काठमाडौं, २२ असोज । अाठ वामघटकले असोज २२ मा एक संयुक्त अपील जारी गर्दै नेपाल सरकारका प्रधानमन्त्री पुष्पकमल दाहालले भारत भ्रमणको क्रममा भदौं ३१ मा जारी गरिएको नेपाल र भारतको संयुक्त विज्ञप्ती राष्ट्रघाती रहेको ठहर गर्दै त्यसका विरुद्ध सडकमा उत्रने घोषणा गरेका छन् ।
नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (मसाल), नेकपा (माले), नेकपा (माक्र्सवादी), नेकपा (माओवादी), राष्ट्रिय जनमोर्चा, नेपाल, राष्ट्रिय जनमोर्चालगायत पार्टीले संयुक्त रुपमा जारी गरिएको अपीलमा वाम घटकको बैठकले गरेका तीन बुँदे निर्णयन्तर्गत यो राष्ट्रिय स्वाधीनतासँग सम्बन्धित विषय भएकोले यसमा सहमत हुने सबैसँग सहकार्य गर्दै यो संघर्षलाई एकतावद्धरुपमा अघि बढाउन प्रयत्न गर्ने, राष्ट्रघात र त्यसका बिरुद्धको संघर्षको आवश्यकताबारे चर्चा गर्दै एउटा संयुक्त पर्चा प्रकाशन र वितरण गर्ने, र आगामी कार्तिक ९ गते दिनको १ बजे सुन्धारामा जम्मा भई बिरोध जुलुस प्रदर्शन र शान्ति बाटिकामा जनसभाको आयोजना गर्ने आदि उल्लेख गरिएको छ ।
स्मरणरहोस् कि क्रान्तिकारी माओवादीको संयुक्त मोर्चा देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालले २० भदौंमा गरेको २५ बुँदे संयुक्त विज्ञप्ती र राष्ट्रघात विषयक अन्तक्र्रियामा नेकपा (क्रान्तिकारी माओवादी)का अध्यक्ष मोहन वैद्य, नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छे, नेकपा (माले)का महासचिव सिपी मैनाली, नेकपा (मसाल)का प्रवक्ता विमल शर्मा, नेकपा (माओवादी)का स्थायी समिति सदस्य धर्मेन्द्र बाँस्तोला, राष्ट्रिय जनमोर्चाका संयोजक साध्यवहादुर भण्डारी लगायतले दाहालले गरेको राष्ट्रघातले नेपाललाई भुटानीकरणतर्फ उन्मुख गराएको भन्दै त्यसका विरुद्ध संयुक्त रुपमा संघर्ष गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।