आज विश्व कुनै न कुनै प्रकारको आतंकवादको छायाँमा पर्दै आएको छ । विश्वमा यतिबेला मुख्यतः वैधानिक आतंकवाद र त्यसविरुद्धको प्रतिआतंकवादबीचको संघर्षमा संसारका करोडौं मानिसहरु पिसोलिएका छन् । यतिबेला इराकको राजधानी बगदादपछिको दोस्रो ठूलो सहर मोसुललाई आफ्नो नियन्त्रणमा लिन इराकी सेनाले कारबाही तिव्र पारेको छ ।
सन् २०१४ देखि नै चरमपन्थी संगठन आईएसको नियन्त्रणमा रहेको मोसुललाई नियन्त्रणमा लिन कस्सिएको इराकी सेना नजिकैको काराकोशसम्म पुगेको छ । बाहिरी रुपमा आईएसविरुद्ध यतिबेला इराक र अमेरिकी सैनिक परिचालित भएको देखिएपनि यो लडाईमा विश्वका ५ दर्जनभन्दा बढी राष्ट्रहरु कुनै न कुनै रुपमा आईएसविरुद्धको लडाईमा होमिएका छन् ।
पत्रकारको हत्या, फ्रान्स, जर्मनी, बेल्जियम, टर्कीलगायतका देशमा ठूलो हताहती हुनेगरी गरेको आक्रमण, नियन्त्रणमा लिएका बन्दीहरुको चरम यातनापछि हत्या, इराक र सिरियाको ठूलो क्षेत्रमा महिलाहरुलाई यौन दासको रुपमा प्रयोगलगायतका गतिविधिले आईएसविरुद्ध आक्रमणको वातावरण बनायो ।
कुनै सयम अमेरिकाका लागि प्रमुख दुस्मन थिए, अलकायदा प्रमुख ओसामा बिन लादेन । उनको २ मे, २०११ मा सफाया गरेपछि अमेरिकाले आनन्द महसुस गरेको थियो । तर, त्यसको केही वर्ष पनि बित्न नपाउँदै इस्लामिक स्टेट अफ इराक एण्ड अल शाम (सिरिया) अर्थात आईएसआईएस अमेरिकाका लागि त्यो भन्दा पनि खतरनाक बनेर निस्कियो ।
आईएसका नेता इब्राहिम अवाद इब्राहिम अल बद्री अर्थात अबु बकर अल बगदादी तिनै व्यक्ति हुन् जसलाई अमेरिकाले सन् २००४ को फेब्रुअरीदेखि डिसेम्बरसम्म अमेरिकाले हिरासतमा राखेर सामान्य मान्छे सम्झेर रिहा गरिदिएको थियो । आईएसभित्र खलिफा इब्राहिमका नामले परिचित बग्दादी वर्तमान विश्वमा सबैभन्दा धनी, शक्तिशाली क्रुर चरमपन्थी संगठनको नेतृत्व गरिरहेका छन् ।
आईएसले सन् २०१४ मा इराक र सिरियाको ठूलो क्षेत्रलाई आफ्नो कब्जामा लिएर हिंसात्मक गतिविधिसहित आफ्ना क्रियाकलापलाई अघि बढायो । आईएसले सुरुमा इराक र सिरियामा गरेका हिंसात्मक गतिविधिले विश्वको ध्यान आफूतिर तान्न सफल भयो । तर उसको आन्तरिक रणनीति भने इराक र सिरियामा पश्चिमाको ध्यान केन्द्रित गरी विश्वका अन्य मुस्लिम देशमा आफ्नो गतिविधि बढाउनु थियो, जसमा आईएस सफल भयो ।
सन् २०१५ मा नै अमेरिकास्थित ‘इन्सिटच्युसन फर दी स्टडी अफ वार’ (आइएसडब्ल्यु) का तर्फबाट हर्लिन ग्याम्भिरले ‘आइएसआइको विश्व रणनीति : एक युद्धखेल’ नामक प्रतिवेदन तयार पार्दै आईएसको प्रभाव विश्वव्यापीरुपमा बढिरहेकाले अमेरिकाले उसविरुद्धको लडाइँको रुप बदल्नुपर्ने सुझाव दिएकी थिइन् ।
हर्लिनले त्यसबेला नै सिरिया र इराकमा अमेरिकाको ध्यान तानेर आईएसले अन्य देशमा प्रभाव बढाइरहेको निश्कर्ष निकालेको केही महिनापछि नै आईएसले फ्रान्सको पेरिसमा आक्रमण गरेपछि उसको प्रभाव युरोपमा फैलिसकेको प्रमाणित भयो । अमेरिका तथा संयुक्त सेनाले इराक र सिरियामा कारबाही सुरु गरेपछि उनको निशाना युरोप र अमेरिका हुन पुग्यो ।
आईएसले पछिल्ला दुई वर्षमा एसिया, युरोप र अमेरिकाका दर्जनौं स्थानमा घातक हमला गरिसकेको छ । सन् २०१४ को जुन महिनादेखि मात्रै बाहिरी चर्चामा आएको आईएसले अहिले दर्जनौ देशमा आफ्नो सञ्जाल विस्तार गरिसकेको छ । आफ्ना गतिविधिलाई तिब्र रुपमा पश्चिमा शक्तिविरुद्ध केन्द्रित गर्न थालेपछि संसारभरी नै आईएस के हो र यसको नेतृत्व कसले गरिरहेको छ भन्ने बारेमा चासो बढेर गएको हो ।
तालिबान, अलकायदा, आईएस, बोको हराम, अल नुसरा फ्रन्टलगायत थुप्रै इस्लामिक चरमपन्थी संगठन यतिबेला आफ्ना हिंसात्मक गतिविधिमा सक्रिय छन् । अफगानिस्तानमा तालिबान शासन ढलिसकेको छ । लादेनको हत्यापछि अलकायदा त्यतिधेरै प्रभावकारी देखिएको छैन । तर, कुनै समय अलकायदामै रहेको अबु बकर अल बगदादीको आईएस भने यतिबेला ठूलो चुनौती बनेर खडा भएको छ । सेप्टेम्बर ११ मा अमेरिकाको ट्विन टावर र पेन्टागनमा आक्रमण गर्दा अमेरिका जति असुरक्षित थियो र उसका अघि चुनौती मडारिएको देखिएको थियो । आज त्यो भन्दा बढी चुनौती उसका सामुन्ने छ ।
को हुन बगदादी ?
आईएस प्रमुख अबु बकर अल बगदादीको अनुहार कस्तो छ भन्ने लामो समय सार्वजनिक भएन । सन् २०११ सम्म लिखित भाषण सार्वजनिक हुने उनको सन् २०१३ मा अडियो सन्देश बाहिर आएको थियो । खलिफा इब्राहिमका नामले आईएस समर्थकले चिन्ने बगदादीलाई पैगम्बर महम्मदका बंशजका रुपमा उनका समर्थकले लिने गर्छन । आइएसका प्रमुख बगदादीले इराकको बगदादस्थित सद्दाम इस्लामिक विश्वविद्यालयबाट इस्लामी संस्कृति, इतिहास, सरिया र न्यायशास्त्रमा विद्यावारिधि गरेका छन् ।
सुरुमा उनले मस्जिदमा धार्मिक शिक्षा दिने काम गर्दथे । ओसामा बिन लादेन भन्दा बढी शिक्षित भएका कारण पनि उनलाई उसका समर्थकले लादेनभन्दा बढी सम्मान गर्छन । सन् २००३ मा अमेरिकाले इराकमा रासायनिक हतियार रहेको भन्दै सद्दाम हुसेनको सत्तामाथि धावा बोलेपछि बगदादीले आफ्ना समर्थक र सहयोगीसहित जैस अहल अल सुन्नाह वा–अल जमात (जेजेएएसजे) गठन गरेका थिए । उनी सन् २००४ मा अमेरिकी सैनिकको हिरासतमा समेत परेका थिए । तर उनलाई अमेरिकी सेनाले करिब ११ महिना हिरासतमा राखेर रिहा गरेको थियो ।
सुरुमा बगदादमा सक्रिय रहेको उनको यो समूहको नाम सन् २००६ मा परिवर्तन गरेर मजलिस सुरा अल–मुजाहिद्दिन राखे र यसले अल कायदासँग बफादार रहने कसम खादै अलकायदामा मिसियो । त्यसपछि पुनः यसको नाम परिवर्तन गरेर इस्लामिक स्टेट अफ इराक एण्ड अल शाम (सिरिया) अर्थात आईएसआईएस बनाइयो । बगदादी यसका सर्वोच्च सल्लाहकार परिषदमा चयन भए ।
यसका प्रमुख नेता अब अमर अल बगदादीको सन् २०१० अप्रिलमा मृत्यु भएपछि उनी आईएसको प्रमुख बनेका हुन् । इराक र सिरियाको ठूलो क्षेत्रलाई आफ्नो नियन्त्रणमा लिन सफल भएका उनको पटक पटक अमेरिकी आक्रमणमा मारिएको समाचार बाहिर आउने गर्दथ्यो । तर, उनी अझै पनि इराक र सिरियाका विभिन्न क्षेत्रमा घुमेर रहने गरेका छन् ।
के हो आईएस ?
इस्लामिक स्टेट (आईएस) सन् २०१४ मा औपचारिक रुपमा निर्माण भएको जिहादी सुन्नी सैन्य समूह हो । इराक र सिरियाको ठूलो क्षेत्रलाई नियन्त्रणमा लिएको यो समूहको नाम अरबी भाषामा ‘अल दौलदुल इस्लामिया फिल इराक वल शाम’ अर्थात इराक र शामको इस्लामी राज्य भन्ने हुन्छ । शाम सिरियाको प्राचीन नाम हो । आईएसआईएस नामबाट यस संगठनको गठन सन् २०१३ मा भएको थियो ।
कुनै समयमा अलकायदामा मिसिएको यो संगठन हाल छुट्टै चरमपन्थी संगठनको रुपमा रहेको छ र यो अलकायदा भन्दा बलियो र क्रुर संगठन मानिन्छ । अबु बकर अल बगदादी नेतृत्वमा आएदेखि नै आईएसले अलकायदाबाट अलग रुपमा आफूलाई राख्दै आएको छ । संसारको सबैभन्दा धनी आतंकवादी संगठन मानिने आईएसको घोषित लक्ष्य विश्वका अधिकांश मुस्लिम क्षेत्रमा आफ्नो सिधा राजनीतिक नियन्त्रण कायम गर्नु हो ।
२९ जुन २०१४ मा बगदादीले यसको नाम औपचारिक रुपमा इस्लामिक स्टेट राखेका हुन् । छोटकरीमा यसलाई आईएस वा आईएसआईका नामले चिनिन्छ । यसको एउटै उद्देश्य भनेको मुस्लिमहरुको अलग्गै इस्लामिक राज्य घोषणा गर्नु हो । सोही अनुसार उनीहरुले पश्चिमी प्रजातन्त्रलाई अमान्य भन्दै समग्र अरबलाई पश्चिमी प्रभावबाट मुक्त गराउन भन्दै हिंसात्मक क्रियाकलाप गर्दै आइरहेका छन् । अन्तराष्ट्रिय सीमा रेखा नमान्ने घोषणा गर्दै उनीहरुले इराक र सिरियाको ठूलो क्षेत्रलाई एक ठाउँमा राखेर इस्लामिक राज्यको घोषणा गरेका हुन् ।
को को गए आईएसमा ?
सन् २००३ मा अमेरिकाले इराकमाथि आक्रमण गरी सद्दाम हुसेनको शासनलाई तहस नहस पा¥यो । त्यस आक्रमणमा थुप्रै इराकी सैनिक मारिए । सद्दामको रक्षाका लागि इराकी सेना अन्तिम समयसम्म पनि प्रयत्नशील रहेको थियो । सद्दामलाई आफ्नो शासनको अन्त्यपछि सैनिकहरुलाई अब आफूलाई छाडेर जान निर्देशन दिएपनि सद्दामप्रति बफादार सेनाले अन्तिम सयमसम्म नै साथ दिइरहे । इराक आक्रमणको समय नै आईएसको सुरुवाती चरण हो ।
आईएसको नेतृत्वमा पनि हाल मुख्य गरी दुई प्रकारका मानिसहरु छन् । ति हुन्, पहिलो सन् २००३ मा अमेरिकाविरुद्ध लडाई लडेका मुजाहिद्दिन । अफगानिस्तानको पर्वतीय क्षेत्रमा तालिम लिएका उनीहरुले इराक आक्रमणको समयमा अमेरिका विरुद्ध लड्नका लागि हजारौं टन हतियार जुटाएका थिए
दोस्रो, आइएसको नेतृत्वमा पुग्ने ती व्यक्तिहरु छन्, जो सद्दामको बाथ पार्टीमा थिए । ठूला हतियार चलाउन पोख्त र युद्धकलामा निपूर्ण सद्दामका अधिकारीहरु अहिले आईएसमा सामेल छन् । लामो संघर्षका क्रममा आईएसले सन् २००८ देखि २०११ को बिचमा थुप्रै सद्दामका सैनिक अधिकारीहरुलाई आफ्नो प्रभावमा ल्याउन सफल भएपछि उसले सन् २०१० देखि नै गुरिल्ला युद्ध र सन् २०१३ देखि नियमित सेनाको विकास गर्न सफल भयो ।
इराकका बगदादी आईएसको प्रमुख रहेका छन् भने सिरियाली युद्धको नेतृत्व गरिरहेका अबु मुस्लिम अल–तुर्कमानी दोस्रो स्तरका नेता । तुर्कमानी सद्दाम हुसेनका पालामा इराकी सेनाका लेफ्टिनेन्ट कर्णेल तथा विशेष फोर्स कमाण्डर थिए । यस्तै सिरियामा आईएसको नेतृत्व तहमा रहेका डेपुटी कमाण्डर अल–अनबरी पनि इराकी सेनाका पूर्व अधिकारी हुन् । यसरी इराक आक्रमणबाट आईएस जन्मिनमा महत्वपूर्ण मलजल प्राप्त भयो । इराकी सेनाका युद्धकौशल जानेका सैनिक अधिकारी पनि आईएसमा सामेल हुन पुगे ।
जसले गर्दा उसलाई सैनिक कला र नियमित सैनिक खडा गर्नमा ठूलो सहयोग पुग्यो । सूचना प्रवाह तथा प्राविधिक ज्ञानका हिसाबले पनि निकै अघि रहेको आईएसको आफ्ने ‘अमाक’ नामको वेबसाईट सञ्चालनमा छ । आईएसले आइटी ग्रुपको पेन्टागनको वेबसाइट समेत ह्याक गर्नुले उनीहरुको उनीहरु अमेरिकाका लागि आईटीमा समेत चुनौती बन्ने गरेका छन् ।
राजधानी बगदादपछिको दोस्रो ठूलो सहर मोसुललाई उनीहरुले आफ्नो गढक्षेत्रका रुपमा सन् २०१४ देखि नै प्रयोग गर्दै आइरहेका छन् । मोसुलका अस्पतालहरुमा आईएसका घाइते लडाकुको उपचार गरिन्छ भने त्यहाँ अन्य सर्वसाधारण र खासगरी अमेरिकी आक्रमणबाट पीडित बनेकाको निःशुल्क उपचार र अप्रेसन हुने गर्दछ ।
आईएसको कब्जामा रहेको क्षेत्रमा अस्पताल, शिक्षा र सार्वजनिक यातायात निशुल्क छ भने गरिबलाई घर बनाउन रकम वितरण गर्नुका साथै आईएसकै लडाकुहरुले अमेरिकासँगको लडाईमा क्षतिग्रस्त बनेका मानिसका घर समेत मर्मत गरेका रिपोर्टहरुमा देखिन्छ ।
कसले जन्मायो आईएस ?
अमेरिकी राष्ट्रपति निर्वाचनमा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पले आफ्नो चुनाबी प्रचार अभियानका क्रममा वर्तमान राष्ट्रपति बाराक ओबामा र प्रतिस्पर्धी हिलारी क्लिन्टनलाई आईएसको संस्थापक भएको आरोप लगाएका थिए । भलै आईएसको सुरुवात ओबामाको पालमा भएपनि यसका लागि पृष्ठभूमिको निर्माण रिपब्लिकन पार्टीबाटै राष्ट्रपति भएका जर्ज डब्लु बुसकै पालामा भएको मानिन्छ । बुसकै नेतृत्वमा इराक आक्रमण भयो र इराकमा अन्त्यहीन दुःखको सुरुवात पनि ।
इराक, सिरिया र अफगानिस्तानमा समेत अमेरिकी सेनाको आईएससँग पटक पटक भिडन्त हुने गरेको छ । तर, लामो समयदेखि कडा मेहनत गर्दा पनि अमेरिकी सेनाले आईएसको कब्जामा रहेका क्षेत्रलाई फर्काउन सकेको छैन । के संसारबाट आतंकवादको अन्त्य सम्भव छ ? छ भने कहिले र छैन भने किन ? कुनै समय दमनबाट नै जन्मिएको तालिबानले अफगानिस्तानमा शासन चलायो र दमनबाट नै शासनबाट बाहिरियो । यतिमात्र होइन अहिले पनि तालिबानको बिगबिगी कायमै छ ।
खर्बपति बाबुका छोरा ओसामा बिन लादेन मुस्लिम माथिको अपमानकै कारण कट्टरपन्थी मुस्लिम संगठन निर्माणमा लागे । सद्दाम हुसेनको शासनमाथि अमेरिकी आक्रमणबाटै सुरु भएको इस्लामिक स्टेट (आईएस) का कारण संसारमा एउटा अन्त्यहीन हैरानीको सुरुआत भएको छ । के आतंकवादी जन्माउनमा अमेरिका र पश्चिमा शक्तिको हात छैन ? मुस्लिम देख्नेवित्तिकै आतंकवादी देख्ने नजर यसमा जिम्मेवार छैन र ? भारतले मुस्लिम राष्ट्र पाकिस्तानमाथि आतंकवादी राष्ट्रको आरोप लगाउँदै आएको छ र कास्मिरमा स्वतन्त्रता माग्ने मुस्लिम समुदायलाई आतंकवादीको नाममा कारबाही चलाउँदै आएको छ । के यस्तै दमनबाट आतंकवाद जन्मिने होइन ? अहिले हामीले संसारमा जसलाई आतंकवादी देखिरहेका छौं, तिनीहरुबाट सिर्जित आतंकवाद पश्चिमा आतंकवादबाट सिर्जित प्रतिआतंकवादको रुपमा बुझ्न यी प्रमाण काफी छन् ।
कुनै समय सद्दाम हुसेनले पनि अरब एकताको नारा दिएका थिए । तर उनको दुःखद अन्त्य भइसकेको छ । आज इस्लामिक स्टेटले पनि अरब र मुस्लिम एकताको कुरा उठाएको छ । मध्यपूर्वको संकटको फौजी समाधान खोज्ने प्रयत्न नै भएको छ । आज सिरियामा होस् या यमनमा, प्यालेस्टाइन होस् या लेबनानमा । अरब राष्ट्रको संकट समाधानका लागि फौजी रणनीति प्रयोग गरिएका छन् । संकट समाधानका नाममा हुने अमेरिकी तथा पश्चिमा हस्तक्षेपका कारण करोडौं जनताले दुःख पाउनुपर्ने अवस्था सिर्जना भएको छ । लोकतन्त्रको फगत नारामा सबैलाई आतंकवादी देख्ने पश्चिमा दृष्टिकोण आईएस जन्माउनमा कति जिम्मेवार छ र पश्चिमा शक्तिले कहिले सम्म युद्धको व्यापार गर्ने हो, बहस आवश्यक छ ।
के हो समाधान ?
सैनिक हस्तक्षेप कुनै समस्याको समाधान होइन भन्ने कुरा घटनाक्रमबाट पुष्टि हुन्छ । आज अफगानिस्तानमा आक्रमणको १५ वर्ष र इराक आक्रमणको १३ वर्ष सम्म पनि किन शान्ति आउन सकेन ? जसले आफूलाई प्रजातन्त्रको ठूलो हिमायती ठान्दछ किन उसकै कारण युद्ध निम्तिरहेको छ । आज अरब राष्ट्रदेखि दक्षिण एसियासम्म नै लोकतन्त्रका हिमायतीकै कारण यद्ध निम्तिएको छ ।
के उनीहरुको एजेण्डामा सहीछाप लगाउनु लोकतन्त्र हो ? निरंकुशताको अन्त्य गरिएको भनिएको लिबिया र इजिप्टमा खोई लोकतन्त्र, निरंकुशताभित्र जकडिएको भनिएको उत्तर कोरियाभित्र किन हुदैनन् आत्मघाती हमला, इराक र अफगानिस्तानमा कहाँ गयो शान्ति ? के यसले पश्चिमा लोकतन्त्रलाई कुरीकुरी गर्दैन ? वास्तममा संसारका धेरै मानिसले पश्चिमा लोकतन्त्रका कारण जीवन गुमाइसकेका छन् भने लाखौं अझै नारकीय जीवन विताउन बाध्य छन् ।
अन्त्यमा, लोकतन्त्रका नाममा युद्धको व्यापार र अन्य राष्ट्रको आन्तरिक मामिलामा हस्तक्षेपले विश्व अशान्त बनेको छ । विश्वमा जबजब कम्युनिष्ट शासन असफल बन्छ त्यहाँ साम्राज्यवादी एजेण्डा सजिलै घुस्ने गर्छन । रुसमा कम्युनिष्टहरुको पतनककै कारण सोभियन युनियन ढल्न पुग्यो, इराकमा बाथ पार्टीलाई असफल बनाउनकै लागि कुर्दहरुलाई हतियार बाँडियो । आज सिरियामा हतियार बाँडेर अमेरिकाले त्यसकै परीक्षण गरिरहेको छ । पश्चिमा लोकतन्त्रको नारामा राष्ट्रिय आत्मसमर्पणवादीले मुन्टो उठाउँदा तेस्रो विश्वका मुलुकहरु पश्चिमाको प्रयोगशाला बनिरहेका छन् । यसको अन्त्य, आतंकवाद अन्त्यको सुरुआत हो ।