काठमाडौं । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको नेपाल भ्रमणको समाचार संकलनमा गएका पत्रकारलाई पक्राउ गर्नुका साथै धरपकड गरेको भन्दै नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ ।
भारतीय राष्ट्रपति प्रणव मुखर्जीको तीन दिने नेपाल भ्रमणको समाचार संकलनमा खटिएका संचारकर्मीहरुमाथि प्रहरी प्रशासनले गरेको धरपकड गरेको भन्दै महासंघले आपत्ति जनाएको हो ।
महासंघका महासचिव उजिर मगरले विज्ञप्ति जारी गर्दै सञ्चारकर्मीहरुलाई गरिएको धरपकड र पक्राउ प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको हनन् भएको भन्दै घटनाको घोर निन्दा गरेका छन् ।
समाचार संलकनमा क्रममा पत्रकारहरु लोकराज जैसी, रामचन्द्र खड्का र मोहन बास्तोलालाई बुधबार प्रहरीले पक्राउ गरेको थियो । महासंघ काठमाडौं शाखाका केन्द्रीय सभासद् तथा मेट्रो अनलाइन र युनिटी भ्वाइस मासिकका सम्पादक खड्कालाई प्रहरीले पक्राउ गरी महानगरीय प्रहरी प्रभाग टेकुमा राखेको छ ।
बास्तोला र जैसीलाई झण्डै आठ घण्टा थुनामा राखेर बुधबार साँझ छाडेको थियो । जैसी क्रान्तिकारी पत्रकार महासंघका केन्द्रीय कार्यालय सदस्य तथा थारुवान राज्य समितिका संयोजक हुन् । उनी खबरडबली डटकममा कार्यरत छन् । जैसीले आफूसँग रहेका पत्रकार परिचय पत्र देखाउँदा देखाउँदै पनि अभद्र ब्यवहार गरी थुनामा राखेको बताए ।





























