काठमााडौं । बिहीबारदेखि परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोका कारण मुलुकका विभिन्न ठाउँमा गरी छ जनाको मृत्यु हुनुका साथै धनजनको क्षति भएको छ ।
गृहमन्त्रालयका अनुसार पहिरोबाट सुदूरपश्चिमको दार्चुलामा तीन, ललितपुरका विद्यालय पुरिएर दुई तथा सर्लाहीमा खोलाले बगाएर एक जनाको मृत्यु भएको हो ।
ललितपुरको टौखेलस्थित पुष्पाञ्जली बोर्डिङ स्कुलको पर्खाल भत्किएर दुई जनाको मृत्यु हुनुका साथै २० जना विद्यार्थी घाइते भएको गृह मन्त्रालयले जनाएको छ ।
त्यसैगरी पहिरोका कारण दार्चुलामा तीन र बैतडीमा तीनवटा घर पूर्णरुपमा क्षतिग्रस्त भएका छन् भने धादिङ जिल्लाको रि गाविस–९ मा पहिरोको जोखिमा परेका छ परिवारका १९ जनालाई हेलिकप्टर र पैदमार्गबाट उद्धार गर्ने प्रयास भए पनि प्रतिकूल मौसमका कारण उद्धार कार्यमा कठिनाइ भएको मन्त्रालयले जनाएको छ ।
यस्तै नारायणगढ–मुग्लिङ सडक र भरतपुर माडी सडक पहिरो र बाढीका कारण अवरुद्ध हुन पुगेको पनि गृह मन्त्रालयले जनाएको छ ।
जल तथा मौसम विज्ञान विभाग, मौसमपूर्वानुमान महाशाखाका अनुसार मनसुन सक्रिय भएकाले मुलुकमा अधिकांश जिल्लामा अझै केही दिन निरन्तर वर्षात भइरहन सक्ने सम्भावना भएकाले सतर्क अवस्थामा रहन र त्यसका लागि आवश्यक पूर्वतयारी गर्न स्थानीय प्रशासनलाई निर्देशन दिइसकिएको मन्त्रालयले जनाएको छ ।