विष्टको सिको गर्दै शर्मा, रत्नको महेन्द्र मञ्जिलको बत्ती काटियो

विष्टको सिको गर्दै शर्मा, रत्नको महेन्द्र मञ्जिलको बत्ती काटियो

Ratna-Shahकाठमाडौं । नेकपा माओवादी केन्द्रका नेता तथा ऊर्जामन्त्री जनार्दन शर्माले एमाले नेता गोकर्ण विष्टको बाटोमा समाएर चर्चामा आउने प्रयास थालेका छन् । विद्युतको महशुल नबुझाएका कार्यालयको विद्युत काटिदिएर विष्टले चर्चा बटुलेका थिए ।

विष्टकै सिको गर्दै ऊर्जामन्त्री शर्माले विद्युत महशुल नतिर्ने ग्राहक तथा फर्मको लाइन काट्न निर्देशन दिएका छन् । मन्त्री शर्माको निर्देशनपछि पहिलो पटक आइतबार काठमाडौं विराटनगर तथा सुदूरपश्चिमका जिल्लाहरुबाट बक्यौता नतिर्ने ग्राहकको विद्युत कटौती गर्न शुरु गरिएको छ ।

नेपाल विद्युत प्राधिकरणले आइतबार काठमाडौं, बिराटनगर, कैलाली, डोटी, डडेलधुरा, दार्चुला, बैतडी, धनगढी, महेन्द्रनगरका केही ग्राहकको विद्युत कटौती गरेको छ ।

काठमाडौंका वितरण केन्द्रअन्तरगत पूर्व मुमा बडामारानी रत्न शाह बस्ने नारायणहिटी दरबारको महेन्द्र मञ्जिलको लाइन काटिएको छ ।

महेन्द्र मञ्जिलले ३७ लाख ३१ हजार रूपैयाँ महसुल भुक्तानी गर्न बाँकी रहेको प्राधिकरणले जनाएको छ । मन्त्री भएको दुई दिन पछि नै ऊर्जामन्त्री शर्माले महशुल नतिर्नेको लाइन काटिने बताएका थिए ।

ऊर्जा मन्त्रालयले विद्युत महशुलको बाँकी बक्यौता नतिरेका विभिन्न जिल्लाका दूरसञ्चार प्रदायक कम्पनीदेखि स्थानीय एफएम स्टेशन तथा अस्पतालको विद्युत समेत कटौती गरिदिएको छ ।

कैलालीको टिकापुर, डडेलधुरा तथा धनगढीमा रहेको दूरसञ्चार प्रदायक कम्पनी यूटीएल तथा धनगढीस्थित एनसेलको समेत विद्युत कटौती गरिएको छ ।

डडेलधुरास्थित अपी अस्पताल, बैतडीस्थित समशेर एफएम, महेन्द्रनगरको प्रभु एफएम तथा बैतडीको रेडक्रस कार्यालयको समेत लाइन काटिएको छ ।