काठमाडौं — भारतीय राष्ट्रपति प्रणव मुखर्जी नेपालको तीन दिने राजकीय भ्रमण पूरा गरी शुक्रबार साँझ भारत फर्किएका छन्।राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणमा नेपाल भ्रमणमा आएका मुखर्जीलाई राष्ट्रपति भण्डारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा विदाई गरिन्। मुखर्जीको स्वागतका लागि पनि बुधबार राष्ट्रपति भण्डारी विमानस्थल पुगेकी थिइन् ।
भारतीय राष्ट्रपतिलाई विदा गर्न राष्ट्रपति भण्डारीका साथै उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल, उपप्रधानमन्त्री विमेलन्द्र निधि लगायत विमानस्थल पुगेका थिए।
नेपाल बसाइँका क्रममा उनले राष्ट्रपति भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल, संसदमा विपक्षी दलका नेता केपी शर्मा ओली तथा मधेसवादी दलका नेताहरुसँग भेट गरेका थिए।
नेपाल भ्रमणका क्रममा उनले पशुपतिनाथ मन्दिरको दर्शन गर्नुका साथै क्षमापूजा गरेका थिए । भारतीय राष्ट्रपति मुखर्जीले नेपाल भ्रमणको क्रममा पशुपतिनाथको आर्यघाट पुनःनिर्माणको घोषणा गरेका छन् भने जनकपुरमा दुई धर्मशाला बनाइदिने तथा सन् २०१७ देखि भारतको प्रतिष्ठित इन्डियन इन्स्टिच्यूट अफ टेक्नोलोजीको प्रवेश परीक्षा केन्द्र हुने उनले घोषणा गरे।
नेपाल भ्रमणको अन्तिम दिन शुक्रबार मुखर्जीले पोखरा र जनकपुरको भ्रमण गरेका थिए। मुखर्जीलाई नेपाल आउँदै गर्दा विमानस्थलमा कालोझण्डा देखाएर विरोध प्रदर्शन भएको थियो भने फर्किने दिन पनि पोखरामा कालोझण्डाले स्वागत गरिएको थियो । मुखर्जीको विरोधमा विप्लव माओवादीले पोखरामा शुक्रबार बेलुनमा कालोझण्डा बाँधेर उडाएका थिए ।