असार २५, काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) का अध्यक्ष क. किरणले उपल्लो कर्णाली जलविद्युत परियोजना जनताले निर्माण गर्ने बताउनु भएको छ । बागबजारस्थित होटल हार्दिकमा सम्पन्न माथिल्लो कर्णाली जलविद्युत परियोजना विषयक अन्तरक्रिया कार्यक्रममा उहाँले सो कुरा बताउनु भएको हो । जीएमआरसँग यसअघिका सरकारहरुले गरेको सम्झौताअनुसार उपल्लो कर्णालीमा गरिएको पीडीए कार्यान्वयनका लागि वर्तमान बामपन्थीको सरकारले प्रक्रिया अघि बढाउँदै गरेको सन्दर्भमा यो कार्यक्रम माथिल्लो कर्णाली राष्ट्रिय अभियानले आयोजना गरेको हो ।

कार्यक्रममा राष्ट्रियता र जनतन्त्र एकअर्कामा निकै घनिष्टताका साथ जोडिन पुगेकाले यी दुवैलाई एकअर्कासँग अलग गरेर अघि बढाउन नसकिने कुरामा जोडदिंदै किरणले  राष्ट्रियताको कुरा राज्यसत्ता परिवर्तनका कुरासँग प्रत्यक्ष रुपमा जोडिएको बताउनु भयो । दैलेखस्थित उपल्लो कर्णालीको परियोजनास्थल रामगाढमा पुगेर आफैले स्थल अवलोकन गरेको स्मरण गर्दै उहाँले त्यहाँको भूबनोट, जनताको आवाज, अग्राधिकारको कुरा, आयोजना निर्माणपछि पर्नसक्ने उपल्लो तथा तल्लो तटीय प्रभावको वस्तुगत अवस्थालाई गम्भीरताका साथ नियाल्ने मौका पाएकाले यो विदेशीलाई सुम्पन असंभव छ भन्दै सम्झौताको खारेजीको जोडदार माग गर्नुृ भयो ।

जतिसुकै लोकतान्त्रिक भनेपनि वर्तमान व्यवस्था संसदीय व्यवस्था नै भएकाले यसबाट जनताका समस्याहरु समाधान हुनै नसक्ने भन्दै यसको विकल्प खोजी गरिएपछि  मात्र राष्ट्रियताको रक्षा र जनतन्त्रको स्थापना हुनसक्ने ठोकुवा गर्नुभयो । एकातिर सङ्घीता भन्ने अर्कातिर स्थानीय जनताको अग्राधिकारमाथि अतिक्रमण गर्ने अधिकार यो सरकारलाई नभएको उहाँले बताउनु भयो । देशका नागरिकहरुको अधिकारका कुरालाई वास्तै नगरी उल्टै सेना परिचालन गरेर भए पनि उपल्लो कर्णालीको पीडीए भारतीय कम्पनी जीएमआरलाई नै दिने सरकारले निर्णय गरेकाले अब सङ्घर्ष बाहेक अर्को कुनै विकल्प जनताका सामु बाँकी नरहेको उहाँले बताउनु भयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय जनममोर्चाका अध्यक्ष तथा वर्तमान उपप्रधानमन्त्री चित्रबहादुर केसीले शरीरमा हेर्दा नेपाली टोपी र दौरासुरुवाल लगाएका नेपालका नेता, मन्त्री तथा न्यायाधीशहरुले दिमागमा भने विदेशीले के भन्छन् भन्दै पराधीनताको मानसिकता बोकेर हिँड्ने भएकाले अपर कर्णाली जस्ता नेपालीको भविष्य निर्धारण गर्ने जलविद्युत आयोजना भारतीय कम्पनी जीएम् आरलाई सुम्पिन पुगेको बताउनुभयो ।

नेकपा माओवादीका केन्द्रीय सदस्य कृष्ण धमलाले अपर कर्णाली जीएमआरलाई सुम्पनु गलत भएको भन्दै नेपाली आफैले सरोबरीय ढाँचामा निर्माण गरी तल्लो तटीय क्षेत्रमा खाने पानीको आपूर्ति गर्न सकिने र गर्नुपर्ने कुरामा जोड दिनुभयो । पूर्वमन्त्री तथा चिकित्सक उपेन्द्र देवकोटाले नेपाल मुक्तहुन बाँकी रहेको र छिमेकीको उपनिवेश भएकाले सङ्घर्ष जरुरी भएको बताउनुभयो ।

त्यसै गरी पूर्व गभर्नर तथा जलस्रोतविद् दीपेन्दबहादुर क्षेत्रीले उपल्लो कर्णालीको यथार्थ सबैको सामु आइसकेकाले हामी नेपालीहरु अध्यारोमा बस्न र ठगिन नचाहेको कुरामा जोड दिनुभयो । पूर्व जलस्रोत सचिव द्वारिकानाथ ढुङ्गेलले आफूहरु उज्यालोको विरोधी नभएको तर अध्याँरोमा बस्न तयार नहेको भन्दै कमीकमजोरी हामी नेपाली र नेपाली सरकार तथा हाम्रा नेताले गर्दै आएको कुरामा जोड दिनुभयो ।

इतिहासविद् सुरेन्द्र केसीले नेताहरुले नै इतिहासदेखि गल्ती गर्दै आएको र अहिले पनि भनाइ एउटा र गराइ अर्को गर्ने गरेकाले हामीले यो नियति दोहर्याई तेहर्याई भोग्नु परेको बताउनु भयो । कम्युनिष्ट न्युक्लसका संयोजक हेमन्तप्रकाश ओलीले संसारको व्याख्या सबैले गर्ने गरेका छन् तर मुख्य कुरा त बदल्नु नै हो भन्ने माक्र्सवादी मान्यतालाई आत्मसात् नगर्दासम्म संसारमा केही परिवर्तन ह्ुन नसक्ने बताउँदै संघर्षमा जानुको विकल्प नरहेको बताउनु भयो ।
 सीताराम तामाङले सञ्चालन गर्नु भएको उक्त अन्तरक्रिया कार्यक्रमको अध्यक्षता भरत शाहीले गर्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर