प्रधानमन्त्री ओलीले तत्काल राजीनामा नदिने

प्रधानमन्त्री ओलीले तत्काल राजीनामा नदिने

CPN-UML-Sharma-KP-Sharma-Oliकाठमाडौं । नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राजीनामा दिन नहुने ठहर गरेको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार साँझ बसेको सत्तारुढ दलको बैठकपछि उपप्रधान, महिला, बालबालिका तथा समाजकल्याणमन्त्री सिपी मैनालीले संविधान कार्यान्वयनको अहिलेको समयमा माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय अप्रत्याशीत र अव्यावहारिक रहेको निष्कर्ष निकालेको बताए ।

उनले गठबन्धन दलहरुसँग कुनै छलफल नै नगरी माओवादीले सरकारबाट बाहिरिने निर्णय गर्नुले मुलुकको स्थिरतामा व्यवधान ल्याउने बताए । बैठकमा गठबन्धनमा बाँकी रहेका १५ दल मिलेर अहिलेको चुनौतीको सामाना गर्ने निर्णय भएको उनले जानकारी दिए ।

अर्का उपप्रधान, गरिबी निवारण तथा सहकारीमन्त्री चित्रबहादुर केसीले प्रधानमन्त्रीले राजीनामा नदिने र संसदीय पद्धतिअनुरुप अघि बढ्ने निर्णय भएको बताए । यसअघि संविधान बन्न नदिने, वर्तमान सरकार निर्माण हुन रोक्न खोज्ने खेलकै निरन्तरताका रुपमा अहिले सरकार परिवर्तनको खेल भएको उनले बताए ।