ट्रम्पको विचारले अमेरिका संकटमा पर्छ : हिलारी

ट्रम्पको विचारले अमेरिका संकटमा पर्छ : हिलारी

Hilary Clintonएजेन्सी । अमेरिकी राष्ट्रपति पदको आगामी नोभेम्बर महिनामा हुने निर्वाचनका दुई प्रतिस्पर्धी हिलारी क्लिन्टन र डोनाल्ड ट्रम्प एकअर्काप्रति आक्रमक रुपमा प्रस्तुत हुन थालेका छन् ।

ट्रम्पले अमेरिकामा मुस्लिमहरुको प्रवेशमा रोक लगाउनुपर्ने बताएपछि उनको विपक्षीहरुले चर्को आलोचना गरिरहेका छन् । राष्ट्रपति बाराक ओबामाले ट्रम्पको भनाईको प्रतिवाद गरेको भोलिपल्ट राष्ट्रपति पदकी डेमोक्रेटिक तर्फकी उम्मेदवार हिलारी क्लिन्टनले समेत त्यसको विरोध गरेकी छन् ।

उनले ट्रम्पको ‘कट्टर इस्लाम’ विरोधी अभिव्यक्तिले अमेरिकालाई समेत संकटमा पार्नसक्ने चेतावनी दिएकी छन् । हिलारीले फ्लोरिडाको ओल्र्यान्डोमा अफगान मूलका मुस्लिम युवाले मच्चाएको गोलीकाण्डबारे ट्रम्पले दिएको अभिव्यक्ति भड्काउपूर्ण रहेको टिप्पणी गरेकी छन् । 

उनले यस अभिव्यक्तिले ट्रम्प कुनैपनि मुद्दामा समझदार नरहेको पुष्टि भएको बताएकी छन् । 

उनले भनेकी छन्, ‘ट्रम्पले एउटा बाक्य समातेका छन्, ‘कट्टर इस्लाम’ मानौ कि यो जादुई शब्द हो र एकपटक हामीले बोल्दैमा आतंकवादी हाम्रा पछाडि आउन छाड्छन् ।’ हिलारीले सबै मुस्लिमहरुलाई अमेरिका प्रवेशमा रोक लगाउनुपर्ने उनको भनाई कुनै हालतमा पनि ठीक नभएको टिप्पणी गरिन् । 

अमेरिकाको भर्जिनियामा आतंकवादका विषयमा एक प्रमुख नीतिगत भाषणका क्रममा हिलारीले यस्ता भड्काउपूर्ण अभिव्यक्ति गलत मात्रै नभएर खतरनाकसमेत भएको बताएकी हुन् । उनले आफूले देश सुरक्षित राख्न चाहेको उल्लेख गरेकी छन् ।

उनले आतंकवादविरोधी लडाईमाम मुस्लिम देशहरुको समेत पूर्ण समर्थन रहनुपर्नेमा जोड दिएकी छन् । उनले यसप्रकारका आक्रमण रोक्न र कट्टरताको अन्त्यका लागि आफूले राष्ट्रपतिको रुपमा बिशेष भूमिका निर्वाह गर्ने प्रतिबद्धता समेत जनाएकी छन् ।