पार्टीमा देखिएका सङ्गठनसम्बन्धी समस्या र चुनौतीहरु

पार्टीमा देखिएका सङ्गठनसम्बन्धी समस्या र चुनौतीहरु

क्रान्ति सम्पन्न गर्नका लागि सही राजनैतिक कार्यदिशा हुनुको साथै त्यो कार्यदिशालाई सफलतामा पु¥याउनको लागि क्रान्तिकारी पार्टीको आवश्यकता अनिवार्य छ । क्रान्तिकारी पार्टी बिना क्रान्तिकारी राजनैतिक कार्यदिशा सफल हुन सक्दैन । त्यसकारण पार्टीलाई कसरी क्रान्तिकारी बनाउने भन्ने प्रश्न अत्यन्तै महत्वपूर्ण प्रश्न हो । पार्टीमा रहेका कमीकमजोरीहरुलाई हटाएर मात्र एउटा क्रान्तिकारी पार्टी निर्माण गर्न सकिन्छ । त्यसैले यहाँ पार्टीमा देखिएका मुख्य–मुख्य समस्याहरुको पहिचान र त्यसको निराकरणको बारेमा संक्षेपमा चर्चा गर्ने प्रयास गरिएको छ ।

१) जनाधार निर्माणमा समस्या
ऐतिहासिक भौतिकवादले इतिहासको निर्माता जनता हुन भन्दछ । व्यापक जनताको सहभागिता बिना कहीँको पनि क्रान्ति सफल भएको छैन । पार्टी जति सुकै अनुशासित र क्रान्तिकारी भए पनि यदि त्यस पार्टीको व्यापक जनाधार छैन भने त्यस्तो पार्टीले क्रान्ति सम्पन्न गर्न सक्दैन । त्यसकारण पार्टीले जनताको ठुलो हिस्सालाई क्रान्तिमा सहभागी बनाउन सक्नु पर्दछ । कम्युनिस्ट पार्टी सर्वहारा वर्गको राजनैतिक पार्टी भएको हुनाले उसले मुख्यतः सर्वहारा वर्ग तथा श्रमिक जनताको बीचमा जरा गाड्न सक्नु पर्दछ । सोभियत सङ्घको कम्युनिष्ट पार्टी (बोल्सेभिक)को इतिहासमा भनिएको छ– “पार्टीको इतिहासले हामीलाई के सिकाउँछ भने जबसम्म आम जनतासित पार्टीको व्यापक सम्बन्ध हुँदैन, जबसम्म त्यसले स्वसम्बन्धलाई निरन्तर बलियो पार्दैन, जबसम्म त्यसले जनताको आवाज सुन्न र जनताका जरुरी खाँचोहरुलाई बुझन जान्दैन, जवसम्म त्यो जनतालाई सिकाउने मात्र होइन, जनताबाट सिक्न पनि तयार रहदैन, तबसम्म मजदुर वर्गको पार्टी लाखांै मजदुरहरु र सारा श्रमिक जनताको नेतृत्व गर्न सक्ने सच्चा जनपार्टी बन्न सक्दैन ।”१ यस सम्बन्धमा स्टालिन भन्नुहुन्छ — “नियमको रुपमा कुन कुरालाई लिनुपर्दछ भने जबसम्म बोल्सेभिकहरु व्यापक जनसमुदायहरुसित सम्र्पकमा रहन्छन्, तिनीहरु अजेय बन्नेछन् । त्यसको उल्टो यदि बोल्सेविकहरु आम जनताबाट अलग हुन्छन् र तिनीहरु सितको सम्पर्क गुमाउँछन् भने, यदि उनीहरु नोकरशाही ढँुसीले ढाकिएर रहन्छन् भने तिनीहरुले आफ्नो सारा तागत गुमाउने छन् र भुटिभाङमा फेरिने छन् ।”२

यही कुरालाई अरु स्पष्ट पार्दै स्टालिनले भन्नुहुन्छ –‘‘यदि पार्टी गैरपार्टी जनतासित सम्बन्धित छैन भने, यदि त्यस पार्टी र गैरपार्टीको जनताका बीचमा सम्बन्ध छैन भने, यदि गैर पार्टी जनता पार्टीको नेतृत्वलाई मान्दैन भने, यदि आम जनताको बीचमा पार्टीको नैतिक तथा राजनीतिक प्रतिष्ठा छैन भने, पार्टीले वर्गको नेतृत्व गर्न सक्दैन”३ —

लेनिन र स्टालिनका साथै क. माओले पनि पार्टीको जनतासँग गहिरो सम्बन्ध हुनुपर्ने कुरामा जोड दिनुभएको छ । जस्तो क. माओ भन्नुहुन्छ, “माक्र्सवाद–लेनिनवादको सिद्धान्तबाट सुसज्जित, स्वआलोचनाको पद्दतिलाई अंगालेको र जनसमुहसँग गाँसिएको अनुशासनबद्ध पार्टी; यस्तो पार्टीको नेतृत्वको मातहतमा सेना; यस्तो पार्टीको नेतृत्व अन्र्तगत सबै क्रान्तिकारी वर्ग र सबै क्रान्तिकारी डफ्फाको संयुक्त मोर्चा, यिनै तीन मुख्य हतियार हुन्, जसबाट हामीले शत्रुलाई हरायौँ ।”४ यहाँ माओले जनसमुहसँग गाँसिएको अनुशासीत पार्टीको कुरा गर्नु भएको छ । एकातिर पार्टी जनसमुहसँग गाँसिएको हुनुपर्दछ भने अर्कोतिर पार्टी अनुशासित पनि हुनुपर्दछ । माओले पार्टी जनतासँग गाँसिएको हुनुपर्ने कुराको अझ विकसित रुपको कुरा गर्दै जनसेना नभएको जनताको आफ्नो भन्ने केही हुन्न सम्म भन्नुभएको छ ।

अगाडि उल्लेखित यी उद्धरणहरु व्यवहारबाट पुष्टि भएका कुराहरु हुन् । यी उद्धरणहरुबाट क्रान्तिकारी पार्टीको लागि जनाधार, पार्टीको जनतासँगको सम्बन्ध कति महत्वपूर्ण छ भन्ने कुरा स्वतः स्पष्ट हुन्छ । तर आज हाम्रो पार्टीमा देखा परेको महत्वपूर्ण समस्या भनेको पार्टीको जनाधार एकदमै कमजोर हुनु हो । आज पार्टीको धेरै जिल्लाहरुमा सङ्गठनहरु छन् । तर जिल्लाहरुमा पार्टीको जनाधार कमजोर छ । यो समस्यालाई हल नगरिकन हाम्रो पार्टीले आफ्नो क्रान्तिकारी उदेश्य प्राप्त गर्न सक्दैन । आज हाम्रो पार्टीको देशव्यापीरुपमा पार्टी सङ्गठनहरु छन्, तर ती पार्टी सङ्गठनहरुको वरिपरि जनाधार अत्यन्तै कमजोर छ । हामीले निकै मेहतन गरेका छौँ । निरन्तर खटिएर दुःख, गरेर पार्टी सङ्गठनहरु बनाएका छौँ तर पार्टीको जनाधार व्यापक बनाउन सकेका छैनौँ । यो आजको हाम्रो पार्टीको यथार्थ हो ।
हामीले पार्टीको जनाधार व्यापक बनाउन किन सकेनौँ ? यसको निर्मम समीक्षा गर्न जरुरी छ । हाम्रो नीतिमा कमजोरी रह्यो कि ? हाम्रो सङ्गठनात्मक प्रणालीमा कमजोरी छ कि ? हाम्रो जनसङ्गठनहरुको नेतृत्वहरुमा कमजोरी छ कि वा हामीले अहिलेको अवस्थामा नयाँ कुरा विकास गर्न सकेनौँ कि ? आदि । यी प्रश्नहरुको गम्भीर भएर उत्तर खोज्नै पर्दछ र यो समस्यालाई समाधान गर्नै पर्दछ ।

पार्टीले जनाधार निर्माण गर्नका लागि सर्वप्रथम श्रमिक जनताको तात्कालिक व्यवहारिक समस्याहरु के हुन् ? त्यसको पहिचान गर्नु पर्दछ । पार्टीले जनताको व्यावहारिक समस्याहलाई आन्दोलनको रुपमा अगाडि बढाउनु पर्दछ । यदि पार्टी जनताको व्यावहारिक समस्याहरुसँग जोडिएन भने पार्टी र जनताबीचको सम्बन्ध विस्तार हुन सक्दैन । यसको लागि केन्द्रीय पार्टी निकायहरुले आम रुपमा र स्थानीय पार्टी निकायहरुले जिल्ला र त्यसभन्दा तल्ला पार्टी सङ्गठनहरुले विशिष्ट रुपमा जनताका समस्याहरुको पहिचान गरी ती समस्याहरुलाई मागको रुपमा अगाडि सार्दै आन्दोलनलाई अगाडि बढाउनु पर्दछ । स्थानीय जनताका साझा समस्याहरुलाई केन्द्रमा राखेर त्यसै अनुरुपको गैर पार्टी सङ्गठनहरुको पनि निर्माण गर्दै जानु पर्दछ । श्रमिक वर्ग तथा उत्पीडित समुदायहरुको समस्यासँग पार्टीलाई नजोडिकन हामीले जनतालाई पार्टीप्रति आकर्षित गर्न सक्दैनौ । उनीहरुको दैनिक व्यवहारसँग पार्टीलाई जोडनै पर्दछ ।

पार्टीले पार्टी सङ्गठनहरु बाहेक गैरपार्टी सङ्गठन निर्माण गर्दै जानु पर्दछ । गैरपार्टी सङ्गठनहरु निर्माण गर्दा सम्बन्धित वर्ग तथा समुदायको समस्याहरुको पहिचान गरी ती समस्याहरुको वैज्ञानिक ढङ्गले हल गर्ने उपायहरु खोज्नु पर्दछ । मजदुरहरु अर्थात् अन्य जनसङ्गठनहरु एक प्रकारले व्यावसायिक सङ्गठन हुनु पर्दछ र यसको बढी भन्दा बढी व्यापक सङ्गठन बनाउनु पर्दछ ।

हामीले मजदुर किसान जस्ता वर्गीय सङ्गठनहरु बनाएका छौँ । ठीक त्यसरी नै युवा, विद्यार्थी, महिला, जस्ता जनसङ्गठन र उत्पीडित जातीय सङ्गठनहरु पनि बनाएका छौँ । पार्टीको जनाधार निर्माण गर्ने सङ्गठनहरु भनेको यीनै जन तथा वर्गीय सङ्गठनहरु हुन् । तर हाम्रा यी जन तथा वर्गीय सङ्गठनहरु पनि विस्तार हुन सकेका छैनन् । विस्तार हुन नसक्नुको कारण के हो ? यस विषयमा हामीले समीक्षा गरेर अगाडि बढ्नु पर्दछ । वर्गीय सङ्गठनहरु विस्तार हुन नसक्नुमा हामीले उनीहरुलाई पेशागत सङ्गठनको रुपमा परिचालन गर्न सकिरहेका छैनाँै । ठीक त्यसरी नै जनसङ्गठनहरुलाई पनि उनीहरुको विशिष्ट समस्याहरुलाई उठाएर आन्दोलित गराउन सकेका छैनौँ । आम श्रमिक वर्गलाई उनीहरुको आर्थिक मागहरु राखेर उनीहरुको व्यावहारिक समस्याहरुलाई उठाएर सङ्गठित र आन्दोलित गराउनु पर्दछ । निश्चितरुपमा उनीहरुलाई आर्थिक मागहरुमा मात्र सीमित गर्नु अर्थवाद हुन्छ । उनीहरुलाई विस्तारै राजनैतिक अधिकारसँग जोडेर मुख्यतः राजनैतिक सत्ता प्राप्तिमा नै केन्द्रित गर्नुपर्दछ । तर आज जन तथा वर्गीय सङ्गठनहरुको जे अवस्था छ त्यो अवस्थामा उनीहरुको आर्थिक र व्यावहारिक समस्याहरुलाई नै उठाएर सङ्गठित र आन्दोलित गर्नु पर्दछ ।

गैर पार्टी सङ्गठनहरुलाई व्यापकरुपमा विस्तार गर्न नसक्नुमा हाम्रा सङ्कीर्ण सोच तथा चिन्तनहरुले पनि असर गरिरहेको छ । गैर पार्टी सङ्गठनहरु (जन तथा वर्गीय सङ्गठनहरु) को जिम्मा लिएका नेतृत्वदायी कमरेडहरुले जातीय, क्षेत्रीय तथा पूर्व समूहको मानसिकताभन्दा माथि उठेर योग्यता र क्षमताको आधारमा सङ्गठन निर्माण र सञ्चालन गर्नमा जोड दिनुपर्दछ ।

२) जनवादी केन्द्रीयताको बुझाइ र व्यवहारमा समस्या
सङ्गठन परिचालनको लागि लेनिनले प्रतिपादन गरेको विधि भनेको जनवादी केन्द्रीयताको सिद्धान्त हो । एउटा कालखण्डमा यो सिद्धान्त सबै कम्युनिस्टहरुको लागि सर्वमान्य थियो । तर अहिले लेनिनले प्रतिपादन गरेको जनवादी केन्द्रियताको सिद्धान्त अनुसार सङ्गठनको काम अब फलदायी हुनसक्दैन भन्ने अवधारणा पनि आइरहेको छ । उनीहरुको तर्क यो छ कि लेनिनको समय भन्दा अहिले उत्पादन प्रणालीको विकास धेरैमाथि पुगेको छ । त्यतिवेलाको उत्पादन प्रणाली र आर्थिक सामाजिक संरचनाको आधारमा बनेको जनवादी केन्द्रीयताको सिद्धान्त अहिलेको आर्थिक सामाजिक प्रणालीमा लागू हुन सक्दैन भन्ने तर्क छ । अर्थात् लेनिनले प्रतिपादन गरेको जनवादी केन्द्रीयताको सिद्धान्तले अब काम गर्न सक्दैन भन्ने हो । यस प्रकारको तर्क उपयुक्त छैन । माक्र्स र एङ्गेल्सको समय भन्दा अहिलेको उत्पादन प्रणालीको विकास धेरै भएको छ । त्यसको आधारमा माक्र्सले प्रतिपादन गरेको सिद्धान्तहरु अव पुराना भए भनेर भन्न सकिन्न । माक्र्सले प्रतिपादन गरेको मुख्य कुरा वर्गसङ्घर्षको सिद्धान्तलाई सर्वहारा अधिनायकत्वको मान्यतासम्म लैजाने कुरा हो । उत्पादन प्रणालीको जति विकास भए पनि समाज अहिले पनि वर्गमा विभाजित छ । वर्गविहिन समाज निर्माणका लागि वर्ग सङ्घर्षको सिद्धान्तलाई सर्वहारा वर्गको अधिनायकत्वको सिद्धान्तसम्म लैजानु पर्ने आवश्यकता अहिले पनि छ । यो वर्गसङ्घर्षमा सर्वहारावर्गको पक्षबाट सङ्घर्ष गर्ने सङ्गठनलाई लेनिनले प्रतिपादन गरेको जनवादी केन्द्रीयताको सिद्धान्त अहिले पनि आवश्यक छ ।

लेनिनले प्रतिपादन गरेको जनवादी केन्द्रीयताको सिद्धान्तको औचित्य समाप्त भइसक्यो भन्ने अवधारणा हाम्रो पार्टीभित्र आइसकेको छैन । तर लेनिनको जनवादी केन्द्रीयताको सिद्धान्तलाई सही तरिकाले बुझ्ने र लागु गर्ने प्रश्नहरुमा भने समस्याहरु छन् । यी समस्याहरुलाई समाधान गर्नुपर्दछ । कतिपय अवस्थामा हाम्रो पार्टीमा पनि जनवादी केन्द्रीयताको सिद्धान्तलाई औपचारिक जनवाद वा यान्त्रिक केन्द्रीयताका रुपमा बुझ्ने र व्यवहार पनि त्यही अनुसार गरिने कमजोरीहरु पाइन्छन् । लेनिनले औपचारिक जनवाद र यान्त्रिक केन्द्रीयता, यी दुवै प्रवृत्तिहरुको विरोध गर्नुभएको छ । लेनिनको दृष्टिकोणमा जनवादी केन्द्रीयता भनेको केन्द्रीयता र सर्वहारा जनवादको सम्मिश्रण हो । जस्तो लेनिन भन्नुहुन्छ, “कम्युनिस्ट पार्टी सङ्गठनमा जनवादी केन्द्रीयता एउटा वास्तविक संश्लेषण, केन्द्रीयता र सर्वहारा जनवादको सम्मिश्रण हुनुपर्दछ ।” यो सम्मिश्रण सम्पूर्ण पार्टी सङ्गठनको निरन्तर समान कार्य र निरन्तर समान सङ्घर्षको आधारमा मात्र प्राप्त गर्न सकिन्छ ।”५

पार्टीमा प्रायः सवैले जनवादी केन्द्रीयता भनेको केन्द्रीयता र जनवादको सम्मिश्रण हो भनेर भन्ने गरेको पाइन्छ । यो भनाइ लेनिनको भनाइ भन्दा फरक छ । किनभने लेनिनले जनवाद मात्र भन्नुभएको छैन । उहाँले त ‘सर्वहारा जनवाद’ भन्नु भएको छ । जनवाद र सर्वहारा जनवादमा अन्तर छ । सर्वहारा जनवाद भन्नाले सर्वहारा वर्गको हितको पक्षमा बोल्नु, बहस गर्नु हो । जनवाद मात्र भन्ने शब्दले अन्य वर्गको हितको पनि कुरा गर्दछ । लेनिनले ‘सर्वहारा जनवाद’ भनेर जुन शब्द प्रयोग गर्नु भएको छ, त्यसको गम्भीर प्रकारको वर्गीय अर्थ छ । त्यसकारण कम्युनिस्ट पार्टीमा सर्वहारा वर्गको हितको लागि जनवाद हुन्छ । त्यस भन्दा अन्य शोषक वर्गको हितको लागि जनवादको कुरा गर्नु गलत हुन्छ ।

त्यसै गरी लेनिनको दृष्टिकोणमा केन्द्रीयता भनेको यान्त्रिक केन्द्रीयता होइन । उहाँको दृष्टिकोणमा केन्द्रीयता भनेको कम्युनिस्ट क्रियाकलापको केन्द्रीकरण र दरिलो नेतृत्व निर्माण गर्नु हो । जस्तो लेनिन भन्नुहुन्छ, “कम्युनिस्ट पार्टी सङ्गठनमा केन्द्रीयताको अर्थ औपचारिक अर्थात् यान्त्रिक केन्द्रीयता होइन, बरु कम्युनिस्ट क्रियाकलापको केन्द्रीकरण हो अर्थात् युद्धको निम्ति तयार र साथै हरेक किसिमको परिस्थितिमा आफूलाई त्यस अनुकूल बदल्ने क्षमता भएको दरिलो नेतृत्व निर्माण हो ।”६

लेनिनले यहाँ औपचारिक र यान्त्रिक केन्द्रीयता होइन भन्नुभएको छ । तर हाम्रो पार्टीमा पनि कतै न कतै केही मात्रामा औपचारिक र यान्त्रिक केन्द्रीयता अपनाइएको आभाष हुन्छ । त्यस प्रकारको केन्द्रीयता छोडेर वास्तविक केन्द्रियता लागु गर्नु पर्दछ । ठीक त्यसरी नै औपचारिक जनवाद होइन सर्वहारा जनवाद लागु गर्नु पर्दछ । औपचारिक जनवाद भनेको के हो ? यस विषयमा लेनिन भन्नुहुन्छ, “पुरानो गैर क्रान्तिकारी मजदुर आन्दोलनको सङ्गठनमा पँुजीवादी राज्यमा नोकरशाही र जनताका बीचको द्वैतवादीकै प्रवmृतिको सर्वव्यापी द्वैतवाद विकसित भएको छ । पुँजीवादी वातावरणको यो घातक प्रभावको कारण कार्यहरुको पृथकीकरण (विभाजन) भएको छ, साझा प्रयत्नको जीवन्त सहचार्यको ठाउँ बाँझो औपचारिक जनवादले लिएको छ । सङ्गठन सक्रिय कार्यकर्ताहरु र निस्क्रिय जनसमुहमा विभाजित भएको छ । पुँजीवादी वातावरणबाट एक निश्चित सीमासम्म द्वैतवाद र औपचारिक नातावादको यस प्रवृत्तिलाई क्रान्तिकारी मजदुर आन्दोलनले समेत अनिवार्य उत्तराधिकारमा प्राप्त गरेको छ । कम्युनिस्ट पार्टीले यी बेमेलहरुमाथि व्यवस्थित र सुनियोजित रुपबाट राजनीतिक र सङ्गठनात्मक कार्यद्वारा निरन्तर सुधार र संशोधनबाट आधारभूत रुपमा विजय प्राप्त गर्नै पर्दछ ।”७

लेनिनले उल्लेख गरे झै यस प्रकारको औपचारिक जनवादले हाम्रो पार्टीमा कम वा वेसी केही मात्रामा प्रभाव पारेको छ । अब यसलाई हटाउनु पर्दछ । यसको ठाउँमा वास्तविक सर्वहारा जनवाद लागु गर्नुपर्दछ । लागु गर्ने सन्दर्भमा लेनिन भन्नुहुन्छ, “सङ्गठनमा केवल औपचारिक जनवादले न नोकरशाही प्रवृत्तिलाई न त अराजकतावादी प्रवृत्तिलाई नै हटाउन सक्छ । यी प्रवृत्तिहरुले खास त्यही (औपचारिक–प्र.) जनवादको मलिलो भुमि पाएर जरा गाडेका हुन्छन् । यसै कारण सङ्गठनको केन्द्रीयता अर्थात् दरिलो नेतृत्व निर्माण गर्ने उद्देश्य औपचारिक जनवादको आधारमा पुरा गर्ने प्रयत्न गरिएको खण्डमा सफल हुन सक्दैन । पार्टी भित्र निर्देशक कमिटीहरु र सदस्यहरुको बीचमा मात्र होइन, पार्टी बाहिर पार्टी र सर्वहारा जनसमुहका बीच समेत जीवन्त साहचर्य र पारस्परिक सम्बन्धको विकास र त्यसको निर्वाह सङ्गठनको केन्द्रीयता निर्माणको आवश्यक प्रारम्भिक शर्त हो ।”८ यहाँ लेनिनले पहिलो कुरा औपचारिक जनवादले नोकरशाही प्रवृत्ति र अराजकतावादी प्रवृत्तिलाई हटाउन सक्दैन भन्नुभएको छ । वास्तविक सर्वहारा जनवादले मात्र नोकरशाही प्रवृत्ति र अराजकतावादी प्रवृत्तिलाई हटाउन सक्छ । लेनिनले जोड दिनु हुन्छ कि पार्टी भित्रका निर्देशक कमिटीहरु र सदस्यहरुको बीचमा मात्र होइन पार्टी बाहिर र सर्वहारा जनसमुहको बीचमा समेत जीवन्त साहर्चय र पारस्परिक सम्बन्धको विकास गर्नु पर्दछ । पार्टी बाहिर सर्वहारा जनसमुहको बीचमा अर्थात् आम श्रमिक जनताको बीचमा जीवन्त साहचर्य र पारस्परिक सम्बन्धको विकास गर्न हामीले सकिरहेका छैनौँ । अव हामीले त्यतापट्टि विशेष ध्यान दिनु पर्दछ ।

जनवादी केन्द्रीयताको सिद्धान्तको विषयमा चर्चा गर्ने सन्दर्भमा एउटा कुरा उल्लेख गर्नै पर्दछ । त्यो हो पद प्रतिष्ठा र व्यक्तिगत स्वार्थको लागि चल्ने सङ्घर्षको बारेमा । आज हाम्रो पार्टीमा पद र प्रतिष्ठाको लागि वा व्यक्तिगत स्वार्थको लागि निकै सङ्र्घष हुने गर्दछ । भेला, सम्मेलन वा बैठकहरुमा नीतिगत तथा कार्यक्रमहरुको बारेमा धेरै बहस हुन्न । तर समिति निर्माण गर्ने तथा पदाधिकारीहरु चयन गर्ने सन्दर्भमा पार्टीको हित भन्दा पनि आफ्नो व्यक्तिगत हितलाई ध्यानमा राखेर बढी बहसहरु हुने गर्दछन् । आफूले सोचेजस्तो वा चाहेजस्तो नभएमा असन्तुष्टिहरु बाहिर लैजाने गरिन्छ । हाम्रो पार्टीको एकताको राष्ट्रिय महाधिवेशनमा कतिपय व्यक्तिहरु नीतिगत तहमा कुनै मतभेद नहुँदा पनि आफूले चाहेको पद नपाएपछि कसैले पार्टी नै छोडे भने कोही निस्क्रिय बसेको उदारहण हाम्रो अगाडि ताजै छ । पार्टीभित्र देखा पर्ने यसप्रकारका प्रवृत्तिहरु जनवादी केन्द्रीयताको सिद्धान्तसँग मेल खादैनन् । यस सन्दर्भमा लेनिन भन्नुहुन्छ, “पार्टीभित्र सत्ताको लागि हुने कुनै पनि प्रतिद्वन्द्विता र प्रभुत्वको लागि हुने कुनै पनि सङ्घर्ष कम्युनिस्ट इन्टरनेशनलद्वारा पारित जनवादी केन्द्रीयताको आधारभूत सिद्धान्तसँग पटक्कै मेल खान्न ।”९ यसरी लेनिनले सत्ताको लागि हुने प्रतिद्वन्द्विता र प्रभुत्वको लागि हुने सङ्घर्ष जनवादी केन्द्रीयताको सिद्धान्तसँग पटक्कै मेल खान्न भनेर निकै जोड दिनुभएको छ । अब हामीले पार्टी भित्र देखा पर्ने यस प्रकारको प्रवृत्तिलाई निस्तेज पार्नुपर्दछ । तर हाम्रो पार्टीमा यस सम्बन्धमा केही सकारात्मक सङ्केतहरु देखा पर्न थालेका छन् । केही कमरेडहरुले उपल्लो कमिटिबाट स्वेच्छाले हटेर तल्लो कमिटिमा रहेर सक्रिय भइरहनु भएको छ । यस प्रकारको प्रवृत्तिलाई सकारात्मक रुपमा लिनु पर्दछ ।

३) निर्णय कार्यान्वयनमा समस्या
निर्णय गर्नुभन्दा पहिले व्यापक रुपमा छलफल गर्ने र निर्णय गरिसकेपछि त्यसलाई तदारुकताका साथ इमान्दारीपूर्वक कार्यान्वयन गर्नुपर्ने, एउटा क्रान्तिकारी पार्टीको लागि आम नियम नै हो । तर निर्णय कार्यान्वयनको समस्या हाम्रो पार्टीमा देखा परेको एउटा गम्भीर समस्या हो । यो समस्यालाई हामीले हल गर्नै पर्दछ । निर्णय समितिको सर्वसम्मत वा बहुमतबाट हुन्छ । निर्णय जुनसुकै पद्धतिबाट भए पनि त्यसलाई सम्पूर्ण पार्टी पङ्क्ति र आम पार्टी सदस्यहरुले निशर्त एकरुपताका साथ कार्यान्वयनमा जानुपर्दछ । यसलाई सुत्रमा ‘छलफलमा स्वतन्त्रता र कार्यमा एकरुपता’ भनिन्छ । तर आज हाम्रो पार्टीमा निर्णयहरुलाई कार्यान्वयन गर्ने सन्दर्भमा एकप्रकारको उदासीनता पाइन्छ । पटक–पटक ताकेता गर्दा पनि कतिपय निर्णयहरु कार्यान्वयन हुँदैनन् वा व्यक्तिगत जिम्मेवारी पुरा भएको हुँदैन । निर्णय लागु गर्ने प्रश्नमा देखा पर्ने यस प्रकारको उदासिनता र ढिलाढालापनले पार्टी कामलाई नराम्ररी प्रभाव पारेको छ । उपल्लो कमिटीबाट आएको निर्णय होस् वा सम्बन्धित कमिटीले गरेको निर्णय होस् सवै निर्णयहरुलाई तदारुकताकासाथ कार्यान्वयन गर्नुपर्दछ । पार्टीमा निर्णयहरु किन कार्यान्वयन हुँदैनन् ? वा किन ढिला ढाला हुन्छन् ? यस विषयमा सम्बन्धित समितिहरु गम्भीरतापूर्वक छलफल बहस चलाएर त्यसको कारण पत्ता लगाउनु पर्दछ । निर्णय कार्यान्वयन दुईटा अवस्थामा नहुन सक्छ । एउटा कारण निर्णय वस्तुवादी नभएर मनोगतवादी छ भने त्यो अवस्थामा जतिसुकै प्रयास गरेपनि निर्णय कार्यान्वयन हुन सक्दैन । अर्को कुरा निर्णय वस्तुवादी नै छ तर सम्बन्धित समिति वा व्यक्तिहरुले निर्णयलाई कार्यान्वयन गर्न पहलकदमी लिने प्रयास गरेनन् भने पनि निर्णयहरु कार्यान्वयन हुँदैनन् । आज हाम्रो पार्टीमा थुप्रै त्यस्ता निर्णयहरु छन् जुन पहल र प्रयास नगरेका कारण लागु हुन सकिरहेका छैनन् । यो गम्भीर प्रकारको कमजोरी हो । यस प्रकारका कमजोरीहरुलाई हटाएर निर्णयलाई तदारुकताकासाथ कार्यान्वयन गर्ने वातावरण बनाउनु पर्दछ ।

४) आर्थिक समस्या
पार्टीको हरेक कामसँग आर्थिक प्रश्न जोडिएर आउँछ । पार्टीले आफ्ना योजनाहरुलाई सम्पन्न गर्नका लागि अर्थको आवश्यकता पर्दछ । सारमा अर्थ बिना पार्टीको कुनै पनि काम हुन सक्दैन । त्यसकारण पार्टीको आर्थिक समस्यालाई हामीले जसरी पनि हल गर्नु पर्दछ । आर्थिक समस्या हल गर्नका लागि हामीले सबभन्दा पहिले पार्टीको आर्थिक श्रोतहरु के के हुन् ? त्यो स्पष्ट हुनुपर्दछ । पार्टीको आर्थिक श्रोत भनेको पार्टी सदस्यहरुले दिने लेवी, पार्टीका शुभचिन्तकहरुले दिने सहयोग, प्रकाशनहरुको विक्री र पार्टीले आर्थिक उपार्जनको लागि बनाएका योजनाबाट प्राप्त रकम आदी हुन् ।
पार्टीका उपरोक्त श्रोतहरुलाई व्यवस्थित गरेर नै हामीले पार्टीको आर्थिक समस्या हल गर्न सक्छौँ । तर हामीले पार्टीको कुनै पनि श्रोतलाई व्यवस्थित गर्न सकेको छैनौँ । सर्वप्रथम त पार्टीको मुख्य आय श्रोत भनेको पार्टी सदस्यहरुले नियमित तिर्ने मासिक लेवी हो । हाम्रो पार्टी सदस्यहरुले नियमित रुपमा मासिक लेवी दिने बानी बसिसकेको छैन । त्यसकारण पहिलो कुरा मासिक लेवी नियमित दिने बानी बसाल्नु आवश्यक छ । दोस्रो कुरा आफ्नो आय श्रोत अनुसार मासिक लेवी बढी भन्दा बढी दिने मानसिकताको विकास गर्नु पर्दछ । हरेक पार्टी सदस्यहरुले नियमित रुपमा ठीक ठीक समयमा वढी भन्दा बढी लेवी दिने प्रणालीको विकास गर्नुपर्दछ । दोस्रो आय श्रोत भनेको पार्टीका शुभ चिन्तकहरुबाट आउने सहयोग नै हो । लेवी नियमित हुन नसकेको अवस्थामा सहयोगबाट नै पार्टीले आफ्नै दैनिक कार्यहरु सम्पन्न गर्दै आएको छ । तर समर्थक शुभचिन्तकहरुबाट प्राप्त हुने सहयोग पनि नियमित र पर्याप्त नहुँदा पार्टीको कैयौँ महत्वपूर्ण कामहरु सम्पन्न हुन सकिरहेका छैनन् । लेवी र सहयोगले मात्र पार्टीको आर्थिक आवश्यकता पुरा गर्न सक्दैन । त्यसकारण पार्टीले आर्थिक उपार्जनको लागि आवश्यक अन्य योजनाहरु बनाउनु पर्दछ । त्यसको लागि पार्टीलाई उत्पादनसँग जोड्नु पर्दछ । पार्टीलाई उत्पादनसँग जोडेनौ भने हामीले आर्थिक समस्या हल गर्न सक्दैनौ । क. माओले भन्नुभएको छ, उत्पादनको लागि सङ्घर्ष, वर्ग सङ्घर्ष र वैज्ञानिक प्रयोगको विधिबाट नै हामी प्रगतिबाटोमा अगाडि बढ्न सक्दछौँ ।
क. माओले भने झै उत्पादनको लागि सङ्घर्ष गरेर नै पार्टीले आफ्नो आर्थिक समस्या हल गर्न सक्छ । यस सम्बन्धमा क. माओले भन्नुहुन्छ, “यी सवै उद्देश्यहरुको प्राप्तिका लागि यस्तो आर्थिक निर्माण आवश्यक छ । क्रान्तिकारी काममा लागेका सवैजनाले यस कुरालाई राम्रोसित बुझनु पर्दछ । केही कमरेडहरुले के सोचेका छन् भने क्रान्तिकारी युद्धले गर्दा मानिसहरु ज्यादै व्यस्त हुने भएकोले आर्थिक निर्माणका लागि समय बचाउनु असम्भव छ र उनीहरुले आर्थिक निर्माणको पक्षमा कुरा गर्नेलाई ‘दक्षिणपन्थी भड्काववादी’ भनेर निन्दा गरेका छन् । उनीहरुको विचारमा, क्रान्तिकारी युद्धको समयमा आर्थिक निर्माण असम्भव छ र अन्तिम विजयपछि शान्तिपूर्ण तथा स्थिर स्थितिमा मात्र यो सम्भव छ । कमरेडहरुका यस्ता विचारहरु गलत छन् । जसले यस तरिकाबाट सोच्छ उसले के कुरा बुझ्न सकेको छैन भने आर्थिक निमार्ण नगरिकन क्रान्तिकारी युद्धको निम्ति चाहिने भौतिक पूर्वव्यवस्थाहरुलाई सुनिश्चित पार्नु असम्भव हुन्छ ।”१०
विषयलाई प्रस्टपार्न क. माओ अझै अगाडि भन्नुहुन्छ, “त्यसैले क्रान्तिकारी युद्धको बेलामा आर्थिक निर्माणको काम गर्नुहुँदैन भनेर सोच्नु एकदमै गलत छ ।”११ माओले यो कुरा सन १९३३ मा भन्नुभएको हो, जुनबेला चिनीया कम्युनिस्ट पार्टीले सशस्त्र युद्ध लडिरहेको थियो । माओ अध्यक्ष भइसक्नु भएको थिएन । त्यसकारणले गर्दा अहिले पनि पार्टीलाई बलियो बनाउनको लागि आर्थिक निर्माणसँग जोडेर उत्पादनका योजनाहरु बनाउनै पर्दछ ।
पार्टीको आर्थिक अवस्थाको बारेमा कुरा गर्दा अर्को महत्वपूर्ण कुरा हो, आय–व्ययको व्यवस्थित व्यवस्था गर्नु र पारदर्शिता राख्नु । आर्थिक प्रणालीलाई व्यवस्थित र पारदर्शी बनाउन सकिएन भने पार्टी सदस्यहरुमा नै आपसी शङ्का उपशङ्का र अविश्वासको वातावरण उत्पन्न हुन्छ । यस्तो वातावरण भएका पार्टीको आय श्रोतहरु परिचालन हुन सक्दैन । त्यसकारण आर्थिक कारोवारलाई व्यवस्थित र पारदर्शी बनाउन सवै पार्टी कमिटीहरु सिपालु हुनैपर्दछ ।

५) मनोगतवाद, सङकीर्णतावाद र उदारवादको समस्या
मनोगतवाद, सङ्कीर्णतावाद र उदारवाद माक्र्सवाद विरोधी धाराहरु हुन् । आज हाम्रो पार्टीमा कम वा वेसी यस प्रकारका कमजोरीहरु कुनै न कुनै रुपमा पाइन्छन् । हाम्रो पार्टीमा यी कमजोरीहरु कसरी अभिव्यक्त भइरहेका छन् ? यस विषयमा विस्तृत रुपमा चर्चा गर्न यहाँ सम्भव छैन । तैपनि, यहाँ यी विषयहरुमा सङ्क्षेपमा चर्चा गरिन्छ ।

मनोगतवाद — मनोगतवाद मालेमावाद विरोधी धारा हो । कमरेड माओले भन्नु भएको छ्, “मनोगतवाद एउटा अनुचित अध्ययन शैली हो । यो माक्र्सवाद–लेनिनवाद विरुद्ध चल्छ र कम्युनिस्ट पार्टीसित यसको ¥याङ्ठ्याङ मिल्दैन ।”१२ यसलाई अरु प्रष्ट पार्दै माओले भन्नु भएको छ, “जडसूत्रवाद र अनुभववाद दुवैनै विपरीत ध्रुवबाट पैदाहुने मनोगतवाद हुन् ।”१३ मनोगतवादले तथ्यबाट सत्य पत्तालगाउने वैज्ञानिक पद्धतिलाई अंगाल्दैन । वस्तुगत तथ्य के छ भन्ने आधारमा भन्दापनि जडसूत्रका रुपमा वा आफ्नो अनुभवमा सीमित रहेर नीति तथा कार्यक्रम निर्माण गर्ने गरिन्छ जुन नीति तथा कार्यक्रम वस्तुगत यथार्थसँग मेल खान्न । जसले गर्दा क्रान्तिको काम अगाडि बढ्न सक्दैन । त्यसकारण मनोगतवाद र त्यसबाट उत्पन्न हुने सबै खतराका विरुद्ध सङ्घर्ष गर्नु जरुरी छ ।

सङ्कीर्णतावाद — सङ्कीर्णतावाद पनि मालेमावाद विरोधी धारा हो । यसले सङ्गठनात्मक क्षेत्रमा गम्भीर प्रकारको नकारात्मक असर पार्दछ । कमरेड माओले भन्नु भएको छ, “सङ्कीर्णतावादी मनोवृत्तिहरुले पार्टीभित्रका कामरेडहरुलाई एक आपसमा अलग्याउँछन् र पार्टीको भित्री एकता र एकजुटतामा क्षति पु¥याउँछन् भने बाहिरी सम्बन्धहरुमा रहेका सङ्कीर्णतावादी मनोवृत्तिले पार्टीलाई बाहिरका मानिसहरुबाट अलग्याउँछ । यी दुवै पहलुहरुका खराव कुराहरुलाई उन्मुलन गरेर मात्रै सारा पार्टी कमरेडहरु र हाम्रा मुलुकका सारा जनतामाझ एकता हासिल गर्ने महान् अभियानलाई पार्टीले निर्वाध रुपले अघि बढाउन सक्छ ।”१४ यस विषयलाई अरु प्रष्ट पार्दै माओले भन्नु भएको छ, “सङ्कीर्णतावाद सङ्गठनात्मक सम्बन्धहरुमा मनोगतवादको अभिव्यक्ति हो । हामी मनोगतवादबाट मुक्त हुन तथ्यहरु र सत्य खोज्ने माक्र्सवादी–लेनिनवादी भावनालाई हुर्काउन चाहन्छौं भने हामीले सङ्कीर्णतावादका अवशेषहरुलाई पार्टीबाट निर्मूल पार्नु पर्दछ र पार्टीका हितहरु व्यक्तिगत र अंशगत हितहरुभन्दा माथि हुन्छन् भन्ने सिद्धान्तलाई प्रस्थान विन्दु बनाउनु पर्दछ, जसले गर्दा पार्टीले पूर्ण एकता र एकजुटता हासिल गर्न सकोस् ।”१५ माओका उपरोक्त विचारहरुले सङ्कीर्णतावादलाई किन हटाउनु पर्छ भन्ने प्रस्ट हुन्छ । आज हाम्रो पार्टीमा पनि सङ्कीर्णतावादका अवशेषहरु देखिन्छन्, त्यो पार्टीमा क्षेत्रीयता, जातीयता, पूर्व समूहको रुपमा कतै न कतै अभिव्यक्त भएरहेको देखिन्छ । हामीले यी अवशेषहरुलाई समाप्त पारेर मात्र पार्टी भित्र र पार्टी बाहिरको जनतासँगको एकतालाई सुदृढ बनाउन सक्छौं ।

उदारवाद — ठीक यसरी नै उदारवाद पनि मालेमावाद विरोधी धारा हो । यसले पार्टीमा देखा पर्ने गलत चिन्तन, पद्धति कमजोरीहरुको बारेमा निर्मम सङ्घर्ष गर्ने कुरामा उदाशीनता देखाउँछ, जसले गर्दा पार्टीमा थुप्रै कमी कमजोरीहरु देखिँदा पनि त्यसलाई सुधार्ने कुरामा ध्यान जान्न । आज हाम्रो पार्टीमा पनि उदारवादी कमीकमजोरीहरु प्रसस्तै छन् । ती कमी कमजोरीहरुलाई हटाएर पार्टीलाई अनुशासित र क्रियाशील बनाउनु पर्दछ ।
फुटनोट ः
१. सोभियत सङ्घको कम्युनिस्ट पार्टी (बोल्सेविक) को इतिहास ः सृजनशील प्रकाशत तेस्रो संस्करण २०५६ माघ, पुष्ठ ३२३ ।
२. स्टालिन ः छानिएका रचनाहरु पैरवी प्रकाशन, भाषान्तर कृष्णदास श्रेष्ठ पृ. २१२ ।
३. स्टालिन ः लेनिनवादका आधारहरु, प्रगति पुस्तक सदन २०६० पृष्ठ ८५ ।
४. माओ ः माओत्सेतुङका उद्धृत उक्तिहरु, विदेशी भाषा प्रेस, पेकिङ १९७२ – पृ. ३) ।
५. लेनिन ः माक्र्सवादी–लेनिनवादी–माओवादी सङ्गठनात्मक सिद्धान्त, रक्तिम प्रकाशन, द्वितीय संस्करण, २०६३ पृ. १९ ।
६. उही पृ. १९ ।
७. उही पृ. २० ।
८. उही पृ. २० ।
९. उही पृ. १९ ।
१०. माओ ः माओ चुनिएका रचनाहरु भाग १, प्रकाशन निरन्जन गोविन्द वैद्य, पृष्ठ १२४ ।
११. माओ ः उही पृ. १२४ ।
१२. माओ ः माओत्सेतुङ्का सङ्कलित रचनाहरु भाग ३, (नेपाली), सिर्जनशील प्रकाशन । पृ. १९ ।
१३. माओ ः उही पृष्ठ २४ ।
१४. माओ ः उही पृष्ठ २५ ।
१५. माओ ः उही पृष्ठ २९ ।

मुखपत्र कम्युनिस्टबाट