मारुती भ्यान र मोटरसाइकल ठोक्किदा २ को मृत्यु

मारुती भ्यान र मोटरसाइकल ठोक्किदा २ को मृत्यु

उर्लाबारी । मोरङको इटहरामा मारुती भ्यान र मोटरसाइकल एक आपसमा ठक्कर खाएर भएको दुर्घटनामा दुई युवकको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।

उर्लाबारी–बरडंगा सडकखण्डमा साँझ इटहरा–४ स्थित इटहराबजारमा विराटनगरतिर जाँदै गरेको को १ च ५५६९ नंको भ्यानले आमबारीबाट उर्लाबारीतिर आउँदै गरेको को ७ प ५७०८ नंको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

भ्यानको ठक्करबाट मोटरसाइकलमा सवार चालक इटहरा–२ का १८ वर्षीय किलिन्द विष्ट र पछाडि सवार सोही ठाउँका २६ वर्षीय राजु थापाको मृत्यु भएको हो ।

मोटरसाइकलको पछाडि बसेका इटहरा–२ कै २१ वर्षीय प्रकाश राईको गम्भीर अवस्थामा विराटनगरस्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ ।