चुनाव बहिष्कार देशको स्वाधीनता र जनताको मुक्तिको पक्षमा छ : प्रवक्ता सुदर्शन

चुनाव बहिष्कार देशको स्वाधीनता र जनताको मुक्तिको पक्षमा छ : प्रवक्ता सुदर्शन

१५ नं ब्यूरोका इन्चार्ज र सचिवलाई अविलम्ब रिहाइ गर्न जोडदार माग

काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका प्रवक्ता सुदर्शनले एक वक्तव्य जारी गरी गिरफ्तार गरिएका १५ नं. ब्यूरोका इन्चार्ज र सचिवलाई अविलम्ब विनाशर्त रिहाइ गर्न जोडदार माग गर्नुभएको छ ।

उहाँले भन्नुभएको छ, “‘बहिष्कार गर्ने पार्टीहरु प्रभावकारी नरहेको’ र ‘उनीहरु दुई चार जना मात्र रहेको’ भनी आफ्ना सुरक्षा अधिकारीहरुलाई पढाउने महामहिम प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले आज फेरि दिउँसो १ बजे क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका वैकल्पिक पोलिटब्यूरो सदस्य तथा १५ नं. क्षेत्रीय ब्यूरोका इन्चार्ज सिताराम बुढाथोकी र केन्द्रीय सदस्य तथा उक्त ब्यूरोका सचिव डिल्लीराम बोहोरालाईृ सुनसरी जिल्लाको इटहरीबाट गिरफ्तार गरेको कुराप्रति आम जनसमुदायको ध्यानाकर्षण गर्न चाहन्छौँ ।”

वक्तव्यमा भनिएको छ, “दुईचार जना मात्र रहेको’ पार्टीबाट दर्जन भन्दा बढी केन्द्रीय सदस्यहरु नै गिरफ्तार भइसकेको कुरा पनि इतिहासका निर्माता जनता समक्ष जाहेर गर्न चाहन्छौँ । यो कायरतापूर्ण गिरफ्तारीको हाम्रो पार्टी घोर भत्र्सना गर्दछ र जीवनभरि जनताका लागि लड्दै आएका सिपाहीहरुको रिहाइका लागि पहल गर्न आदरणीय जनसमुदाय, नागरिक समाज र कानून व्यवसायीहरुलाई आह्वान गर्दछ । यसको साथै साम्राज्यवादको निहित उद्देश्य पुरा गर्न नेपाली युवाहरुको रगत बगाएर हुन गइरहेको यो चुनाव बहिष्कार गर्नु देशको स्वाधीनता र जनताको मुक्तिका पक्षमा रहेको छ, बहिष्कार सफल पार्न मतदानमा भाग नलिनु नै बुद्धिमानी हुन्छ, पछि पछुताउनु भन्दा साम्राज्यवादका दलालहरुलाई मतदान नगरौँ ।”