भक्तपुर । तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरको सानो ठिमीस्थित घरबाट अपरिचित एक व्यक्तिले ब्रिफकेस लुटेर फरार भएको छ ।
ठाकुरकी छोरी ३२ वर्षीया डा मीनाक्षी ठाकुरलाई आक्रमण गरी ब्रिफकेस लुटेर फरार भएको प्रहरीले जनाएको छ ।
गएराति करिब साढे सात बजे मास्क लगाएको अपरिचित व्यक्तिले ठाकुरकी छोरी र काम गर्ने अर्का एक व्यक्ति मात्रै भएको समयमा घरमा प्रवेश गरी दुवैजनामाथि आक्रमण गरी ब्रिफकेस लगेका हुन् ।
घरमा प्रवेश गरी छोरी डा.मीनाक्षीको आँखामा खुर्सानीको धुलो छर्किएका थिए । लुटेराको प्रतिकार गर्ने क्रममा दुई जना नै घाइते भएका छन् ।
हात र टाउकोमा चोट लागेपछि मीनाक्षीको नयाँ बानेश्वरस्थित एभरेस्ट अस्पतालमा उपचार भइरहेको छ । आक्रमणपछि लुटेरा ठाकुरको कोठामा प्रवेश गरि कालो ब्रिफकेस लिएर फरार भएका थिए ।