काठमाडौं । प्रमुख सत्तारुढ घटक नेपाली कांग्रेस मन्त्री छान्नका लागि आन्तरिक गृहकार्यमा जुटेको छ । पार्टीको भातृ संगठन नेविसंघको महाधिवेशन लम्बिँदा मन्त्री छनोट प्रक्रिया अवरुद्ध भएको थियो ।
नेविसंघमा लामो विवाद पन्छाउँदै निर्वाचन प्रक्रिया सुरु हुने भएपनि कांग्रेसमा पुनः मन्त्री छान्ने गृहकार्य सुरु भएको हो । दुई दिनभित्रै मन्त्रिपरिषद्लाई पूर्णता दिने गरी छलफल थालिएको र कांग्रेसबाट मन्त्री बन्नेहरुको नामावली चाँडै तयार पार्ने एक नेताले बताए ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सपथ ग्रहण गरेका बेला कांग्रेसले विमलेन्द्र निधी र रमेश लेखकलाई पठाएपनि अन्य ११ जना मन्त्रीको टुंगो लाग्न बाँकी छ । कांग्रेस र माओवादी केन्द्रबीच १३ र ८ मन्त्रालय भागबण्डा गर्ने सहमति भएको थियो ।
दुई पार्टीको सहमतिअनुसार माओवादीले आफ्नो भागमा परेका सबै मन्त्रालयमा मन्त्री चयन गरिसकेको छ भने कांग्रेसले मन्त्री चयन गर्न नसक्दा मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन ।
भागबण्डा गरिएको मन्त्रालयमा सामान्य फेरबदल पनि हुन सक्ने भएकाले माओवादीबाट एक मन्त्री र एक राज्यमन्त्रीलाई विनाविभागीय मन्त्रीको सपथ गराइएको थियो ।
कांग्रेसबाट विमलेन्द्र निधीलाई उपप्रधान तथा गृहमन्त्री तथा माओवादीबाट कृष्णबहादुर महरालाई उपप्रधान तथा अर्थमन्त्रीको जिम्मेवारी दिइएको छ । कांग्रेसबाट रमेश लेखक भौतिक पूर्वाधार तथा यातायातमन्त्री बनेका छन् ।
माओवादी केन्द्रले अर्थ, ऊर्जा, कृषि विकास, युवा तथा खेलकुद, संघीय मामिला तथा स्थानीय विकास, सूचना तथा सञ्चार, कानून न्याय तथा संसदीय मामिला मन्त्रालय लिएको छ ।
साना दलको तर्फबाट राप्रपाका दीपक बोहरालाई आपूर्ति र विक्रम पाण्डेलाई भूमिसुधार तथा व्यवस्था मन्त्रालय तथा नेकपा संयुक्तबाट जयदेव जोशीलाई जनसंख्या र वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
मन्त्री छान्ने गृहकार्यका लागि कांग्रेस सभापति शेरबहादुर देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेल, खुमबहादुर खड्का, कृष्ण सिटौलालगायतका नेताहरुसँगको छलफललाई तीव्र बनाएका छन् । रामचन्द्र पौडेलले आफ्नो समूहबाट ४० प्रतिशत मन्त्री बनाइनुपर्ने माग गर्दै आएका छन् भने सिटौलाले २ र खुमबहादुर खड्काले पनि आफ्नो पक्षलाई मन्त्री बनाउनुपर्ने दाबी छाडेका छैनन् ।
देउवाले भने राज्य मन्त्री दिएर पनि पौडेल, सिटौला र खड्काले सिफारिस गरेकालाई सरकारमा पठाउने तयारी गरेका छन् । पहिलो चरणमा सरकारमा पठाइने तयारी गरिएका अर्जुननरसिंह केसीले गृह मन्त्रालय नपाएपछि सरकारमा जान अस्वीकार गरेका थिए ।
पौडेल पक्षका नेता शेखर कोइरालाले भने परराष्ट्र मन्त्रालय नपाएपछि सरकारमा नजाने सोंच बनाएका छन् । प्रधानमन्त्रीले भने केही मन्त्रालय खाली राखेका मधेसी मोर्चालाई सरकारमा ल्याउने योजना बनाएका छन् ।
कांग्रेसबाट फरमुल्लाह मन्सुर, सीतादेवी यादव वा किरण यादव मधेसी कोटाबाट, जनजातिबाट भीष्मराज आङदेम्वे, बहादुरसिंह लामा, तारामान गुरुङ मन्त्री बन्ने लाइनमा देखिएका छन् भने दलितबाट मीन विकको नाम चर्चामा छ ।
यस्तै, जीवनबहादुर शाही, मोहनबहादुर बस्नेत, वीरबहादुर बलायर, कमला पन्त, भीमसेनदास प्रधान तथा खुमबहादुकी पत्नी सुशीला खड्कालाई मन्त्री बनाउने तयारी गरिएको छ । कांग्रेसको भागमा रहेका ११ मन्त्रालयमा आकांक्षीहरु धेरै भएपछि समस्या उत्पन्न भएको छ ।