काठमाडौं । संविधान संशोधनमा प्रमुख तीन दलका शीर्ष नेता सहमति नजिक पुगेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बिहान नेपाली काँग्रेस, एमाले र माओवादी केन्द्रका शीर्ष नेताबीच संविधान संशोधनका विषयमा सकारात्मक छलफल हुनका साथै प्रस्ताव व्यवस्थापिका–संसदमा दर्ता गर्ने सहमति बनेको नेताहरुको भनाई छ ।
तीनै शीर्ष नेता संविधानलाई कार्यान्वयनमा लैजान संविधान निर्माणका बेलामा जस्तै सहमतिका साथ अघि बढ्नुपर्ने निष्कर्ष निकालिएको बैठकपछि माओवादी केन्द्रका नेता वर्षमान पुनले जानकारी दिए ।
संविधान कार्यान्वयनका लागि संविधान संशोधन आवश्यक रहेको महसुस तीनै शीर्ष नेताले गरेको र उनीहरुबीच संशोधनका विषयमा सकारात्मक छलफल भएको उनले बताए ।