
काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले ३१ औं जनयुद्ध दिवस देशैभर भव्य रुपमा मनाउने तयारी गरेको छ । देशैभर आ–आफ्नो सापेक्षतामा जनयुद्ध दिवस मनाउन पार्टी केन्द्रीय कार्यालयले सर्कुलर जारी गरिसकेको छ । ३१ औं जनयुद्धको दिवसको ऐतिहासिक अवसर पारेर अखिल (क्रान्तिकारी)को राष्ट्रिय सम्मेलनको उद्घाटन हुँदैछ । सम्मेलनको उद्घाटन क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका महासचिव सीपी गजुरेल गौरवले गर्नुहुनेछ । पार्टीको ९ नम्बर ब्यूरोले अखिल (क्रान्तिकारी)को राष्ट्रिय सम्मेलन उद्घाटनसँगै जनयुद्ध दिवस मनाउने तयारी गरेको छ ।

यसैबिच, सम्मेलनलाई लक्षित गरी अखिल (क्रान्तिकारी)का विभिन्न जिल्लाहरुमा भेला तथा सम्मेलनहरु सम्पन्न भएका छन् । संगठनका केन्द्रीय संयोजक महेश श्रेष्ठले दिएको जानकारी अनुसार भक्तपुर, काठमाडौ, ललितपुर, सटिइभिटी, चितवन, दाङ, कास्की, रुपन्देही, सल्यान, सिराहा, बारा,सुनसरी, मोरङ र झापा लगायतका जिल्लाहरुमा सम्मेलनहरु सम्पन्न भएका छन् । सम्मेलनमा अधिकांश जिल्लाहरुबाट प्रतिनिधि पर्यवेक्षकहरु आउने पनि संयोजक श्रेष्ठले जानकारी दिनुभयो ।






























