नेबिसंघ महाधिवेशनमा भौतिक भिडन्तको खतरा

नेबिसंघ महाधिवेशनमा भौतिक भिडन्तको खतरा

cong-student electionकाठमाडौं । झण्डै नौ वर्षपछि भएको नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघको महाधिवेशन पार्टीको महाधिवेशनभन्दा पनि महंगो बन्दै गएको छ ।

आइतबारदेखि काठमाडौंको भृकुटीमण्डपमा शुरु भएको ११ औं महाधिवेशनमा विद्यार्थी नेताहरुले लाखौं रुपैया बगाएका मात्र छैनन्, आपसमा भौतिक रुपमै भिड्ने तयारी गरेका छन् ।

यसअघि पोखरामा भएको १० औं महाधिवेशनमा विद्यार्थीहरु भौतिक रुपमै आक्रमणमा उत्रिएका थिए । हरेक दुई–दुई वर्षमा हुनुपर्ने महाधिवेशन नेता–कार्यकर्ताहरुको खिचातानीका कारण हुन सकेको थिएन । नौ वर्षपछि महाधिवेशन गरिएपछि विवाद र गुट झनै उत्कर्षमा पुगेको छ ।

नेतृत्वका आकांक्षीहरु दर्जन बढी छन् भने गुट बनाएर भौतिक आक्रमण गर्ने तयारीमा कस्सिएका छन् । त्यहि खतरा देखेर नेताहरुले सहमतिको पहल गरे पनि सहमति जुट्न सकेको छैन ।

महाधिवेशन शुरु भइसक्दा कुन्दन काफ्ले समूहले विधिअनुसार महाधिवेशन हुनुपर्ने भन्दै अनसनमै छन् । कोही बलप्रयोगबाट भए पनि संगठन कब्जा गर्ने दाउमा छन् ।

पार्टी सभापति शेरबहादुर देउवा पक्षबाट नैनसिंह महरसहित जितजंग बस्नेत, शुभराम बस्नेत, रत्न कार्की, सरोज यादव लगायतले अध्यक्षमा दाबी गर्दै आएका छन् भने रामचन्द्र पौडेल पक्षबाट मनोजमणी आचार्य, आनन्द त्रिपाठी र दिपक भट्टराई, उर्मिला थपलिया पनि आकांक्षी देखिएका छन् ।

महाधिवेशनको कांग्रेस सभापति शेरबहादुर देउवाले आइतबार काठमाडौंको भृकुटीमण्डपमा नेविसंघ महाधिवेशन उदघाटन गरेका थिए । उद्घाटनमा कांग्रेसका शीर्ष तहका सबै नेताहरु उपिस्थत थिए ।

साउन २५ गतेसम्म चल्ने महाधिवेशनको निर्वाचनबारेमा आइतबार रातीसम्म पनि टुंगो लागेको छैन । महाधिवेशन प्रतिनिधि विवाद मिलिसकेको छैन । सम्भवतः सोमबार महाधिवेशन प्रतिनिधिको सूची टाँसिने छ ।

नयाँ विधानअनुसार नेवि संघमा उपाध्यक्ष १३ जना हुनेछन् । सात प्रदेशबाट ७ जना र समावेशीबाट ४ जना र दुईजना मनोनित गरी १३ उपाध्यक्षको व्यवस्था गरिएको छ ।

यसैगरी दुई निर्वाचित र एक मनोनित गरी तीनजना महामन्त्री हुनेछन् । सहमहामन्त्रीको संख्या भने १६ हुनेछ । सात प्रदेशबाट सात जना, समावेशी कोटाबाट चार जना तथा काठमाडौं उपत्यका र पिछडिएको क्षेत्र एक एक जना निर्वाचित हुनेछन् । तीन जना सहमहामन्त्री भने मनोनित हुने व्यवस्था गरिएको छ ।

एकजना निर्वाचित कोषाध्यक्ष रहने ब्यवस्था विधानमा छ ।