काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)का अध्यक्ष मोहन वैद्य‘किरण’ले युवाहरु विद्रोही बन्नुपर्ने विचार राखेका छन् । बुधबार क्रान्तिकारी युवा लिगको बन्दसत्रलाई सम्बोधन गर्दै अध्यक्ष किरणले यस्तो विचार राखेका हुन् । उनले युवाहरुले समयमै पार्टीमा हुर्किएको गलत चिन्तन र प्रवृत्तिका विरुद्ध विद्रोह गर्न नसक्दा जनयुद्धले धोका खान पुगेको र जनवादी सत्ताका लागि बनाइएको जनमुक्ति सेनाले प्रतिक्रियावादी सत्ताको सेवा गर्न पुगेको बताए । अध्यक्ष किरणले आफूले विश्वास गरेका र क्रान्तिकारी युवा मानिएकाहरुले धोका दिएको बताएका छन् ।
“साँचो अर्थमा भन्दा धोका त सबैले दिए, बुढाहरुले पनि दिए । तर खासगरी जनमुक्ति सेनामा रहेका युवापंक्ति, वाइसिएलमा रहेको युवापंक्ति र क्रान्तिकारी युवा लिगमा आवद्ध युवाहरुले धोका दिए । उनीहरु पुरानो प्रतिक्रियावादी सत्ता र घोर दक्षिणपन्थी अवसरवादलाई जोगाउने काममा लागे ।” अध्यक्ष किरणले भने, “जनयुद्ध लड्ने बेलामा हामीले जनमुक्ति सेनाबाट धेरै आशा र अपेक्षा गरेका थियौं । तर जनमुक्ति सेनाको नेतृृत्वसहितको ठूलो फोर्स पुरानै प्रतिक्रियावादी सत्ता जोगाउन पुग्यो ।”
ललितपुरको कुपण्डोलमा भएको उक्त भेलामा अध्यक्ष किरणले भावुक हुँदै भने, “बुढेसकालमा तन्नेरीले गर्नुपर्ने काम गर्नुपरेको छ । मैले त उहिल्यै युवाहरु अगाडि आउनुपर्छ भनेर प्रचण्डलाई पार्टीको महामन्त्री बनाएको थिएँ । गल्ती गरिएछ । युवाले पार्टी र क्रान्ति हाँक्छन् भन्दाभन्दै युवाहरुले धोका दिए ।” उनले स्मरण गरे, “जनयुद्धकालमा प्रचण्डले ‘जनमुक्ति सेनाले क्रान्तिकारी धारलाई सघाउनुपर्छ’ भन्दै भाषण गर्थे, त्यो भनेको आफूलाई सघाउनुपर्छ भनेको रहेछ ।”
निकै गम्भीर रुपमा प्रस्तुत भएका अध्यक्ष किरणले जनयुद्धले धोका खानु र प्रतिक्रान्ति हुनुमा जनमुक्ति सेनाको पनि हात रहेको बताए । “जनमुक्ति सेना क्रान्तिकारी हुन सकेन । उसले त धोका दियो नै । प्रचण्डबाट अलग भएपछि जुन युवाहरुमाथि भरोसा गरियो, उनीहरुले पनि धोका दिए ।” उनले भने, “कुरा त क्रान्तिकारी नै गर्थे तर भित्रभित्रै प्रतिक्रियावाद र दक्षिणपन्थी अवसरवादको सेवा गर्दारहेछन् ।”
युवाहरुबाट पटक–पटक धोका खाएका अध्यक्ष किरणले भने, “अब युवाहरुको जुन शक्ति बन्दैछ, यसले फेरि क्रान्तिकारीहरुलाई धोका नदेओस् । युवाहरु गलत प्रवृत्तिका विरुद्ध जुध्नुपर्छ, माओले भनेजस्तै युवाहरु विद्रोही हुनु पर्छ । सहि के हो गलत के हो ? सत्य के हो असत्य के हो ? त्यसलाई छुट्याउन सक्ने सामथ्र्य युवाहरुमा हुनु पर्दछ । जहिल्यै सत्यको पक्षमा उभिनुपर्छ ।” भीषण दुईलाइन संघर्षमा आफूलाई क्रान्तिको पक्षमा उभ्याएका युवाहरुलाई अध्यक्ष किरणले सो अवसरमा धन्यवाद दिन पनि छुटाएनन् ।
अध्यक्ष किरणले आफूहरुले क्रान्तिकारी फोर्स बनाउन चाहेको र त्यस्तो फोर्स मालेमावादी सिद्धान्तलाई स्वीकार गर्ने, पार्टीको नीति, योजना, कार्यक्रमलाई सघाएर जाने, देश र जनतालाई मुक्ति गर्ने, क्रान्तिकारी कार्यदिशाको आधारमा अगाडि बढ्न चाहने र यो सबै कामका निम्ति जुझारु ढंगले अगाडि बढ्ने खालको हुने पनि बताए । उनले क्रान्तिकारी युवा लिगलाई कारखानाको संज्ञा दिंदै पार्टी, सेना र संयुक्त मोर्चाका लागि चाहिने जुझारु नेता कार्यकर्ताहरु यसले उत्पादन गर्र्नुपर्ने बताए । अध्ययन गर्दा देशभित्र र बाहिरको वस्तुगत अवस्था क्रान्तिका निम्ति अनुकूल रहेको तर आत्मगत अवस्था कमजोर रहेकोले अब क्रान्तिको तयारीका लागि क्रान्तिकारी युवाहरुले निकै मिहनेत गर्नुपर्ने बताए ।
सैयौंको संख्यामा देशैभरिबाट आएका युवाहरुको सहभागितमा भएको भेलाको बन्दसत्र अहिले चलिरहेको छ । कमाण्डस्तरीय चारवटा समूह बनाएर संगठनको विधान र प्रतिवेदनमाथि छलफल चलिरहेको र समूहका नेताहरुले छलफलमा उठेका विषयहरु राखेपछि त्यसको संशलेषणसहित विधान प्रतिवेदन पारित गरिसकेपछि नयाँ नेतृत्व चयन गरिने क्रान्तिकारी युवाहरुले बताएका छन् । नयाँ नेतृत्व र कार्यसमिति चयन गरी आजै सम्मेलन सकिने उनीहरुले बताएका छन् ।