“हुन त यो दुनियाँ तिम्रो पनि हो, हाम्रो पनि हो तर अन्ततः युवाहरुकै हो किनकि प्रौढ र बुढाहरु भनेका अस्ताउँदा सूर्य हुन् भने युवाहरु उदाउँदा सूर्य हुन् ।” – क.माओ
सर्वहारावर्गका महान् नेता माओत्सेतुङको उल्लेखित भनाइले प्रष्ट पार्छ कि युवाहरुको पार्टी र क्रान्तिमा कति ठूलो महत्व छ भन्ने तथ्य । युवाहरुलाई उदाउँदो सूर्यसँग तुलना गरिएको छ । अँध्यारो रातलाई चिरेर दिन (उज्यालो) जन्माउँछ सूर्य । सूर्य गतिशिल छ, सूर्य नित्य छ । यसको अर्थ क्रान्तिकारी युवाहरु गतिशिल हुन जरुरी छ र त्यसलाई हरक्षण कायम राख्न जरुरी छ । सर्वहारावर्गीय विचार र राजनीतिक हिसाबले युवाहरुले आफ्ना दील दिमाग यति जाज्वल्यमान पार्न जरुरी छ कि त्यसले अन्धकार (सबै गैरसर्वहारावादी सोच, विचार, चिन्तन, प्रवृत्ति)लाई चिरेर प्रकाश छर्न सकोस् । अर्थात् ठोस परिस्थितिको ठोस विश्लेषण गर्दै समाजको आमूल परिवर्तनको दिशामा श्रमजीवि, शोषित–उत्पीडितहरुलाई गोलबन्द पारेर क्रान्तिको प्रक्रियामा लिएर अगाडि बढ्न सकियोस् ।
स्वभावैले युवाहरु गतिशिल हुन्छन्, परिवर्तनशिल हुन्छन् । युवापंक्ति कुनैपनि मुलुकका पहरेदार र समृद्धिका खम्बा हुन् । समाजका चालक शक्ति मात्र होइनन्, आगो खाएर अंगार ओकल्न सक्छन् युवाहरु । भविष्यका इतिहास निर्माता पनि हुन् । समग्रमा भन्नुपर्दा सिंगो मुलुकको भार नै युवा पंक्तिको काँधमा अडेको हुन्छ । त्यसै भएर पनि क.माओले युवा पंक्तिलाई उदाउँदो सूर्यको समेत संज्ञा दिनुभएको । जिउँदो जाग्दो ऊर्जाशील, गतिवान, तन्दुरुस्त र जाज्वल्यमान शक्ति पनि युवापंक्ति नै हो । विश्वका कम्युनिस्ट वा गैर कम्युनिस्ट जस्तासुकै आन्दोलनहरु पनि युवापंक्तिकै धक्का र पहलकदमीमा अघि बढेको र सम्पन्न भएको पाइन्छ । अझ मुख्यतः क्रान्तिकारी युवाहरुकै भूमिका र पहलकदमीमा विश्वका क्रान्ति र आन्दोलनहरु सफल भएको पाइन्छ । जसमा कम्युनिस्ट क्रान्तिका सवाललाई लिंदा क्युबा, भेनेजुयला, लगायत मुलुकहरु पर्दछन् । हरेक नीति, योजना र कार्यक्रमहरुलाई क्रान्तिकारी युवा शक्ति बेगर आमूल परिवर्तन गर्ने कुरा सम्भव नै छैन ।
नेपालको सन्दर्भमा २००७, २०२८, २०३६, २०४६, २०५२ सालमा सञ्चालित महान् जनयुद्ध र २०६२÷०६३ मा भएको जनआन्दोलन विविध संघर्ष र आन्दोलनहरुमा क्रान्तिकारी युवाहरुकै अग्रणी र निर्णायक भूमिका रहेको सुस्पष्ट नै छ । तर विडम्बना विविध आन्दोलन र युद्धहरु अन्ततः सम्झौतावादको रुपान्तरण हुँदै प्रतिक्रान्तिमा बदलिन पुगेको तीतो यथार्थता छ । यतिसम्म कि आम शोषित, उत्पीडित जनताको साथै सिंगो मुलुकको भार थेग्ने युवाहरुको भविष्य निर्माण गर्ने महान् एवम् उदात्त लक्ष्यका साथ सञ्चालित ऐतिहासिक दशवर्षे जनयुद्ध अन्ततः प्रत्याक्रमणको चरणमा पुग्दा समेत क्रान्तिका नायकहरु नै खलनायकमा बदलिएकोले नेपाली क्रान्तिले सेटब्याक खायो भने क्रान्ति प्रतिक्रान्तिमा बदलिन पुग्यो । जसले गर्दा अब नेपाली क्रान्तिकारी युवाहरु नयाँ जनवादी क्रान्ति सम्पन्न गरी समाजवाद हुँदै साम्यवादसम्म पुग्ने लक्ष्यलाई दृढताका साथ पकडेर अघि बढ्नुको विकल्प छैन । समग्र मुलुक र आउँदो पुस्ताको भाग्य र भविष्य निर्माणको निम्ति नवसंशोधनवाद, प्रतिक्रियावाद, वाम रुपमा देखापर्ने दक्षिणपन्थी अवसरवाद लगायत क्रान्ति विरोधी र गलत प्रवृत्तिहरुका विरुद्ध निर्मम ढङ्गले धावा बोल्नुका साथै लड्नुसमेत पर्दछ भने मालेमावादको खास्टो ओढेर क्रान्ति विघटन गर्नेहरुविरुद्ध क्रान्तिकारी युवाहरुको हुँकार गर्दै त्यस्ता क्रान्ति विरोधी प्रवृत्तिहरुलाई ध्वंश र निर्मूल पारी क्रान्तिको मार्ग प्रशस्त गर्नै पर्दछ ।
क्रान्तिकारी युवाहरु सारसंग्रहवाद, अकर्मण्यतावाद, आत्मसमर्पणवाद, संकीर्णतावाद लगायत कुनैपनि प्रकारका माक्र्सवाद विरोधी गतिविधिहरु निर्मम संघर्षमा होमिंदै आम सर्वहारा वर्गलाई क्रान्तिप्रति आशावादी बनाउँदै जस्तासुकै चुनौतीका पर्खालहरुलाई पनि क्रान्तिमा बदल्ने आँट र साहस गर्दै निरन्तर क्रान्तिमा अघि बढ्नुपर्दछ भने आम सर्वहारा वर्गको मुटुको ढुकढुकी बन्नु जरुरी छ । विचार राजनीतिमा स्पष्ट सर्वहारा वर्गप्रति प्रतिवद्ध, पार्टी र क्रान्तिप्रति इमान्दार, सिर्जनशील दुरदृष्टि भएका र क्रान्तिकारी स्पीरिट बोकेका युवापंक्तिले मात्र क्रान्तिको सही नेतृत्व गरी मुलुकलाई आमूल परिवर्तनको दिशामा अगाडि बढाउन सक्छ । त्यसको निम्ति गाउँ, बस्ती, टोल, स्कूल, कलेज, विश्वविद्यालय, प्रतिष्ठानलगायत हरेक क्षेत्रमा रहेका सच्चा देशभक्त, जनगणतन्त्रवादी, वामपन्थी, सामन्तवाद–साम्राज्यवाद विरोधी परिवर्तनकामी जनताको पंक्तिलाई समेत एकतावद्ध गरी उत्साहित बनाउँदै क्रान्तिमा होम्ने पहलकदमी युवापंक्तिले निर्माण गर्नै पर्दछ । विश्व कम्युनिस्ट आन्दोलनसमेत धरासायी बनेको यो अवस्थामा नेकपा (क्रान्तिकारी माओवादी) पार्टी र अध्यक्ष क. मोहन वैद्य ‘किरण’को नेतृत्वमा नेपाली क्रान्तिकारी युवाहरुले नेपालमा क्रान्ति सम्पन्न गर्नको निम्ति अग्रणी भूमिका निर्वाह गरी धारासायी बनेको विश्व कम्युनिस्ट आन्दोलनलाई समेत रक्तसंचार गराउने साहस गर्दै पर्दछ । जसको निम्ति देशी, विदेशी, प्रतिक्रयावादी, साम्राज्यवादी, सामन्तवादी, विस्तारवादीका मतियारहरु दलाल, तस्कर र भ्रष्टहरुलाई नै जरैदेखि पत्तासाफ गर्नुपर्दछ । साम्राज्यवाद र विस्तारवादका दलालहरुलाई घन हानेर धुजाधुजा पारी सर्वहारा वर्गको अधिनायकत्व भएको राज्यसत्ता स्थापना गर्नको निम्ति क्रान्तिकारी युवाहरु अब सिंह बन्ने आँट गर्नै पर्दछ । राज्यसत्ता बाहेक अरु सबै कुरा भ्रम हो भन्ने कुरालाई आत्मसातीकरण गर्दै राज्यसत्ता प्राप्त गर्न बल प्रयोगको सिद्धान्त अपरिहार्य हुन्छ भन्ने मान्यता अनुरुप ७० लाखका हाराहारीमा विदेशीएका नेपाली युवाहरुलाई स्वदेशमा फर्काई आमूल परिवर्तनको निम्ति क्रान्तिमा लामवद्ध गराउने परिस्थिति समेत सिर्जना गराउन सक्नुपर्दछ ।
नयाँ निर्माणको निम्ति पुरानोलाई ध्वंश गरिनुपर्छ भन्ने क.माओको भनाईलाई दह्रोसँग पक्डिदै पुरानो र मक्किएको राज्यसत्तालाई पूर्णरुपमा ध्वंश गर्नका लागि वैचारिक, राजनीतिक, सांगठनिक रुपमा परिपक्व एवम् द्वन्द्वात्मक भौतिकवादको नीतिलाई दह्रोसँग अवलम्बन गर्नसक्ने क्रान्तिकारी स्पीरिटले लैस भएको टिमले मात्र दुनियाँ बदल्ने साहस गर्नसक्दछ । यस्तो टिम मात्र जस्तोसुकै आँधीहुरी तुफानी र ज्वारभाटाका विरुद्ध डटेर सामना गर्ने हैसियत राख्नुको निम्ति क्रान्तिकारी युवाहरु चिनियाँ पर्खाल जस्तै बन्ने आँट गर्नै पर्दछ । नेपाली क्रान्ति सम्पन्न गर्ने अभिभारा क्रान्तिकारी युवाहरुको काँधमा आएको छ । त्यसकारण क्रान्ति सम्पन्न गर्नको निम्ति जस्तोसुकै त्याग र वलिदानी गर्नुपरे तापनि कत्तिपनि विचलित नभई निरन्तर क्रान्तिमा अघि बढ्नु आज क्रान्तिकारी युवाहरुको दायित्व र कर्तव्य बनेको छ । नेपालमा क्रान्ति अपरिहार्य छ र सम्भव पनि छ ।