काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सहमतिको सरकार नबनेपनि सहमतिका साथ अघि बढ्ने प्रतिबद्धता जनाएका छन् ।
व्यवस्थापिका संसदको बैठकमा प्रधानमन्त्री पदका लागि आफ्नो उम्मेदवारी पेश गर्दै प्रचण्डले आफूले विना कुनै आग्रह पूर्वाग्रह सहकार्य गर्ने र राष्ट्रिय समस्या समाधान गर्ने विश्वास दिलाए ।
निषेधको राजनीति नचलोस् भन्दै प्रचण्डले सहमति, सहकार्य तथा एकअर्काको आवश्यकता बोधको राजनीति गर्नुपर्नेमा जोड दिएका छन् ।
संसदमा प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिदै उठाएका प्रश्नको जवाफ समेत दिए । उनले फास्ट ट्रयाक सरकारले नै बनाउने स्पष्ट पारे । राजीनामा दिने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले फास्ट ट्रयाक के हुन्छ भनेर प्रश्न गरेका थिए ।
फास्ट ट्रयाक नेपाल सरकारले नै बनाउने निर्णयमा आफूहरुको स्वामित्व रहेको भन्दै उनले त्यसमा साथ दिन ओलीलाई आग्रह समेत गरे ।
प्रचण्डले भने, ‘प्रधानमन्त्रीजी तपाईले के सोच्नु भएको छ ? कसरी कुन पैसा ल्याएर बनाउने ? स्रोत देखाइदिनुस् । तपाईले देखाएको स्रोत प्रयोग गरेर बनाउन तयार छु । मलाई सिधा, सरल र वुझिने भाषामा सल्लाह दिनुहोस् ।’
प्रचण्डले दुई छिमेकी मुलुक भारत र चीनसँग भएका द्विपक्षीय सम्झौतालाई समेत कार्यान्वयन गर्ने प्रतिबद्धता जनाए ।