काभ्रे । अखिल नेपाल जनसाँस्कृतिक महासंघको काभ्रे जिल्ला समिति गठन भएको छ । काभ्रेको बनेपामा भएको महासंघको भेलाले २१ सदस्यीय काभे्र जिल्ला समिति गठन गरेको हो ।
तीन जना पछि थप्ने गरी प्रतिक लामाको नेतृत्वमा १९ सदस्यीय समिति बनेको छ । अखिल नेपाल जनसाँस्कृतिक महासंघ र प्रगतिशील साँस्कृतिक समाजको संयुक्त जिल्ला भेलाले दुबै संगठनलाई एकीकृत गर्दै नयाँ समिति बनाएको हो ।
यो संयुक्त भेलामा अनेजसाँ महासंघका केन्द्रीय अध्यक्ष ईश्वरचन्द्र ज्ञवाली प्रमुख अतिथि थिए भने नेकपा (क्रान्तिकारी माओवादी) का केन्द्रिय सदस्य कान्छाराम तामाङ, जिल्ला पार्टी संयोजक सोमान सिंह तामाङ, संयुक्त मोर्चा संयोजक गोपाल घिमिरे, शिक्षक–तामाङ र दलित मोर्चाका संयोजकको समेत सहभागिता थियो ।
कार्यक्रममा बोल्दै महासंघका अध्यक्ष ज्ञवालीले सही विचारले नै सही नेतृत्व निर्माण गर्ने र नेकपा ( क्रान्तिकारी माओवादी) ले लिएको आजको विचार नै सही क्रान्तिकारी विचार रहेको स्पष्ट पारे ।
उनले माओवादी केन्द्र, नयाँ शक्ति पार्टी, विप्लव माओवादीका विचारहरु सर्वहारा वर्गको भन्दा मध्यम वर्गको र दलाल पुँजीपति वर्गको पक्षमा रहेको उल्लेख गरे ।
नयाँ जनवादी क्रान्तिविना सामन्तवादी सत्ता र भारतीय विस्तारवादको उत्पीडनबाट जनताले मुक्ति नपाउने हुँदा जनवादी क्रान्ति पूरा भएको भन्नु भ्रम मात्र रहेको उनको भनाई थियो ।
कार्यक्रममा केन्द्रिय सदस्य कान्छाराम तामाङले संशोधनवादी र नवसंशोधनवादीको चिरफार र भण्डाफोर नगरी सही विचार स्थापित नहुने हुँदा क्रान्तिबाट विचलित प्रचण्ड, बाबुराम, विप्लबहरुको गलत विचारको आलोचना गर्नै पर्ने धारणा राखे ।
२१ सदस्यीय जिल्ला समितिमा अध्यक्ष लामासहित विकास गुरुङ, कान्छाराम थिङ, विशाल योञ्जन, अस्मिता स्याङतान, अञ्जना थिङ, सुस्मिता थिङ, सरिता तामाङ, सीता वज्यु, लास्सा थिङ, देवमायाँ वाइवा, सुमिता थिङ, ऋजन थिङ, पे्रम थिङ, विष्णु रिजाल, सूर्य थिङ, विक्रम गौतम, म्हेन्दो थिङ रहेका छन् ।






























