संघर्षमार्फत् हाम्रा मागहरु पूरा गराई छाड्छौं

संघर्षमार्फत् हाम्रा मागहरु पूरा गराई छाड्छौं

सेवन्त राज भण्डारी

अनेरास्ववियु (क्रान्तिकारी) ले उच्च माध्यमिक शिक्षा परिषद्मा मागपत्र पेश गरेको छ तपाईको नेतृत्वमा, के के छन् माग पत्रमा ?
हिजो हामीले हाम्रो गौरवशाली सङ्गठन अनेरास्ववियु (क्रान्तिकारी) को तर्फबाट उच्च माध्यमिक शिक्षा परिषद्को केन्द्रीय कार्यालयमा मागपत्र पेश गर्यौं । मागपत्रमा खास गरी उच्च माविहरु र उमाशिपले प्रदान गर्ने छात्रवृत्तिसँग सम्बन्धित मागहरु रहेका छन् । जस्तैः– सामुदायिक १०+२ लाई स्तरोन्नति गर्नका लागि आवश्यक शिक्षक दरबन्दी, भौतिक पूर्वाधार, ल्याब, पुस्तकालय लगायतका अनिवार्य सुविधाका विषयहरु, निजी उमावि सहित कतिपय कलेजले नामको पछाडि इन्टरनेशनल शब्द ानिक मापदण्ड तयार गरी कार्यान्वयन गर्ने सवाल, निजी उमाविमा मनपरी रुपमा लिने शुल्क खारेज गरी समान, सर्वसुलभ र वैज्ञानिक शुल्क कायम गर्दै यसै शैक्षिक सत्रमा अत्यधिक रुपमा वृद्धि गरिएको शुल्कको खारेजी, विदेशी नामलाई ब्राण्ड बनाई सञ्चालित निजी उमाविहरुलाई कारबाहीको प्रक्रिया अगाडि बढाउँदै कतिपय कलेजले नामको पछाडि इन्टरनेशनल शब्द राखी भ्रम सिर्जना गरिरहेकाले उक्त शब्द तत्काल हटाउने, भू–कम्पका कारण आफ्ना अभिभावक गुमाएका विद्यार्थीहरुलाई छात्रावाससहित निःशुल्क पठन पाठन गर्ने व्यवस्था लगायतका मागहरु पेश गरिएको छ ।

के माग पत्रमा उठाइएका कुराहरु पूरा होलान् भन्ने आशामा हुनुहुन्छ ?
हामीले उठाएका मागहरु पूरा गर्न सकिने र गर्नै पर्ने खालका छन् । विगतका अनुभवहरुले पनि हामी विश्वस्त हुने वातावरण त छैन । तर पनि दबाब र आन्दोलनद्वारा ती मागहरु पूरा गराउन सकिन्छ भन्ने विश्वासका साथ मागपत्र पेश गरिएको र पूरा नगरिएमा आन्दोलनको खाकासहित यी कुराहरु उठान गरिएको हुँदा यसपाली सकरात्मक बनौं ।

त्यसो भए सङ्घषका कार्यक्रमहरु के के छन् त ?
सङ्घर्षका कार्यक्रमहरु सुरुआतमा सम्बन्धित निकाय र शिक्षण संस्थाहरुलाई ज्ञापन पत्र बुझाउने, प्रचार प्रसार, छलफल र अन्तरक्रिया कार्यक्रम, निजी शिक्षण संस्थाहरुमा प्रदर्शन हुँदै निजी उमाविहरुको लेखा र प्रशासनको कार्यालयमा तालाबन्दी र उच्च माध्यमिक शिक्षा परिषद् कार्यालय घेराउ र अन्त्यमा  निजी उमावि बहिस्कारसम्मको कार्यक्रम रहेका छन् ।

कसरी आन्दोलित गर्नसक्नुहुन्छ विद्यार्थी जगतलाई ?
हामीले उठाएका मागहरु र तीनको सम्बोधनका निम्ति गरिने आन्दोलन विद्यार्थी हितमै रहेको हुँदा विद्यार्थी एवम् अविभावक माझ पुगी आन्दोलनमा सङ्गठित गर्ने छौं ।

उच्च माध्यमिक शिक्षा परिषद्सँग विगतका गरिका सम्झौता कार्यान्वयन नै गरिएका होइनन् । अनि विश्वास गर्छन् त विद्यार्थी साथीहरुले ?
विगतमा यी मागहरु पूरा नहुँदा विद्यार्थी एवम् अविभावक वास्तवमै मारमा परिरहेको स्थिति हो । अखिल (क्रान्तिकारी) विद्यार्थी हकहितका निम्ति सङ्घर्ष गर्ने सङ्गठन भएको हुँदा उहाँहरुको आशापूर्ण घचघच्याइले हामीलाई फेरि एकपटक आन्दोलनमा जानको निम्ति प्रेरित गरेको छ । त्यसैले उहाँहरुको विश्वासमै हामीले मागपत्रका साथमा आन्दोलनको प्रष्ट खाकासमेत् पेशगरी सुरु गरेका छौं ।

त्यसो भए अहिलेको मागलाई फलदायी बनाउने उपायहरु के के छन् त तपाईहरुसँग ?
एक त यो भविष्यका कर्णधारहरुको भविष्य निर्माण गर्ने र यसै कारणले यो देशको पनि भविष्य निर्माण गर्ने माग र खाका हो । दोस्रो कुरा, यो देशको समग्र शिक्षा नीति र देशमा आवश्यक पर्ने दक्ष जनशक्ति निर्माण गरी परिवर्तित सन्दर्भमा देशको विकास गर्ने कुरासँग प्रत्यक्ष जोडिएको अनिवार्य सार्वजनिक चासोको कुरा पनि हो । तेस्रो, स्वाधीन राष्ट्र निर्माणमा मेरुदण्डको रुपमा रहेको शैक्षिक क्षेत्रमा विदेशीको चलखेल र हस्तक्षेपको आयामलाई इन्कार गर्न नसके पनि निर्णाक बन्न नदिने र नेपाली विशिष्टतामा नेपालको शिक्षा नीति नेपालीकै बनाइराख्ने मौलिकता र पहिचानको कुरा हो । चौथो र महत्वपूर्ण कुरा शिक्षा र शैक्षिक क्षेत्रलाई हुनेखानेहरुको पेवा नबनाई आम नेपाली जनताको मौलिक अधिकारको रुपमा स्थापित गर्ने कुरा हो । सङ्घर्षलाई यिनै सार कुराहरुले फलदायी बनाउँछन् । बुझ्ने र बुझाउने प्रक्रियाबाट यी कुरालाई समाधानको बाटोमा नलगिए सङ्घर्ष एक मात्र विकल्प र उपाय पनि हो । जहाँ विद्यार्थी, अभिभावक र शिक्षकहरुको त्रिपक्षीय समझ जरुरी छ । भए वार्ता नभए सङ्घर्षमार्फत् हाम्रा मागहरुलाई फलदायी बनाइ छाड्ने छौं । 

      
साँच्चै, निजी विद्यालय र निजी शिक्षालाई सामुदायिक विद्यालय र शिक्षाले निल्न सक्ला ?
हामी शिक्षामा निजीकरणको विरोधका साथसाथै सामुदायिक विद्यालय र शिक्षाको स्तरोन्नतिका निम्ति पनि कार्यक्रमहरु गरिरहेका छौं । मूलतः सामुदायिक विद्यालयमा विद्यार्थी र अविभावकको विश्वास स्थापित गराउने राज्य र राज्यको नीतिले हो । तर नेपालको विडम्बना, यहाँ राज्य नै शिक्षामा व्यापारीकरण र विदेशीकरणको पक्षपोषकको रुपमा देखिएको छ । त्यसैले अखिल (क्रान्तिकारी) को जोड शिक्षामा व्यापारीकरण र विदेशीकरणलाई रोक्नु एवम् सामुदायिक विद्यालयलाई निर्विकल्प बनाउनु रहेको छ ।

८. सामुदायिक विद्यालयलाई त्यस्तो अवस्थामा पुर्याउन र सक्षम तुल्याउन प्रभावकारी कदमहरु के हुन सक्लान् ?
सामुदायिक विद्यालयलाई वास्तवमै निर्विकल्प बनाउनका निम्ति प्रर्याप्त विषयगत शिक्षक दरबन्दी एवम् मिलान, भौतिक पूर्वाधार, ल्याब, पुस्तकालय लगायतका अनिवार्य सुविधाका विषयहरु तत्काल व्यवस्था गर्ने, खेताला शिक्षकको खारेजी र शिक्षकहरुलाई जिम्मेवार बनाउने, विद्यालयमा राजनीतिक गतिविधि जायज भए पनि उपयोगितावादी राजनीतिक हस्तक्षेपबाट मुक्त गर्ने कार्यहरु निरन्तर अघि बढाउन जरुरी छ ।

अन्त्यमा केही  … ?
नेपालको दोहोरो शिक्षा प्रणालीको अन्त्य गर्दै विद्यालय शिक्षालाई राज्यको दायित्वभित्र ल्याएर अनिवार्य र निःशुल्क बनाइनु पर्छ र नेपाली विशिष्टतामा वैज्ञानिक, प्रयोगात्मक र जीवनोपयोगी शिक्षा लागु गर्न आवश्यक छ ।

(भण्डारी क्रान्तिकारी माओवादी निकट अनेरास्ववियु (क्रान्तिकारी) का केन्द्रीय संयोजक हुन् ।)