भेनेजुएलामाथि गरिएको अमेरिकी सैन्य आक्रमण, राष्ट्रपति मदुरो दम्पत्ति अपरहणका विरुद्ध सात कम्युनिस्ट पार्टीको विरोध प्रदर्शन (फोटोफिचर)

भेनेजुएलामाथि गरिएको अमेरिकी सैन्य आक्रमण, राष्ट्रपति मदुरो दम्पत्ति अपरहणका विरुद्ध सात कम्युनिस्ट पार्टीको विरोध प्रदर्शन (फोटोफिचर)

काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल लगायत ७ वटा कम्युनिस्ट पार्टीको संयुक्त आयोजनामा भेनेजुएलामाथि अमेरिकाले गरेको सैन्य आक्रमण र राष्ट्रपति मदुरो दम्पत्तिको अपहरणका विरुद्ध विरोध प्रदर्शन गरिएको छ ।

माइतीघर मण्डलामा गरिएको विरोध प्रदर्शनलाई क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका महासचिव सीपी गजुरेल गौरव, नेकपा (बहुमत)का महासचिव धर्मेन्द्र बास्तोला, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका महासचिव विश्वभक्त दुलाल आहुति, नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेल, नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष लोकनारायण सुवेदी, नेकपा (जनपक्ष)का नेता बसन्त बोगटी लगायतले अमेरिकी साम्राज्यवादले भेनेजुएलाको स्वाधीनता र सार्वभौमिकताका विरुद्ध गरेको सैन्य आक्रमण र राष्ट्रपति मादुरो दम्पत्तिको अपहरणको घोर निन्दा एवम् भत्र्सना गर्नुभएको छ । र, राष्ट्रपति मादुरो दम्पत्तिलाई तत्काल सकुशल रिहाइ गर्न जोडदार माग गर्नुभएको छ ।

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालकी पोलिटब्यूरो सदस्य तथा महिला नेतृ शारदा महतले सञ्चालन गरेको कार्यक्रममा अमेरिकी साम्राज्यवाद मुर्दावाद, अमेरिकी साम्राज्यवाद–भेनेजुएला छोड, भेनेजुएलाको स्वाधीनताको लडाइँप्रति ऐक्यबद्धता जाहेर गरौं लगायतका नारा लगाइएका थिए । सोही नारा लेखिएका प्लेकार्डहरुको प्रदर्शन गरिएको थियो ।

प्रदर्शनमा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, नेपाल कम्युनिष्ट पार्टी (बहुमत), वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल, नेकपा (जनपक्ष), दईवटा नेकपा र समाजवादी कम्युनिस्ट पार्टी नेपाल लगायतका पार्टीहरुका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।