मधेसवादीका माग पूरा गर्ने म्याण्डेड लिन दाहाल दिल्ली जाने

मधेसवादीका माग पूरा गर्ने म्याण्डेड लिन दाहाल दिल्ली जाने

prachandकाठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारतको साथबिना मधेसको मागलाई पूरा गर्न नसक्ने निश्कर्षसहित दिल्ली भ्रमणमा जाने तयारीमा जुटेका छन् । 

दाहालले मधेसको मुद्दा सम्बोधनका लागि प्रस्तावसहित उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधीलाई आफ्नो विशेष दूतका रुपमा दिल्ली पठाएका छन् । 

निधीको दिल्ली भ्रमणको क्रममा प्रधानमन्त्री दाहालले यही भदौ ३० गतेदेखि भारतको तीन दिने भ्रमण गर्ने मिति तय भएको छ । उपप्रधानमन्त्री निधीको भारत भ्रमणको क्रममा नेपाली र भारतीय अधिकारीहरुबीच प्रधानमन्त्री दाहालको भारत भ्रमणको टुंगो लगाइएको हो ।

निधीले शनिबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेका थिए । त्यही क्रममा उनले प्रधानमन्त्री दाहालले लेखेको पत्र मोदीलाई हस्तान्तरण गरेका थिए ।

यसैबीच, प्रधानमन्त्री दाहालले भारत भ्रमणका क्रममा महत्वपूर्ण ठूला परियोजनाहरुमा सम्झौता गर्ने तयारी भएको छ । दाहालले आफ्नो अघिल्लो प्रधानमन्त्रीत्वकालमा भएको कुटनीतिक असफलताबाट पाठ सिकेर अघि बढ्ने बताउँदै आएका छन् ।

दाहालले आफ्नो नौ महिने कार्यकालमा कुटनीतिक र राजनीतिक भन्दापनि विकास निर्माण कार्य अघि बढाउन चाहेकाले त्यसमा सहयोगको अपेक्षा राखेका छन् । प्रधानमन्त्री दाहालको यही इच्छा अनुसार भ्रमणका क्रममा कुनै ठूलो परियोजनामा सहयोगको सम्झौता हुने अपेक्षा गरिएको छ ।

लामो समयदेखि अघि बढ्न नसकेको पञ्चेश्वर परियोजनाको काम अघि बढाउने संकेत पनि दाहालले गरेका छन् । उनले पञ्चेश्वरको संयुक्त डीपीआरलाई निर्णयमा पु¥याउन चाहेका छन् ।