युवाहरुलाई माथ गर्ने बुढा कामरेडहरुको जोश !

युवाहरुलाई माथ गर्ने बुढा कामरेडहरुको जोश !

मूल्य र निष्ठाको राजनीति गर्न निकै गाह्रो छ नेपालमा । अवसर र स्वार्थको राजनीति गर्ने मुठ्ठिभर चल्तापुर्जाहरुको लागि भने स्वर्गतुल्य छ । पछिल्लो दशको नेपाली राजनीतिले युवा भनिएका र एक जमानामा क्रान्तिकारी छवि बनाएका मान्छेहरुमा समेत अवसरवादले नराम्ररी डेरा जमाएको देख्न पाइयो । निहीत तुच्छ स्वार्थका पछि युवाहरुलाई पनि नाङ्गै दौडाउन पनि संसदवादी नेताहरु सफल भएको पाइयो ।

revolutionary-maoist-cpgajurel
तर्क गरेर तथ्यलाई बदल्न सकिन्न । क्षणभरका लागि मान्छेहरुमा भ्रमसम्म पैदा गर्न सकिएला । तर तथ्य भनेको तथ्य नै हो । ढिलो चाँडो त्यसलाई सबैले स्वीकार्ने पर्छ । तथ्यको धरातल भएर मात्र जो कोही अगाडि बढ्न सक्छ । निहीत स्वार्थ रक्षालाई केन्द्रविन्दु बनाएर परिस्थितिको व्याख्या विश्लेषण गर्नु आफैमा अवसरवाद हो ।

अवसरवाद कति निच, तुच्छ र घिनलाग्दो हुँदो रहेछ भने त्यसले आफ्नो स्वार्थनुसार छेपारोलेजस्तो रङ बदल्न सक्नेरहेछ । अहिले त्यही छेपारे प्रवृत्तिको निकै जगजगी छ नेपालको राजनीतिमा । केन्द्रदेखि स्थानीय तहसम्म, गाउँदेखि सहरसम्म यस्तै प्रवृत्तिले राजनीतिलाई नै बद्नाम बनाइराखेको छ । राजनीतिलाई राष्ट्रसेवा वा समाजसेवा होइन, कमाइखाने भाँडो बनाउने होडबाजी छ । यही कारण आम मान्छेहरुमा राजनीतिप्रतिको घृणा बढेर गएको छ ।

prashikshan-baidya
संसदीय व्यवस्थाको घिनलाग्दो र कुरुप चेहेरा नै यस्तै हुने रहेछ । त्यसैकारण रहेछ तत्कालीन नेकपा (माओवादी)ले यो.व्यवस्थाको विकल्प खोजेको र वैकल्पिक व्यवस्था स्थापनाका निम्ति दशकलामो सशस्त्र संघर्ष गरेको । तर विडम्बना, दशवर्ष जनयुद्ध लडेको त्यही पार्टीको ठूलो हिस्सा आज संसदीय व्यवस्थाको बफादार र मतियार बन्न पुगेको छ । नाटकीय ढंगले परिस्थितिको गलत ढंगले विश्लेषण गर्दै उनीहरु विगतका आफ्ना प्रतिबद्धता तोडेर, छोडेर अवसरवादी बाटो हिड्न पुगे । र, संसदीय राजनीतिलाई अझ दुषित बनाउने काममा योगदान गर्न पुगे ।

cpn-revolutionary-maoist
जनयुद्धमा हजारौं जनयोद्धाहरुले जनवादी व्यवस्थाको स्थापनाको सपना बोकेर गरेको त्याग, तपस्या र बलिदानको जगमा स्थापित बनेका अधिकांश नेता कार्यकर्ताहरु यसरी ‘खसीको टाउको राखेर कुकुरको मासु बेच्ने थलो’का वरिपरि गोलचक्कर मार्दै गर्दा उमेरले सात दशक पार गरेका र पाँच दशकभन्दा बढी नेपालमा नयाँ जनवादी व्यवस्था स्थापना गर्ने आन्दोलन, क्रान्ति वा संघर्षमा जीवन गुजारिसकेका वयोवृद्ध नेताद्वय मोहन वैद्य‘किरण’ र सिपी गजुरेल‘गौरव’ भने युवाहरुलाई माथ गर्ने जोश बोकेर नयाँ जनवादी क्रान्ति स्थापनाको उद्देश्यमा अगाडि बढिरहेका छन् र आफैले हुर्काए बढाएका नेता कार्यकर्ताहरुको भिडले सिंहदरबार र बालुवाटारका ढोका चाहारिरहँदा यी नेताद्वय भने नयाँ ढंगको क्रान्तिकारी पार्टी निर्माणका लागि देशव्यापी दौडधूपमा व्यस्त छन् ।

नयाँ जनवादी व्यवस्था स्थापित नभएसम्म आम शोषित–उत्पीडित जनता अधिकारसम्पन्न हुन सक्दैनन् । विद्यमान प्रतिक्रियावादी व्यवस्था बदल्नका निम्ति फेरि पनि क्रान्तिको आवश्यकता पर्दछ । क्रान्तिका निम्ति तीन जादुगरी हतियारको आवश्यकता पर्दछ– क्रान्तिकारी पार्टी, जनसेना र संयुक्त मोर्चा । अहिले यिनै तीन जादुगरी हतियारको निर्माणमा अहोरात्र खटिरहेका छन्– कमरेड किरण र कमरेड गौरव ।

revolutionary-maoist-leaders
प्रचण्ड, बाबुराम र विप्लवसम्मले यी दुई कमरेडलाई जड्सुत्रवादीको आरोप लगाउछन् । तर पुरानो ढंगले हुँदैन, क्रान्ति नयाँ ढंगले गर्नुपर्छ भन्दै उनीहरु माक्र्सवाद–लेनिनवाद–माओवादी विचार र दर्शनबाट च्यूत हुँदै पुँजीवादी कित्तामा पुगेका छन् । हिजो आफैले गरेका संश्लेषण र विश्लेषणका विरुद्ध उनीहरु खडा भएका छन् । ‘माओवादी’ साइनबोर्ड विस्तारै प्रचण्ड र विप्लवहरुले पनि बाबुरामले जस्तै हटाए भने आश्चर्य नमान्दा पनि हुने भो । बडो घाँडो भइरहेको छ यो माओवादी उनीहरुलाई । आफ्ना अवसरवादी र स्वार्थी महत्वकांक्षा पुरा गर्न यही माओवादी लोगो बाधक बनिरहेको उनीहरुले भित्रभित्रै अनभूति गरिरहेको आभाष हुन्छ ।

कमरेड विप्लवबारे धेरैमा भ्रम छ । आग्रही र पूर्वाग्रही ढंगले उनको विश्लेषण गर्नेभन्दा पनि उनले लिएका नीति, अहिलेसम्म गरेको अभ्यास र देखिएका प्रवृत्तिहरुलाई आधार मानेर विश्लेषण गर्ने हो भने विप्लव दोस्रो प्रचण्ड बन्ने दौडमा छन् । उनको घोषित नीति छ– सत्ता साझेदरीको । उनी सर्वहारावर्गलाई होइन, मध्यमवर्गलाई क्रान्तिको आधारभूत शक्ति मान्छन् । उनको निष्कर्ष छ– माक्र्सवाद–लेनिनवाद–माओवाद पुरानो भइसक्यो । यस आधारमा भन्न सकिन्छ उनले अहिले जे गरिरहेका छन्, ती सबै सत्ता वार्गेनिङका लागि गरिरहेका छन् । उनले लगाएको जनवादी क्रान्तिको नाराको भ्रममा उनका कार्यकर्ताले कतिसम्म साथ दिने हुन्, आगामी दिनमा देखिदै जाला ।

जे हो, त्यही हो माक्र्सवाद । आजको दिनमा हेर्दा किरण र गौरवहरुले जे भनेका छन् त्यो इमान्दारितापूर्वक भनेका छन् । जुन विचार, सिद्धान्त, उद्देश्य बोकेर जनयुद्धको सुरुवात गरिएको थियो, त्यही जगलाई सेटमा पुनस्र्थापित गर्न उनीहरु लागिरहेका छन् । आजसम्मका अनुभवहरुलाई समेट्दै फाल्गुनमा गर्ने राष्ट्रिय सम्मेलनबाट पार्टीको कार्यदिशा (नेपाली विशेषतामा आधारित सशस्त्र संघर्ष)लाई समृद्ध पार्ने योजनामा जुटेका छन् । किरणले नेतृत्व गरेको नेकपा (क्रान्तिकारी माओवादी) नै नेपाली राजनीतिमा क्रान्तिकारी धारको नेतृत्व गर्ने पार्टी हो । यो तथ्य क्रान्तिकारी नेता कार्यकर्ताहरुले भन्दा चाँडो देशी विदेशी प्रतिक्रियावादी शासकहरुले बुझे । त्यसैले यो पार्टीको अस्थित्वलाई नै नामेट पार्न भरमग्दुर कोशिस गरियो । तर सकेनन् । यो तथ्य प्रचण्ड, बाबुराम, विप्लव र बादलसम्मलाई राम्रोसँग थाहा छ । तर उनीहरुका लागि प्रतिक्रियावादीहरु भनेका कागजी बाघ होइन्, वास्तविक बाघ भएका छन् । र, उनीहरु प्रतिक्रियावादी वर्गसँगको फरक–फरक सम्झौतामा फसेका छन् ।

जे होस् चरम निराशाबीच आशाको दीयो जगाउने काम गरिरहेका छन्– किरण–गौरवहरुले । आम क्रान्तिकारीहरुका लागि यो गर्व गर्न लायक विषय हो । ‘सानो ठूलो हुन्छ, ठूलो सानो हुन्छ’ राजनीति तथा क्रान्तिको यात्रामा उनीहरुसँग ठूलो र सानो पार्टी दुवैको अनुभव छ । सानो र कमजोर भनेर हेप्नेहरुलाई उनीहरुले मुखतोड जवाफ दिन ठूलो र शक्तिशाली पार्टी बनाउने अभियानमा साँच्चै युवाहरुलाई माथ गर्ने जोशका साथ लागि रहेका छन् । आफूलाई कम्युनिष्ट र क्रान्तिकारी भन्नेहरुले यी नेताहरुबाट सिक्न लायक कुराहरु धेरै छन् ।