काठमाडौं । प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरुले सहमतिका साथ अघि बढ्ने प्रतिवद्धता जनाएका छन् । सरकारको नेतृत्व आफ्नो हातबाट फुत्किएपछि कांग्रेस–माओवादी केन्द्रको सत्तोसराप गरेका एमाले अध्यक्ष केपी शर्मा ओली अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्की हटाउनेबारेमा माकेको साथमा उभिएका छन् ।
लामो समयपछि संसदका प्रमुख तीन दलका शीर्ष नेताहरु बुधबार बालुवाटारमा भेट भइ सहमतिमा हिड्ने प्रतिवद्धता जनाएका छन् । कार्कीविरुद्धको महाभियोग प्रस्ताव, संविधान संशोधन तथा निर्वाचनका विषयमा हामी तीन नेता एक भएपछि कसैले केही नलाग्ने भन्दै उनीहरुले छलफल गरेका छन् ।
शीर्ष तहको सम्वाद जारी राख्दै संविधान संशोधन, संविधान कार्यान्वयन, महाअभियोग लगायतका विषयमा सहमतिका आधारमा अन्तिम टुङ्गोमा पुग्ने गरी सकारात्मक छलफल भएको नेताहरुले बताएका छन् । अख्तियार प्रमुख कार्कीविरुद्धको प्रस्तावमा भने तीन शीर्ष नेताको छलफल अनिर्णित भएको छ ।
अख्तियार प्रमुख कार्कीले एमाले नेताहरुको भ्रष्टाचार फाइल खोल्ने संकेत पाएपछि एमाले अध्यक्ष ओली सत्तारुढ दलसँग मिलेर कार्की हटाउने अभियानमा लागेका हुन् । अन्य दलहरु तथा आम नागरिकको विरोधका बाबजुद पनि जनआन्दोलनका दोषी ठहर भएका कार्कीलाई यीनै प्रमुख तीन दलका शीर्ष नेताहरुले अख्तियार प्रमुख बनाएका थिए ।
आफूले नियुक्त गरेका ब्यक्तिलाई आफूहरुलाई कारबाहीको फाइल खोलेपछि ब्यवस्थापिका संसदको ठूला तीन दल सँगै काँध जोडेर हिड्ने भएका छन् । कांग्रेस–माके गठबन्धनको सरकार बनेपछि दुई किनार जस्तै देखिएका दलहरु एक ठाउँमा उभिएका छन् ।
अख्तियार प्रमुख कार्कीले अख्तियारकै दुरुपयोग गरेको आम नागरिकले नै आरोप लगाए पनि नेताहरुको जवाफ खोजेका छन् । कांग्रेसका तत्कालिन सभापति सुशील कोइराला, एमालेका पूर्व अध्यक्ष झलनाथ खनाल र तत्कालिन एमाओवादी अध्यक्ष दाहालले नै जनमत विपरित कार्कीलाई नियुक्त गरेका थिए ।
लोकमान प्रकरणमा कुनै निर्णय नगरेको नेपाली कांग्रेस केन्द्रीय समितिको बैठकले पनि महाभियोग प्रस्तावबारे कुनै निर्णय लिन सकेको छैन । कार्की प्रकरणको बहस चुलिँदै जाँदा कांग्रेस सभापति देउवा कात्तिक १९ गते भारत भ्रमणमा जाने तयारी गरेका छन् ।