओवादी आन्दोलन कुनै व्यक्तिसँग मात्रै सम्बन्धित नभएर जनताले गरेको क्रान्तिलाई माओवादी पार्टीले नेतृत्व गरेकाले अब पनि कुनै न कुनै रुपमा जनताको आन्दोलन उठेरै छाड्ने उल्लेख गरे ।
अहिले शान्ति सम्झौता गरेका प्रचण्ड–बाबुराम एकातिर र नेपाली जनता अर्कातिर हुने अवस्थाको सिर्जना भएको बताउँदै उनले जनतालाई धोका दिने प्रचण्ड–बाबुराम पनि दण्डित हुने बताए ।
उनले संसदवादी दलले शान्ति सम्झौतामा आउनुलाई कमजोरीको रुपमा ब्याख्या गरेको उल्लेख गर्दै उनले आफूहरु पराजित भएर नभई नेपालको शान्ति प्रक्रियालाई तार्किक निश्कर्षमा पु¥याउने दलहरुको प्रतिबद्धतालाई विश्वास गरेर आएकाले सोही अनुसार चल्न आग्रह गरे ।
‘शान्ति सम्झौता जुन उद्देश्यले गरिएको थियो, त्यसलाई गलत रुपमा टुंग्याइयो, उनले भने, ‘शान्ति सम्झौतालाई हतियार बनाएर पुरानै सत्तातिर फर्किने कोशिस भइरहेको छ, प्रतिक्रान्तिको हतियारका रुपमा बदलिएको छ ।’
यसैगरी नेकपा (माओवादी केन्द्र) का नेता नारायणकाजी श्रेष्ठ प्रकाशले अहिलेको संविधानले धेरै कुरालाई संस्थागत गरेको दाबी गरे । उनले संविधानमा धेरै मौलिक अधिकार समेटिएको भएपनि त्यसको कार्यान्वयनमा समस्या हुँदैमा त्यसमा केही पनि छैन भन्ने तर्क गलत भएको उनको भनाई थियो ।
उनले तराईमा अहिले नागरिकताको कुनै समस्या नरहेको र बाँकी समस्यालाई संविधान संशोधन गरेर भएपनि हल खोज्ने प्रयत्न भइरहेको बताए । उनले भने, ‘शान्ति सम्झौतामा आउनु गलत थियो भन्ने तर्क पनि हुने गरेका छन्, अनि शान्ति सम्झौतामा ल्याउनै पर्ने थिएन, सिध्याउन सकिन्थ्यो भन्ने पनि आएको छ, तर हामीले त्यसलाई नयाँ क्रान्तिका लागि शक्ति सञ्चय गरेर अघि बढ्ने अवसरको रुपमा सदुपयोग गर्नुपर्छ ।’