क्युवाको ग्वान्टानामो बन्दीगृहबाट १५ कैदी युएई स्थानान्तरण

Guantanamoएजेन्सी । क्युबामा रहेको ग्वान्टानामो बन्दीगृहमा रहेका १५ जना कैदीहरुलाई संयुक्त अरब इमिरेड्स (युएई) स्थानान्तरण गरिएको छ । 

अमेरिकी राष्ट्रपति बाराक ओबामाको कार्यकालमा एकैपटक ग्वान्टानामो बन्दीगृहबाट कैदी स्थानान्तरण गरिएको पहिलो घटना हो । 

ग्वान्टानामोमा रहेका १२ जना यमनी तथा तीन जना अफगानी कैदीलाई युएई स्थानान्तरण गरिएको अमेरिकी रक्षामन्त्रालय पेन्टागनले जानकारी दिएको छ । अब ग्वान्टानामो बन्दीगृहमा ६१ जना कैदी रहेका छन् ।

ग्वान्टानामो बन्दीगृहमा रहेका अधिकांश कैदीहरुलाई कुनै आरोपपत्र दर्ता नै नगरी जेलमा राखिदै आएको भन्दै पटक पटक विवाद उठ्दै आएको छ ।

क्युवाका पूर्व राष्ट्रपति फिडेल क्यास्ट्रोले ग्वान्टानामो बन्दीगृह तत्काल रोख्न आग्रह गर्दै आएपनि अमेरिकाले त्यसलाई अस्वीकार गरेको थियो ।

तर वर्तमान राष्ट्रपति बाराक ओबामाले आफ्नो कार्यकालमा नै ग्वान्टानामो बन्दीगृह बन्द गर्ने तयारी गरेको जनाइएको छ । ग्वान्टानामो बन्दीगृह पूर्व राष्ट्रपति जर्ज डब्लु बुसले सेप्टेम्बर ११ को घटनामा संलग्न आतंकवादीलाई राख्नका लागि दक्षिण पूर्वी क्युवाबा सन् २००२ मा स्थापना गरेका थिए । यो बन्दीगृह सुरु गर्दा ७ सय ७९ जना कैदीलाई राखिएको थियो ।

यसअघि गत अप्रिलमा ९ जना यमनी कैदीलाई साउदी अरब स्थानान्तरण गरिएको थियो । ग्वान्टानामो बन्दीगृहमा अफगानी, साउदी अरब र यमनी कैदीमात्रै ६० प्रतिशत थिए भने अन्य ५० देशका कैदी पनि राखिएका थिए ।

ग्वान्टानामो बन्दीगृह सुरु गर्दाका समयमा राखिएका ७ सय ७९ जना कैदीमध्ये ९ जनाको जेलमा नै मृत्यु भएको थियो भने ओबामाको कार्यकालमा १ सय ६१ जना रिहा भएका थिए ।

जेलमा रहेका ६१ जनामध्ये २० जनालाई पनि रिहा गर्ने यसअघि नै बताइसकिएको छ । ओबामाको कार्यकालमा युएई, जर्जिया, सेनेगल, साउदी अरब, स्लोभाकिया, मोरोक्को, बेलायत, मौरिटानिया, ओमान, बोस्निया, मोन्टेनिग्रो, अल्जेरिया, कजाकस्तान, उरुग्वे, इस्टोनिया र एल साल्भाडोरका कैदी पठाइएको छ ।

ओबामाको कार्यकालमा रिहा भएका मध्ये ५ प्रतिशत पुनः आतंकवादी क्रियाकलापमा लागेको र ८ प्रतिशत शंकास्पद गतिविधिमा लागेको पाइएको ह्वाइट हाउसले जनाएको छ । सन् २०१४ मा उरुग्वेले ग्वान्टानामो बन्दीगृहबाट ६ जना कैदीलाई लिएपनि बाँकीलाई लिन नसक्ने जनाएको थियो ।