सर्वोच्च शिखर सगरमाथामा सर्वप्रथम पाइला टेक्ने जुन्को तावेईको निधन

सर्वोच्च शिखर सगरमाथामा सर्वप्रथम पाइला टेक्ने जुन्को तावेईको निधन

junko-tebaiकाठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्ने पहिलो महिला जुन्को तावेईको ७७ वर्षको उमेरमा निधन भएको छ ।

जापानको साइतामा क्यान्सर सेन्टरमा उपचार गराइरहेकी उनको बिहीबार निधन भएको हो । उनलाई चार वर्षअघि स्तन क्यान्सर भएको पत्ता लागेको थियो ।

तावेईले सन् १९६२ मा जापानको शोवा महिला विश्व विद्यालयबाट स्नातक गरेपछि आफ्नो आरोहण यात्रा सुरु गरेकी थिइन् । उनी सन् १९७० मा ७ हजार ५ सय ५५ मिटर उचाईको अन्नपूर्ण तेस्रोको सफलतापूर्वक आरोहरण गर्ने पहिलो महिला बनिन् ।

जुन्को तावेईले सन् १९७५ मे १६ मा जापानी सगरमाथा आरोही महिलाको टोलीको उपप्रमुख र यसको आरोहण दलको प्रमुखको रुपमा सगरमाथाको सफल आरोहण गरेकी थिइन् ।

उनले सन् १९९२ सम्ममा संसारका ७ उच्च शिखरको आरोहरण गरिसकेकी उनले सगरमाथा, तान्जानियाको किलिमान्जरो, अलस्कास्थित देनालीलगायत शिखरको सफल आरोहण गरेकी छन् ।

तावेईले सन् २००० मा जापानको क्युशु विश्वविद्यालयबाट स्नातकोत्तर गरेकी थिइन् भने सन् २००७ मा उनलाई पर्वतीय वातारण संरक्षणमा योगदान पु¥याएको भन्दै वातावरण मन्त्रीको अवार्ड प्रदान गरिएको थियो ।

सन् २०१२ मा उनलाई क्यान्सर लागेको पत्ता लागेपनि उनले आरोहणको कामलाई निरन्तरता दिँदै आएकी थिइन् ।

सोही वर्ष उनले जापानको सर्वोच्च शिखर ३ हजार ७ सय ७६ मिटर उचाईको फुजीको सन् २०११ मा जापानको तोहोकु क्षेत्रमा गएको शक्तिशाली भूकम्प र त्यसपछि आएको सुनामीबाट क्षति पुगेका विद्यालयका माध्यमिक तहका विद्यार्थीसँग आरोहण गरेकी थिइन् । उनले पछिल्लो पटक गत जुलाईमा पनि फुजीको आरोहण गरेकी थिइन् ।

तावेईको तीन दिनअघि निधन भएको खबर जापानी माउन्टेनरिङ एसोसिएसन र अल्पाइन क्लबले जानकारी गराएको नेपाल पर्वतारोहण सङ्घ (एनएमए)का अध्यक्ष आङ्छिरिङ शेर्पाले जानकारी दिए ।

नेपाल र नेपालीलाई धेरै माया गर्ने, पर्वतीय पर्यटनमा महत्वपूर्ण भूमिका खेलेकी तावेईको निधनले नेपालको पर्वतीय पर्यटनमा ठूलो क्षति पुगेको उनले बताए ।

त्यसैगरी, जुनको तावेई गत अप्रिल ३० मा काठमाडौँमा भएको मनास्लु र ल्होत्से हिमालको हीरक महोत्सवमा सहभागी हुन जापानी आरोहीको नेतृत्व गर्दै नेपाल आएकी थिइन् ।