क्रान्तिकारी कम्युनिस्ट पार्टीको यो धारा नेपालको कम्युनिस्ट आन्दोलनमा अपर्झट, एकाएक र एकैरेखीयरूपमा अघि बढेको संगठन पनि होइन, बरु विभिन्न वैचारिक संघर्षको क्रममा टुट–फुट र पुनर्गठनको जटिल प्रक्रियाबाट नै यो संगठन विकसित हुँदै यो अवस्थासम्म आइपुगेको हो। यही ऐतिहासिक संघर्षको बीचबाट क्रान्तिकारी धाराले आफ्नो स्वतन्त्र पहिचान बनाउँदै एउटा जुझारु र संघर्षशील पार्टी क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको निर्माण गरेको हो। पार्टीको स्थापना काल देखि हालसम्मका सबै कुरा समेट्न पत्रिकाको एउटा सानो लेखमा सम्भव नहोला । तथापि यसलाई यथासक्य संक्षेपीकरण गरी क्रमिकरुपमा लेख प्रस्तुत गर्ने प्रयत्न भएको छ ।
१. नेपालको कम्युनिष्ट आन्दोलनको ऐतिहासिक पृष्ठभूमि
१.१. पार्टी स्थापनाः नेपालमा कम्युनिस्ट आन्दोलनको औपचारिक सुरुवात २००६ साल बैशाख १० गते भारतको कलकत्ताको श्याम बजारमा नेपाल कम्युनिस्ट पार्टीको स्थापनासँगै भएको हो, जसका संस्थापक नेता ४ जना मध्ये महासचिव पुष्पलाल श्रेष्ठ थिए भने अन्य नेताहरूमा निरन्जन गोविन्द वैद्य , नारायण बिलास जोशी र नरबहादुर कर्माचार्य थिए। प्रारम्भिक चरणमा कम्युनिस्ट आन्दोलनले मूलतः सामन्तवाद, जहानीया राणा शासन , निरंकुश राजतन्त्र र साम्राज्यवाद विरुद्ध संघर्षको कार्यक्रम लिएर अघि बढेको हो।
तर समयको गतिसँगै कम्युनिस्ट आन्दोलनभित्र राजनीतिक र वैचारिक मतभेदहरु तीव्र बन्दै गएपछि कम्युनिस्टहरु विभिन्न धारामा विभाजित हुँदै गए । यसै क्रममा कम्युनिस्ट आन्दोलनको माक्र्सवादी, लेनिनवादी क्रान्तिकारी धारा र संशोधनवादी धाराबीच स्पष्टरूपमा वैचारिक ध्रुवीकरण देखा प¥यो ।
१.२.महाधिवेशन ः पार्टी भित्र देखिएको वैचारिक ध्रुवीकरणका बावजुद पनि यसले आफ्ना नियमित कार्यक्रमहरु सम्पन्न गर्दै अघि बढ्यो । वि.सं. २०१० साल माघ १७ देखि २५ गतेसम्म प्रथम महाधिवेशन काठमाडौमा सम्पन्न भयो । पार्टीको महासचिवमा मनमोहन अधिकारी निर्वाचित भए।
दोश्रो महाधिवेशन २०१४ ज्येष्ठ १५ देखि २७ गतेसम्म काठमाडौंमा सम्पन्न भयो । बहुमतद्वारा केशरजंग रायमाझी महासचिवमा निर्वाचित भए ।
१.३. गुटबन्दी ः २०१७ सालपछि पार्टीभित्र अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा आएको विभाजनको प्रभाव प¥यो । सोभियत लाइनको समर्थन गर्ने समूहको नेतृत्व केशरजंग रायमाझीले लिए । उनले राजतन्त्रसँग सहकार्य गर्नेगरी संसदीय सुधारवाद उन्मुख नीति अघि सारे । क्रान्तिकारी धाराले यसलाई संशोधनवादको प्रारम्भिक रुप मानेर कडा वैचारिक संघर्ष चलायो । संशोधनवादी धाराले वर्ग संघर्षको सट्टा लिएको शान्तिपूर्ण सहकार्यको नीतिलाई क्रान्तिकारी धाराले गलत ठहर गर्दै राजतन्त्रसँग सम्झौता गर्ने लाइन अवसरवादी भएको क्रान्तिकारी निष्कर्ष निकाल्यो । रायमाझीको राजापरस्त नीतिको विरुद्धमा क्रान्तिकारी धाराको मूख्य नेतृत्व पुष्पलाल श्रेष्ठले गरे , जसलाई पछि मोहनविक्रम सिंह लगायत अन्य नेताहरूले निरन्तरता दिए।
२. क्रान्तिकारी धारा विकासको इतिहास
२.१.विभाजन र तेस्रो महाधिवेशन ः २०१८ सालपछि क्रान्तिकारी धाराले विकासको गति बढायो । अब कम्युनिष्ट आन्दोलनमा बारम्बार बिभाजन हुँदै आयो । २०१८ देखि २०३१ सम्म विभिन्न समूहहरू पुनर्गठित हुँदै गए । २०१८ सालमा भारतको दरभंगामा सोभियत रुश र चीनको प्रभाव बारे छलफल र बहस गर्नको लागि दरभंगा प्लेनम (बिस्तारित बैठक) भयो । तर यसले पछि ठूलो बिभाजनको आधार तयार ग¥यो । २०१९ सालमा तेस्रो महाधिवेशन सम्पन्न भयो,जसको नेतृत्व तुल्सीलाल अमात्यले गरे । पुष्पलाल समूहले २०२५ सालमा गोरखपुर सम्मेलन ग¥यो । यस सम्मेलनले तत्कालीन पञ्चायती ब्यवस्था ढाल्नको लगि नेपाली काङ्ग्रेससँग सहकार्य गर्ने नीति लियो । यस समूहको नेतृत्व पुष्पलाल श्रेष्ठले गरेका थिए । यसलाई संशोधनवादी नामाकारण गर्दै मोहन बिक्रम सिंहले “गद्धार पुष्पलाल “ नामक किताब लेखे । यसरी बिभाजित कम्युनिस्ट धाराहरुलाई एकत्रित गर्ने लक्ष सहित २०२८ साल मंसिर २० मा केन्द्रीय न्युक्लियसको गठन भयो ।
२.२. झापा विद्रोह र चौ.म.ः अर्कोतिर वि.सं. २०२८ साल मंसिर २० मा मनमोहन अधिकारीको सल्लाहमा पूर्व कोशी कोअर्डिनेशन कमिटीले केन्द्रबाट सम्बन्ध बिच्छेद गरी २०२५ मा भरतमोहन अधिकारीलाई सेक्रेटरी बनाई पूर्व कोशी कोअर्डिनेशन कमिटी पुनर्गठन गरिएको थियो । त्यस पूर्व कोशी कोअर्डिनेशन कमिटीबाट विद्रोह गरी झापा जिल्ला समन्वय समिति पुनर्गठन गरिएको थियो । त्यस झापा जिल्ला समन्वय समितिले झापामा किसान विद्रोह सञ्चालन गरेको थियो । २०३२ सालमा अखिल नेपाल कम्युनिस्ट क्रान्तिकारी कोअर्डिनेशन केन्द्र ( माक्र्सवादी –लेनिनवादी ) बनाए र २०३५ साल पौष ११ मा मोरङको इटहरामा एक भेला गरी नेकपा ( मा.ले.) गठन गरे । झापामा किसान विद्रोहको प्रतिक्रियास्वरूप मोहन विक्रम सिंहले “उग्रवामपन्थी विचारधाराको खण्डन“ लेखे । २०३१ सालमा नेकपाको चौथो महाधिवेशन गरेर चौथो महाधिवेशन धारा गठन भयो ,जसको नेतृत्व मोहनविक्रम सिंहले गरे । यस धाराले जनसंघर्ष, सामन्तवाद विरुद्ध संघर्ष गर्दै कठोर संघर्षबाट क्रान्तिको बाटो अघि बढायो ।
तर यस क्रममा यस धाराभित्र पनि रणनीतिक र कार्यनीतिक मतभेद उत्पन्न भए । निर्मल लामाले पञ्चायती चुनाव उपयोग गर्ने प्रस्ताव ल्याए । कार्यनीतिक प्रश्नमा गम्भीर मतभेद भएपछि २०४० मा पार्टी विभाजित भएर नेकपा (मशाल) र नेकपा ( चौ.म.) बने ।
२.३.पाँचौ महाधिवेशन र जनयुद्धको तयारी ः नेकपा (मशाल) को २०४१ मंसिरमा पाँचौं महाधिवेशन सम्पन्न भयो । मोहन विक्रमलाई कारबाही भयो । मोहन वैद्य किरण महासचिवमा निर्वाचित हुनुभयो । पाँचौं महाधिवेशनपछि मोहन वैद्यले नेतृत्व गरेको नेकपा (मशाल)ले जनयुद्धको पूर्व तयारी गर्न सुरु ग¥यो। जस अनुसार पार्टीले माओवादी लाइनको वैचारिक स्पष्टताको विकास, विशेषगरी ग्रामीण क्षेत्रमा भूमिगत बलियो पार्टी संरचनाको निर्माण, साना स्तरका प्रतिरोध सङ्घर्षको अभ्यासबाट अनुभव सङ्कलन र जनयुद्ध सुरु गर्ने रणनीतिक आधारको तयारी पुरा ग¥यो र २०५२ साल फागुन १ गते नेकपा (माओवादी)पार्टीको नामबाट जनयुद्धको थालनी भयो ।
२.४. पार्टी फुट र मसालको गठन ः अर्कोतिर २०४२ सालमा नै पार्टीमा फूट आएको थियो । मोहन बिक्रम सिंहको नेतृत्वमा नेपाल कम्युनिस्ट पार्टी (मसाल) को नाममा अर्को पार्टी गठन भएको थियो । नेकपा (मसाल)ले देशमा सुरु भएको जनयुद्धलाई उग्रवामपन्थी भड्कावको संज्ञा दिँदै अपरिपक्वताको परिणाम र परिस्थितिको गलत विश्लेषण गरेको प्रतिक्रिया दिएको थियोे ।
नेकपा (मसाल)ले २०५१ सालमा छैठौं महाधिवेशन, २०६३ सालमा सातौं महाधिवेशन, २०७६ सालमा आठौं महाधिवेशन सम्पन्न गर्दै आएको थियो। तर आठौं महाधिवेशनबाट यसले क्रान्तिकारी कार्यदिशाबाट विचलित भएर दक्षिणपन्थी कार्यदिशा समातेको हुनाले सन्तबहादुर पक्षको क्रान्तिकारी धाराले त्यो दक्षिणपन्थी समूहबाट विद्रोह गरी २०७९ सालमा विशेष महाधिवेशन गरी नेकपा (मशाल) गठन ग¥यो।
३. २०४६ पछि क्रान्तिकारी धारा विकासको आवश्यकता
नेपालको राजनीतिक परिवेश विशेषगरी २०४६ सालको जनआन्दोलनपछि संसदीय व्यवस्थाको पुनस्र्थापना भयो। संसदीय ब्यवस्थामा नेपाली जनताले समस्या समाधानको अपेक्षासहित लामो प्रतिक्षा गरे । तर जनताका आधारभूत समस्याहरू जस्तैः गरिबी, बेरोजगारी, वर्गीय शोषण, परनिर्भरता आदि समस्याहरु अपेक्षाकृत समाधान हुन सकेनन्। यो अवस्थाले क्रान्तिकारी कम्युनिष्टहरुलाई यो निष्कर्षमा पु¥यायो कि दलाल पुँजीवादी संसदीय व्यवस्थाबाट जनताको मुक्ति सम्भव छैन। यही वैचारिक धरातलबाट विभिन्न क्रान्तिकारी समूहहरू विकसित भए, जसले संशोधनवाद विरुद्ध वैचारिक संघर्ष जारी राखे।
यसै ऐतिहासिक आवश्यकता र वैचारिक संघर्षको परिणामस्वरूप अन्तिममा आएर क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको गठन भएको हो।यसको मूल ध्येय विद्यमान दलाल पुजीवादी संसदीय ब्यवस्थाको अन्त्य गरी जनवादी क्रान्तिको खुड्किलो पार गर्दै वैज्ञानिक समाजवादको बाटो अघि बढाउनु हो ।
४. संशोधनवादी उभार
४.१. एमाले गठन ः यस बुँदामा पार्टीको संशोधनवादी उभारबारे पनि छलफल गर्न बिर्सन हुँदैन। २०४६ सालको जनआन्दोलनद्वारा बहुदलीय संसदीय व्यवस्था पुनस्र्थापित भएपछि कम्युनिस्ट आन्दोलनको ठूलो हिस्सा संसदीय प्रतिस्पर्धामा केन्द्रित भयो। यसै क्रममा २०४८ सालमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) गठन भयो। जसको प्रमुख नेताहरूमा मदन भण्डारी र मनमोहन अधिकारी थिए।
एमालेले “ जनताको बहुदलीय जनवाद“को सैद्धान्तिक आधार अघि सार्दै संसदीय मार्गलाई मुख्य रणनीति बनायो । क्रान्तिकारी धाराले यसलाई वर्गसंघर्षको मूल मार्गबाट विचलन भएको संशोधनवादी नीति भनेर आलोचना ग¥यो । किनकि यसले राज्य सत्ताको क्रान्तिकारी रूपान्तरणभन्दा संसदीय सुधारलाई प्राथमिकता दियो।
४.२.जनयुद्ध सुरु र विसर्जनः २०५२ साल फागुन १ गते तत्कालीन नेकपा (माओवादी)ले सुरु गरेको जनयुद्धको नेतृत्व पुष्पकमल दाहाल प्रचण्डले गरेका थिए । उक्त जनयुद्धले सामन्तवाद र राजतन्त्र विरुद्ध सशक्त क्रान्तिकारी आन्दोलन सहितको सशस्त्र जनयुद्ध संचालन गर्दै आएको थियो । तर २०६३ को शान्ति सम्झौता र त्यसपछिको संसदीय राजनीतिमा गरेको प्रवेशलाई क्रान्तिकारी धाराले जनयुद्धको रणनीतिक परित्याग र शान्तिपूर्ण संक्रमणबादमा प्रवेश गरेको विश्लेषण गरेको छ।
यस चरणमा पार्टीले निष्कर्ष निकालेको थियो कि सशस्त्र जनसंघर्षको लक्ष्य अधुरै छाडियो र वर्गीय राज्य सत्ताको प्रश्नलाई सम्झौतामा टुङ्ग्याएर जनयुद्ध विसर्जन गरियो।
५. पार्टी गठनको ऐतिहासिक प्रक्रिया
२०६९ सालमा मोहन वैद्य (किरण) नेतृत्वको क्रान्तिकारी धाराले प्रचण्डको संसदीय र शान्ति प्रक्रियातर्फ केन्द्रित लाइनलाई “क्रान्तिबाट विचलन“ भएको ठहर गरेर विद्रोह गरी नेपाल कम्युनिस्ट पार्टी–माओवादी गठन ग¥यो । यहीँबाट पार्टी गठनको प्रक्रिया सुरु भएको मान्नुपर्छ । पछि त्यही पार्टीबाट नेत्रविक्रमचन्द (विप्लव)समूह अलग भयो ।
२०७२ सालमा मोहन वैद्य (किरण)ले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी–माओवादी र राम सिंह शिरीष (राजबीर)ले नेतृत्व गरेको नेकपा (एकीकृत )बिच पार्टी एकता भएर नेकपा (क्रान्तिकारी माओवादी)बन्यो ।
त्यसपछि क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको गठन विभिन्न मालेमावादी कम्युनिष्ट समूहहरू, आन्दोलनका क्रान्तिकारी कार्यकर्ताहरू तथा संशोधनवाद विरोधी वैचारिक धाराहरूको एकीकरण प्रक्रियाबाट भएको हो। यसका आधारका तीन प्रमुख तत्त्वहरू हुन्–
१.माक्र्सवाद– लेनिनवाद– माओवाद र माओ विचारधाराको वैज्ञानिक सिद्धान्त
२. दलाल पुँजीवाद र सामन्तवाद विरुद्ध सङ्घर्ष
३.नयाँ जनवादी क्रान्ति न्युनतम कार्यक्रम तथा आम कार्यक्रम र बैज्ञानिक समाजवाद र साम्यवाद अधिक्तम कार्यक्रम तथा आधारभुत कार्यक्रम ।
उक्त आधारहरू सहितको नीति तथा कार्यक्रम रहेको यस पार्टीले नेपालको राजनीतिक संरचना अर्धसामन्ती , अर्ध–औपनिवेशिक र मूख्यतः नवऔपनिवेशिक रहेको विश्लेषण गर्दै दीर्घकालीन जनसंघर्षलाई मुख्य कार्यनीति बनाएको छ।
६. राजनीतिक आन्दोलन र सङ्घर्षको चरण
यस चरणमा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले जनसंघर्ष, संगठन विस्तार ,वैचारिक प्रशिक्षण र राजनीतिक अभियानहरू जस्ता विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ।
यस क्रममा पार्टीले राष्ट्रिय स्वाधीनताको प्रश्न उठाएको छ। भ्रष्ट , दलाल संसदीय व्यवस्थाको विरोध गरेको छ। किसान, मजदुर ,विद्यार्थी, महिला , युवा माझ संगठनको निर्माण गरेको छ । साम्राज्यवाद र विस्तारवाद विरुद्ध संघर्षको आह्वान गरेको छ।
यसका साथै नेपालको कम्युनिष्ट आन्दोलनमा देखिएको विचलन विशेषतः संसदीय एकीकरण र शक्ति साझेदारीको प्रवृत्तिलाई पार्टीले क्रान्तिको मार्गबाट भएको विचलनको रुपमा आलोचना गर्दै आएको छ।
७. वर्तमान राजनीतिक अवस्था र पार्टीको भूमिका
७.१. राजनीतिक अवस्थाः हालको अवस्थामा नेपालमा संघीय गणतन्त्र स्थापित भएपनि जनताका आधारभूत समस्याहरु समाधान हुन सकेका छैनन् ।बेरोजगारी,भ्रष्टाचारी ,असमानता, राष्ट्रिय निर्भरता र राजनीतिक अस्थिरताका समस्याहरू अझै गम्भीर चुनौतीको रुपमा रहेका छन् ।
यस्तो परिस्थितिमा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल वैचारिक रुपमा स्पष्ट, संगठनात्मक रुपमा अनुशासित र जनसंघर्षको रुपमा प्रतिबद्ध पार्टीको रुपमा प्रस्तुत हुँदै आएको छ। पार्टीको वर्तमान धारणा अनुसार देशमा वास्तविक परिवर्तन संसदीय सुधारबाट सम्भव छैन, बरु संगठित जनआन्दोलन र क्रान्तिकारी रूपान्तरणबाट मात्र सम्भव छ।
७.२.अवसरवादी गठबन्धनः २०६५ सालमा गणतन्त्र स्थापना भएपछि पनि कम्युनिष्ट पार्टीको नाममा संसदीय अवसरवादीहरू बीच बारम्बार एकीकरण र विभाजनको क्रम चल्यो। २०७५ सालमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गठन भयो । जसको नेतृत्व केपी शर्मा ओली र प्रचण्डले संयुक्त रुपमा गरे ।
क्रान्तिकारी दृष्टिकोणबाट यस एकीकरणलाई “सत्ता केन्द्रित अवसरवादी संगठन“ भनेर आलोचना गरियो, किनकि यसले समाजवादको नाममा दलाल पुँजीवादी राज्य व्यवस्थाको सञ्चालन मात्र गर्दै आयो । २०७७÷ ७८ सालमा उक्त पार्टी पुनः विभाजन हुन पुग्यो । यसलाई क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले संशोधनवादी एकताको अस्थायित्वको उदाहरणको रुपमा लियो।
८. वैचारिक आधार र कार्यक्रम
८.१. पार्टी एकीकरण र एकता महाधिवेशनः उपरोक्त ऐतिहासिक टुट–फुट, विभाजन र सत्ता केन्द्रित अवसरवादी गठबन्धनको श्रृङ्खलाले एउटा स्पष्ट शिक्षा दिदै संसदीय सुधारवाद र सत्तामुखी अवसरवादले क्रान्तिको लक्ष्य पूरा गर्न सक्दैन भन्ने सन्देश दिएको छ।
यस ऐतिहासिक निष्कर्षको आधारमा विभिन्न क्रान्तिकारी समूह, जनयुद्धका प्रतिबद्ध कार्यकर्ता र माक्र्सवाद–लेनिनवाद–माओवाद र माओविचारधारा प्रति निष्ठावान शक्तिहरु नेकपा (क्रान्तिकारी माओवादी ), नेकपा (मशाल )र नेकपा (बहुमत)को २०८१ बैशाख १८ गते भएको एकीकरणबाट क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको गठन भएको हो । २०८१ मंसिर १३–२३ गते राष्ट्रिय एकता महाधिवेशन उत्साहका साथ सम्पन्न भएको हो । यद्यपि पार्टी एकता प्रक्रियामा सहमति हुन नसकेका केही विचारहरू “ पार्टी विपरीतहरुको एकत्व“को आधारमा हाललाई यथावत नै रहेका छन्। जसलाई अर्को नियमित महाधिवेशनसम्म दुई लाइनको सघर्ष चलाएर जाने सहमति भएको छ।
८.२. असहमतिमा सहमतिः पार्टी एकता प्रक्रियामा सहमति हुन नसकेका मूख्यगरेर तीनवटा विषयहरू छन् । ती हुन् (क) संघीयताबारे (ख) माओवाद र माओ विचारधारा बारे र (ग) जनयुद्धको समीक्षा बारे ।
यी विषयहरूमा निम्नअनुसार फरक मत रहेका छन् ।(क) राज्य पुनर्संरचनामा संघीयताबारे पूर्व (मशाल)ले संघीयताको विरोध गर्दछ र केन्द्रीकृत एकात्मक शासन प्रणाली अन्तर्गत स्थानीय स्वायत्त शासनको अधिकार सुनिश्चितताको विचार राख्दछ। तर यसबारे पूर्व (क्रान्तिकारी माओवादी) र पूर्व(बहुमत)का घटकहरुले जातीय, क्षेत्रीय पहिचान र आत्मनिर्णयको अधिकार सहितको संघीयतामा विश्वास गर्दछन् ।
(ख ) माओवाद र माओ विचारधाराको सम्बन्धमा पूर्व (मशालल)ले माओ विचारधारा शब्दावली प्रयोग गर्नुपर्ने बिचार राख्दछन भने, पूर्व (क्रान्तिकारी माओवादी) र पूर्व (बहुमत)ले माओवाद शब्दावलीको प्रयोग गर्नुपर्ने बिचार राख्दछन ।
(ग ) जनयुद्धको समीक्षामा पनि मतभेद रही आएको छ। पूर्व (क्रान्तिकारी माओवादी) र पूर्व (बहुमत)ले विगत ५२ देखि ६२ सम्म १० वर्ष तत्कालिन नेकपा माओवादीद्वारा सञ्चालित जनयुद्धलाई महान ऐतिहासिक जनयुद्ध मानेका छन् भने पूर्व (मशाल) को यस सम्बन्धमा फरक विश्लेषण रहेको छ। सहमति हुन नसकेका विषयहरू यिनै हुन् । असहमतिका यी विषयहरूमा खुला बहस र छलफलमा जाने कुरामा पनि महाधिवेशनले सहमति गरेको छ। जनयुद्धको विषयमा रहेको फरक मतको सम्बन्धमा भने आन्तरिक छलफल चलाउने सहमति भएको छ । यद्यपि आधिकारिक लाइन पारित भएको छ । पारित भएको अधिकारिक लाइन तत्काललाई प्रयोग तथा कार्यान्वयन हुँदै जान्छ र दुई लाइन संघर्ष चल्दै पनि जान्छ । आगामी नियमित महाधिवेशनमा सहमतिमा पुग्ने पर्यत्न रहन्छ। यही तरिकाले पार्टी अघि बढ्दै जान्छ।
८.३.वैचारिक आधार र कार्यक्रम ः यस पार्टीको वैचारिक आधार माक्र्सवाद लेनिनवाद माओवाद हो। जसले वर्ग संघर्षलाई सामाजिक परिवर्तनको मूल आधार मान्छ। यो पार्टीका मुख्य कार्यक्रमहरू नयाँ जनवादी क्रान्तिको तयारी, राष्ट्रिय स्वाधीनताको रक्षा र आत्मनिर्भर अर्थतन्त्रको विकास , किसान– मजदुरको सत्ता स्थापना र समाजवादतर्फको संक्रमण, सामन्तवाद, दलाल पुँजीवाद र साम्राज्यवाद विरुद्ध संयुक्त संघर्ष, संसदीय संशोधनवाद र अवसरवादको वैचारिक प्रतिवाद आदि हुन् ।
यो पार्टीले वर्तमान राज्य संरचनालाई दलाल पुँजीवादी सामन्ती गठबन्धनको रुपमा विश्लेषण गर्दै त्यसको क्रान्तिकारी रूपान्तरणको लक्ष्य राखेको छ । त्यसको साथै तत्कालिक कार्यनीतिक सरकारको नारा प्रस्तुत गरेको छ।
९. चुनौती र सम्भावना
पार्टीले विभिन्न चुनौतीहरूको सामना गर्दै आएको छ। राज्यद्वारा दमन र नियन्त्रण, कम्युनिष्ट आन्दोलन भित्रको विभाजन, जनतामा राजनीतिक निराशा, अन्तर्राष्ट्रिय साम्राज्यवादी दवाब आदि ।
तर यी चुनौतीहरूका बावजुद पार्टीले वर्गीय असमानता, राष्ट्रिय स्वाधीनता र जनजीविकाका सवालहरूलाई उठाउँदै आफ्नो राजनीतिक प्रभाव विस्तार गर्ने सक्रियताका साथ अग्रसरता देखाएको छ।
.यसकारण पार्टीले संगठित जनसङ्घर्ष, वैचारिक प्रशिक्षण ,जनआन्दोलनको निर्माण र दीर्घकालीन क्रान्तिकारी रूपान्तरणलाई आफ्नो मूल कार्यदिशा बनाएको छ भने कार्यनीतिक सरकारको तत्कालिक नारा पनि अगाडि सारेको छ। त्यो हो,देशभक्त , जनवादी, बामपंथी, क्रान्तिकारीहरुको राष्ट्रिय राजनीतिक सम्मेलन , विद्यमान संविधान र त्यस अन्तरगतको सरकारको खारेजी , संयुक्त मोर्चा निर्माण र स्वाधीन संयुक्त सरकारको गठन । यो नै अहिलेको एकमात्र विकल्प हो । यही नारा अगाडि सारेर पार्टीले साम्राज्यवादद्वारा प्रायोजित फागुन २१ गतेको संसदीय निर्वाचन बहिष्कार गरेको थियोे ।अब बन्ने सरकार पनि अमेरिकी साम्राज्यवादको कठपुतली सरकार नै हुनेछ । यो असफल ब्यस्थामा कुनै पनि सरकार सफल हुने कुरै भएन । त्यसपछि हामीले प्रस्ताव गरेको तत्कालीक कार्यनितिक सरकार स्वाधीन संयुक्त सरकार नै गठन हुनेछ ।यसको लागि एकजुट बनौं ।
निष्कर्ष
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको इतिहास नेपालको समग्र कम्युनिष्ट आन्दोलनको क्रान्तिकारी धारासँग गहिरो रुपमा जोडिएको छ। यसको जन्म वैचारिक संघर्ष, वर्गीय आवश्यकता र संशोधनवाद विरुद्धको प्रतिरोधको परिणाम हो। आजको अवस्थामा पार्टीले आफूलाई जनवादी क्रान्तिको बाहक शक्तिको रुपमा प्रस्तुत गर्दै वैज्ञानिक समाजवाद स्थापना गर्ने दीर्घकालीन लक्ष्य बोकेको छ। नेपालको राजनीतिक भविष्य , वर्ग सङ्घर्षको दिशा र जनआन्दोलनको उचाइ सँगै यस पार्टीको भूमिका र प्रभाव थप स्पष्ट हुँदै जानेछ।
यसै ऐतिहासिक अनुभवबाट शिक्षा ग्रहण गर्दै क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले आफूलाई संशोधनवाद विरुद्ध दृढ, वर्ग संघर्षप्रति प्रतिबद्ध र वैज्ञानिक समाजवादतर्फ उन्मुख क्रान्तिकारी शक्तिका रूपमा विकास गर्ने लक्ष्य लिएको छ । हाललाई तत्कालीक कार्यनितिक सरकार “स्वाधीन संयुक्त सरकार“को नारा पनि अगाडि सारेको छ । सबैै देशभक्त एक होऔं ।






























