यसरी पुनर्जागृत हुँदछ क्रान्तिकारी माओवादी

यसरी पुनर्जागृत हुँदछ क्रान्तिकारी माओवादी

काठमाडौं । राष्ट्रिय भेलादेखि पार्टीको क्षेत्रीय व्यूरोको प्रशिक्षण कार्यक्रमसम्म आइपुग्दा नेकपा (क्रान्तिकारी माओवादी)मा उल्लेखनीय पुनर्जागरण पैदा भएको छ । पार्टीभित्र विचार र राजनीतिको क्षेत्रमा पार्टी कार्यकर्तामा रहेको भ्रम चिर्न यतिखेर नेकपा (क्रान्तिकारी माओवादी) देशभर वैचारिक–राजनीतिक प्रशिक्षणमा जुटेको छ । जिल्लाका अगुवा कार्यकर्तासम्मलाई कमाण्ड(क्षेत्रीय व्यूरो)स्तरमा जम्मा पारेर उसले वैचारिक तथा राजनीतिक विषयमा प्रशिक्षण दिइरहेको छ । प्रशिक्षण कार्यक्रमले देशैभर पार्टीका नेता कार्यकर्तामा उत्साह ल्याएको नेताहरुले बताएका छन् । साउन ३० बाट सुरु गरेको कमाण्डस्तरीय प्रशिक्षण भदौं १० मा सम्पन्न हुने क्रान्तिकारी माओवादीको केन्द्रीय कार्यालयले जनाएको छ ।

cpn-maoist
मध्य कमाण्डबाट सुरु सुदूरमश्चिममा अन्त
    साउन ३० गते मध्यकमाण्डस्तरीय प्रशिक्षण ललितपुरको कुपण्डोल पार्टी कार्यालयमा सम्पन्न भयो । सो प्रशिक्षण कार्यक्रममा यस कमाण्डन्तर्गतका भोजपुरा, ताम्सालीङ र नेवा राज्यका नेता कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको थियो । करिब पाँच सयको संख्यामा उपस्थित रहेका नेता कार्यकर्ताहरुले प्रशिक्षणपछि वर्गदृष्टि साप्ताहिकसँग कुरा गर्दै प्रशिक्षणले आफूहरुलाई उत्साहित बन्न प्रेरित गरेको जनाएका थिए ।

    भदौं १ गते पूर्वी कमाण्डको प्रशिक्षण सुनसरीको इटहरीमा सम्पन्न गरियो । यस कमाण्ड अन्तर्गत पर्ने मिथिला, किरात, कोचिला र लिम्बुवानका नेताकार्यकर्ताहरुले यस प्रशिक्षणमा भाग लिएका थिए । करिब ६ सय नेता कार्यकर्ताहरुले उक्त प्रशिक्षण लिएको कोचिला राज्यमा कार्यरत क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य मनोज श्रेष्ठले वर्गदृष्टिलाई बताए । उनका अनुसार कार्यक्रम भव्यतापूर्वक सम्पन्न भयो ।

    भदौ ८ मा पश्चिमाञ्चल कमाण्डको बुटबलमा प्रशिक्षण सम्पन्न गरिदैछ । अवध, तमुवान र मगरात राज्यका नेता कार्यकर्ताहरुले यस प्रशिक्षणमा भाग लिनेछन् भने भदौं १० मा बाँकेको नेपालगञ्जमा हुने सुदुरपश्चिम कमाण्डस्तरीय प्रशिक्षणमा थारुवान, सेती महाकाली र भेरी कर्णालीका नेता कार्यकर्ताहरुले भाग लिनेछन् । प्रशिक्षणका लागि आवश्यक पर्ने सबै तयारी सम्पन्न भइसकेको सम्बन्धित राज्य पार्टीका नेताहरुले जनाएका छन् ।

जबस–मोर्चाहरुका भेला सम्मेलनहरु
    निकै लामो समयदेखि भेला सम्मेलन गर्न नसकेका मोर्चा र जबसहरुको भेला र सम्मेलन यसबीचमा सम्पन्न गरिएको छ । पार्टी निकट क्रान्तिकारी पत्रकार महासंघको राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । मधेसी राष्ट्रिय मुक्ति मोर्चाको राष्ट्रिय भेला सम्पन्न भएको छ । शिक्षक, मजदुर, विध्यार्थी, दलित, महिला, नेवा, थारु, तामाङ मोर्चा तथा संगठनका केन्द्रीय समितिहरु भेला तथा बैठकबाट पुनर्गठन गरिएको छ । क्रान्तिकारी युवा लिगको यही भाद्र १५ र १६ मा काठमाडौंमा राष्ट्रिय भेला हुँदैछ ।

मोर्चा समिति निर्माणको तयारी
    नेकपा (क्रान्तिकारी माओवादी)ले संयुक्त मोर्चा समितिको निर्माणलाई तीव्रता दिएको छ । उसले भदौ २६–२८ सम्म उक्त समितिको भेला राखेको छ । भेलालाई भव्य र प्रभावकारी बनाउन व्यापक तयारी गरिएको छ । पार्टीको पछिल्लो केन्द्रीय समितिको बैठकले बरिष्ठ नेता सिपी गजुरेललाई संयुक्त मोर्चा समितिको संयोजक तोकिसकेको छ । मोर्चाको नाम भने भेलाबाटै ठोस गरिने बताइएको छ । मोर्चालाई क्रान्तिको साधनको रुपमा प्रयोग गरिने क्रान्तिकारी माओवादी नेताहरुले बताउँदै आएका छन् ।

संघर्ष उठानका प्रयासहरु
    पार्टीको पछिल्लो विभाजनयता क्रान्तिकारी माओवादीले पार्टी स्वयम् र जबस मोर्चामार्फत् राष्ट्रियता, जनतन्त्र र जनजीविकाका मुद्दाहरुलाई लिएर संघर्ष उठानका प्रयासहरु गरिरहेको छ । राज्यले सुकुम्बासीहरुमाथि गरेको दमनका विरुद्धमा नेपाल सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाललाई ९ बुँदे ज्ञापन पत्र पार्टी अध्यक्ष किरणकै नेतृत्वमा बुझाइएको छ । पार्टी निकट विध्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले शिक्षा क्षेत्रमा देखिएका विकृति, शुल्कवृद्धि, अनियमितता लगायका विषयहरुलाई लिएर निरन्तर तालाबन्दी, मागपत्र पेश, अल्टीमेटम दिने लगायतका आन्दोलनका कार्यक्रमहरु अगाडि बढाइरहेको छ । माथिल्लो कर्णाली जलविद्युत आयोजनामा भएको राष्ट्रघातको विरोध, त्यो आयोजना नेपालीहरुले नै बनाउनु पर्ने आवाज पनि पार्टीले उठाउँदै आएको छ । सप्तरीको तिलाठीका जनताले एकतर्फी रुपमा भारतीयहरुले बाँध भत्काएर देखाएको वीरताको पक्षमा र समर्थनमा विज्ञप्ती मात्र निकालिएन सभा नै आयोजना गरियो । जबस मोर्चाहरुले संयुक्त रुपमा उपत्यकाका तीनवटैै जिल्ला सिडियो कार्यालयमार्फत् नेपाल सरकारलाई ज्ञापनपत्र बुझाउने लगायत पार्टीपंक्तिलाई संघर्षमा परिचालन गर्ने र साना ठूला संघर्ष उठाउने प्रयास यसबीचमा गरिएका छन् ।

फाटिदैछ निराशाको बादल
    दायाँ र बायाँबाट छरिएका भ्रम र आएको विभाजनबाट निराश बनेका कार्यकर्ताहरु अहिले माके र विप्लव माओवादीको हालत देखेपछि सबैभन्दा क्रान्तिकारी र आफ्नो उद्देश्यमा अविचल रुपमा लागेको पार्टी त क्रान्तिकारी माओवादी नै रहेछ भन्ने निष्कर्षमा पुगेका छन् । क्रान्तिकारी माओवादीका नेताहरुले पार्टीबाट दक्षिणपन्थी र बामपन्थी अवसरवादीहरु बाहिरिएर पार्टी अझ शुद्धीकृत भएको भन्दै देखाएको सक्रियता, कार्यदिशामा गरिएको विकास र क्रान्तिका लागि गरिएको विश्लेषणबाट कार्यकर्तामा निराशाको बादल फाट्न थालेको छ । फेरि क्रान्तिकारी माओवादीको झण्डमुनि क्रान्तिकारीहरु गोलबन्द हुने क्रम बढेर गएको छ र क्रान्तिकारीहरुका लागि क्रान्तिकारी माओवादी नै आकर्षणको केन्द्र बन्द बन्दै गएको छ । पछिल्ला दुई महिनायताका पार्टीका गतिविधि र त्यसमा परिचालित भएको पार्टीपंक्तिलाई हेर्दा नेता कार्यकर्ताहरुमा उत्साह र आत्मविश्वास बढेर गएको छ ।

नेताहरुमा बढेको छ आत्मविश्वास
    पार्टीबाट स्थापित र मै हुँ भन्ने नेताहरुको ठूलै पंक्ति क्रान्तिमार्ग छोडेर नवसंशोधनवादी कित्तामा पुगेपछि केही गम्भीर बनेका पार्टी अध्यक्ष मोहन वैद्य‘किरण’, बरिष्ठ नेता सिपी गजुरेल लगायतका नेताहरुमा राष्ट्रिय भेलादेखि कमाण्डस्तरसम्मको प्रशिक्षणसम्म आइपुग्दा आत्मविश्वासको मात्रा अझ बढेको पाइन्छ । केन्द्रीय तहका केही नेताहरु दायाँबायाँ लागे पनि पार्टीको ग्राउण्ड बलियो पाए नेताहरुले । फिल्डमा बँचेका क्रान्तिकारी कार्यकर्ताहरुको उत्साहजनक उपस्थितिले नेताहरुलाई पनि उत्साहित बनाएको छ । ‘पार्टी नै सक्यो, अब बैद्यहरु मोहनविक्रम सिंह हुने हुन्’ भनेर पार्टीलाई धारेहात लगाउँदै प्रचण्डको टाङमनि छिरेका दक्षिणपन्थी अवसरवादीहरु क्रान्तिकारी माओवादीले यसबीचमा देखाएको राजनीतिक तथा सांगठानिक उपस्थितिबाट आश्चर्य मान्न थालेका छन् । विचार, राजनीति, संगठन र संघर्षको यो स्पिरिटलाई फाल्गुनमा गर्ने भनिएको सम्मेलनसम्म लैजादा नेकपा (क्रान्तिकारी माओवादी) नेपालमा नयाँ जनवादी क्रान्ति सम्पन्न गर्नसक्ने आत्मगत क्षमताले समृद्धशाली भएर आउने वामपन्थी विश्लेषकहरुको ठहर छ । उनीहरु भन्छन्, “क्रान्तिकारी माओवादी बाहेक अन्य कुनै पार्टीले क्रान्ति गरिखाने देखिएन । ग¥यो भने यही पार्टीले गर्ला । माके र विप्लव माओवादीको त कुरै नगरौं, उनीहरु प्रतिक्रियावादी सत्ताको साझेदारीभन्दा पर जान चाहदैनन् ।”

नेताहरुको स्पष्टोक्ति
    कार्यकर्ता र जनतामा नेकपा (क्रान्तिकारी माओवादी)ले आफ्ना स्पष्ट भनाइहरु राख्ने गरेका छन् । उनीहरुले भन्ने गरेका छन्– ‘अहिलेको चरण नयाँ जनवादी क्रान्तिको चरण हो । जनवादी क्रान्ति नै पार्टीको मूल कार्यदिशा हो । सशस्त्र संघर्षविना जनवादी क्रान्ति सम्पन्न गर्न सकिन्न । बदलिएको परिस्थिति अनुसार नेपाली विशेषतामा आधारित रहेर फौजी कार्यदिशालाई समृद्ध पार्नुपर्छ । क्रान्तिका तीन जादुगरी हतियार अनिवार्य हुन्छ । मालेमावाद नै पार्टीको मार्गनिदेर्शेक सिद्धान्त हो । राष्ट्रियता, जनतन्त्र र जनजीविकाका मुद्दाहरुमा विचार र एजेण्डा मिल्नेहरुसँग तत्काल एकतामा होइन, ध्रुवीकरणमा जोड दिने आदि ।’ वर्गसंघर्ष र अन्तर्संघर्षका ठूल्ठूला लडाईंहरु पचाएर आएका पार्टी अध्यक्ष किरणलाई यति आत्मविश्वास छ कि आफ्नै जीवनकालमा नेपालमा नयाँ जनवादी क्रान्ति सम्पन्न गर्न सकिन्छ ।