दुर्घटनामा एकको मृत्यु, दुई घाइते, दत्तात्रय संग्रहालयमा आगलागी

दुर्घटनामा एकको मृत्यु, दुई घाइते, दत्तात्रय संग्रहालयमा आगलागी

accidentभक्तपुर । भक्तपुरको च्यामासिंहमा मोटरसाइकलले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

बा ४७ प ५८११ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्री नाला–२ काभ्रेका २१ वर्षीय रुपेश थापाको मृत्यु भएको छ ।

घाइते थापाको मध्यपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक किरण बज्राचार्यले जानकारी दिए ।

सोही मोटरसाइकलले अर्का पैदलयात्रीलाई ठक्कर दिँदा काभ्रेकै २३ वर्षीया विन्दु तामाङ र मोटरसाइकलमा सवार भक्तपुर नगरपालिका–१४ नासमना बस्ने १९ वर्षीय सविन खेताला घाइते भएका छन् । घाइते दुवैको मध्यपुर अस्पतालमा उपचार भइरहेको छ ।

मोटरसाइकल चालक भक्तपुर नगरपालिका–२ लिवाली बस्ने वर्ष १९ को निसान गाईजूलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यसैगरि दिपावली मनाउने क्रममा राती दत्तात्रय मन्दिरसंगै रहेको दत्तात्रय संग्रहालयमा आगलागी भएको छ ।

दिपावलीको दियो तातेर झ्यालको चौकोसबाट आगलागी सुरु भएको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरी उपरीक्षक बज्राचार्यले जानकारी दिए ।