जंगे पिल्लर हराएकोबारे भारतीय मिडियाको खुलासा

जंगे पिल्लर हराएकोबारे भारतीय मिडियाको खुलासा

नयाँ दिल्ली । नेपाल–भारत सीमानास्थित जंगे पिल्लरहरु गायव हुने गरेको समाचार नयाँ दिल्लीबाट प्रकाशित हुने जागरण पत्रिकाले उल्लेख गरेको छ । जुलाई ९, २०१६ मा प्रकाशित सो पत्रिकाले दिनदिनै हराइरहेका जंगे पिल्लरहरुका कारण भविष्यमा नेपाल र भारतबीच सीमा विवाद उत्पन्न हुन सक्ने जनाएको छ । जंगे पिल्लरहरु तस्कर र अन्य तत्वहरुका कारण हराउने गरेको सो पत्रिकाले उल्लेख गरेको छ । सो पत्रिकाले उल्लेख गरे अनुसार पिल्लरहरु दिनदिनै हराउने गरेका छन् र कतिपय बर्षा र बाढीले गर्दा पनि क्षतिग्रस्त हुने गरेका छन् ।

नेपालसँग सिमा जोडिएको मधवनी जिल्लाको मात्र कुरा गर्ने हो भने ३८ वटा मुख्य र सहायक गरी पिल्लरहरु हराएका छन् । नेपालसँग सीमा जोडिएका अन्य जिल्लाहरु युपी, विहार, उत्तराखण्डलगायत क्षेत्रमा रहेका कूल ५ हजार ४५ वटा पिल्लरमध्ये १७१६ पिल्लर हराएको भारतीय सरकारको गृह मन्त्रालयको तथ्यांकमा रहेको उल्लेख जागरण पत्रिकाले गरेको छ । गृह मन्त्रालयको तथ्यांक अनुसार १५७५ पिल्लरहरु क्षतिग्रस्त अवस्थामा छन् । त्यस्तै उत्तरप्रदेशसँग सीमा जोडिएको क्षेत्रमा रहेका  १९९० जंगे पिल्लरमध्ये २८८ गायव भएको र ३१९ क्षतिग्रस्त अवस्थामा रहेको उल्लेख गरिएको छ । उता उत्तराखण्ड सीमामा रहेका ५६ वटा पिल्लरमध्ये ४ वटा हराएका छन् भने १० वटा क्षतिग्रस्त बनेका छन् । पश्चिम बंगाल र सिक्किमसँग सीमा जोडिएका क्षेत्रमा पनि यही अवस्था रहेको उल्लेख गरिएको छ ।