निर्वाचनको मुखैमा केन्द्रीय संघर्ष समितिद्वारा औचित्यहीन निर्वाचन बहिष्कार गर्न जनसमुदायमा पुनः आव्हान

निर्वाचनको मुखैमा केन्द्रीय संघर्ष समितिद्वारा औचित्यहीन निर्वाचन बहिष्कार गर्न जनसमुदायमा पुनः आव्हान

काठमाडौं । चारओटा कम्युनिस्ट पार्टीहरू क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, नेपाल कम्युनिस्ट पार्टी (बहुमत), वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल र नेपाल कम्युनिस्ट पार्टी सम्बद्ध केन्द्रीय संयुक्त संघर्ष समितिले निर्वाचनको मुखैमा फागुन २१ को औचित्यहीन निर्वाचन बहिष्कार गर्न आम जनसमुदायमा पुनः आव्हान गरेको छ ।

केन्द्रीय संघर्ष समितिका संयोजक सीपी गजुरेलले जारी गर्नुभएको प्रेस वक्तव्यमा भनिएको छ, “चुनावको औचित्यहीनता झन् झन् पुष्टि हुँदै गएको आजको स्थितिमा आम नेपाली जनताबीच फागुन २१ गते हुने भनिएको कथित संसदीय चुनावलाई बहिष्कार गरी धक्का सिर्जना गर्न पुनः हार्दिक आह्वान गर्दछौँ । साथै जनताको विरोध र सेनाको घेराबन्दीका बीच चुनाव गराइए पनि त्यसपछि बन्ने सरकार समेत साम्राज्यवादको कठपुतली बन्ने र त्यसले देशको राष्ट्रिय स्वाधीनता, जनतन्त्र र जनजीविका झन गहिरो संकटमा धकेल्ने भएकोले हामी देश र जनताका समस्या समाधान नहोन्जेल निरन्तर संघर्षमा रहने प्रतिबद्धता व्यक्त गर्दछौं ।”

वक्तव्यमा भनिएको छ, “हामी चारओटा कम्युनिस्ट पार्टीहरू क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, नेपाल कम्युनिस्ट पार्टी (बहुमत), वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल र नेपाल कम्युनिस्ट पार्टी सम्बद्ध केन्द्रीय संयुक्त संघर्ष समितिले जेनजी विद्रोह पश्चात् बनेको कठपुतली प्रतिक्रियावादी सरकारले घोषणा गरेको प्रहसनकारी संसदीय निर्वाचनले नेपाली समाज र आम जनताका समस्याहरूको समाधान गर्न नसक्ने निष्कर्षसहित निर्वाचन बहिष्कार गर्न शान्तिपूर्ण रूपमा संघर्षका कार्यक्रमहरू गर्दै आइरहेका छौँ । हामीले संकटको निकाससहित अग्रगामी परिवर्तनका लागि जनसंविधानसम्म पुग्न स्वाधीन संयुक्त जनसरकार’ हुँदै अघि जानु पर्ने विकल्पको खाकासमेत प्रस्तुत गरेका छौं ।

देशैभरि उत्साहका साथ सञ्चालन भएका हाम्रा कार्यक्रमहरूमा नेपाली समाजको अन्तर्विरोधलाई यो संसदीय चुनावले समाधान गर्न नसक्ने र संसदीय व्यवस्थाको विकल्प निर्माण गर्नुपर्ने निष्कर्षमा व्यापक जनमत आकर्षित भएको पाएका छौँ । उक्त जनमतलाई निर्णायक संघर्षमा रूपान्तरण गर्दै देशलाई अग्रगामी निकास दिनु आजको मुख्य आवश्यकता हो ।

यसैबीच, आफ्नो असफलता जनताबीच उदाङ्गो हुने डरले आतङ्कित वर्तमान कठपुतली सरकारले हाम्रा कार्यक्रमहरूमाथि दमन चलाइरहेको छ । सरकारले हाम्रा दर्जनौं कमरेडहरूलाई कार्यक्रममा मात्र नभई घर घरमा पसेर गैरकानुनी र तानाशाही शैलीमा धरपकड गरिरहेको छ । राज्य आतङ्कको यो सिलसिला अझै जारी छ । हामी जेनजी विद्रोहलाई अपहरण गरी निर्माण गरिएको कठपुतली सरकारद्वारा गिरफ्तार गरिएका कमरेडहरूलाई यथाशीघ्र रिहा गर्न र राज्य आतङ्क तत्काल बन्द गर्न चेतावनी दिन चाहन्छौँ ।

चुनावको औचित्यहीनता झन् झन् पुष्टि हुँदै गएको आजको स्थितिमा आम नेपाली जनताबीच फागुन २१ गते हुने भनिएको कथित संसदीय चुनावलाई बहिष्कार गरी धक्का सिर्जना गर्न पुनः हार्दिक आह्वान गर्दछौँ । साथै जनताको विरोध र सेनाको घेराबन्दीका बीच चुनाव गराइए पनि त्यसपछि बन्ने सरकार समेत साम्राज्यवादको कठपुतली बन्ने र त्यसले देशको राष्ट्रिय स्वाधीनता, जनतन्त्र र जनजीविका झन गहिरो संकटमा धकेल्ने भएकोले हामी देश र जनताका समस्या समाधान नहोन्जेल निरन्तर संघर्षमा रहने प्रतिबद्धता व्यक्त गर्दछौं ।”

Jt Statement Fagun 18